२६ चैत, सर्लाही । पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ ।
बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने चापिनी खोलाको डाइभर्सन बगाएपछि बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो ।
राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने काम भइरहेका कारण पुरानो पुल मर्मत र नयाँ पुल निर्माण सँगसँगै चलिरहेको छ । निर्माण अवधिमा सवारी आवतजावतका लागि डाइभर्सन प्रयोग हुँदै आएको थियो ।
डाइभर्सन बगाएसँगै पुरानो पुलको मर्मत कार्य तत्काल रोकिएको प्रहरीले जनाएको छ । त्यसपछि सोही पुलमार्फत सवारी सञ्चालन गर्न माटो भर्ने तथा अस्थायी मर्मतको काम थालिएको थियो ।
प्रहरीका अनुसार बिहान करिब साढे ८ बजेपछि पुरानो पुलमा माटो हालेर सवारी सञ्चालन पुन: सुञ्चालन गरिएको छ । अहिले राजमार्ग खुलेसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढेका छन् ।
भारी वर्षाका कारण खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध बनेको थियो ।
प्रतिक्रिया 4