+
+
Shares
स्थलगत :

फोर लाइन पुलमा सेल्फी खिच्न मिल्छ, नेताले जस लिन मिल्दैन

आफूहरूको जीवनस्तर र दैनिकीलाई कायापलट गर्ने पक्की पुल बनेपनि महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकाका बासिन्दा नेताहरूलाई त्यसको जस दिन चाहँदैनन् ।

कृष्ण ज्ञवाली जनक विष्ट कृष्ण ज्ञवाली, जनक विष्ट
२०८२ माघ ९ गते २१:१४

९ माघ, दोधारा-चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिमको प्रदेशको झन् सुदूरमा पर्ने महेन्द्रनगर बजार पार गरेर जति पश्चिमतिर लाग्यो, पूर्वपश्चिम राजमार्ग उति भत्किएको पूरानो र साँघुरोजस्तै देखिन्छ । सवारीसाधनको चाप र कोलाहल पनि पातलिँदै जान्छ । राजमार्गमा लामो सिङ भएका गोरूगाढाको राज चल्छ ।

नेपाल–भारत सिमामा पर्ने गड्डाचौकी नाकाबाट दक्षिणतिर भने ६ लेनको सडक शुरु हुन्छ । त्यो सडकमा सेल्फी खिच्ने र टिकटक बनाउने युवायुवतीको भीड लाग्छ । गड्डाचौकीबाट अघि बढेपछि महाकाली नदीमा भर्खरै बनेको चार लेनको पुल आउँछ, त्यो तरेपछि महाकालीपारीको नेपाल अर्थात् चाँदनी दोधारा पुगिन्छ ।

केहीदिन अघि दोधारा–चाँदनी पुग्दा महाकाली पुलपारी बिहानको घाम तापिरहेको अवस्थामा भेटिए, सुकदेव धामी । ‘हिजोमात्रै यहाँका एकजना उम्मेद्‌वार पारी गएर टिकट दर्ता गराए, बरु उतै होला, यता चुनावको कुनै चहलपहल छैन,’ धामीले भने, ‘फोर लाइन पुल त तरेरै आउनुभयो, ऊ त्यहाँ डाइपोर्ट बनिरहेको छ, हेरेर जानुस् ।’

सुकदेव धामी

महाकाली पुलको करिब एक किलोमिटर दूरीमा रहेको नेपाल-भारत सीमाक्षेत्रमा सुख्खा बन्दरगाह बनिरहेको छ । उनी उत्साहित हुँदै त्यहाँको विकासे चहलपहल हेरिहाल्न सुझाव दिएका थिए ।

१६/१७ वर्ष अरुको ट्रिपर चलाएर थाकेपछि अहिले आफ्नै अटो चलाउन थालेका धामी दोधारा चाँदनीमा पछिल्लो समय भइरहेको विकासबाट उत्साहित देखिन्थे ।

शुरुमै भनिहालौं, नेपालको बहुचर्चित दोधारा–चाँदनीको डेढ किलोमिटर लामो झोलुङ्गे पुलको करिब साढे दुई किलोमिटर माथि तीन वर्षअघि महाकाली नदिमाथि पक्की पुल बनेको छ ।

चार लेनको पुललाई स्थानीयहरू बोलीचालीको भाषामा ‘फोर लाइन’ पुल भन्छन् । अनि नजिकै बनिरहेको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) लाई आ-आफ्नो सुविधा अनुसार ‘डाइभर्ट’ देखि ‘डैपोर्ट’ सम्म भन्ने गर्छन् ।

महाकाली पारीको नेपाल समेत भनिने दोधारा–चाँदनीका बासिन्दाहरू २०६१ साल अघिसम्म भारतको बनबासा पुल हुँदै नेपाल आउनेजाने गर्थे । त्यतिबेला बनेको झोलुङ्गे पुलले निकै राहत र सुविस्ता थियो । चार वर्षअघि नयाँ पक्की पुल बनेपछि उनीहरूलाई त अहिले महाकाली पारी भएको अनुभूत समेत हुँदैन ।

‘बनवासा हुँदै नेपाल जानुपर्दा भारतीय प्रहरीले मिठाइ र पैसा समेत खाइदिन्थे । धेरै दुःख दिन्थे, ज्यादती हुन्थ्यो,’ धामी भन्छन्, ‘झोलुङ्गे पुलले हाम्रो त्यो दुःख हट्यो, अहिले फोर लाइन पुल बनेपछि घरघरमै गाडी आउँछ । पारी जाने भारतीयको मुड हेर्नु पर्दैन ।’

सुदूरपश्चिमको महाकालीपारी करिब ५८ किलोमिटर नेपाली भूमि छ, जुन ठाँउमा पहिले दोधारा र चाँदनी गाविस थियो । स्थानीयहरूका अनुसार, राजा महेन्द्रले २०२३ सालमा विभिन्न भागका मानिसहरूलाई झाडी फाँडेर बस्ती बसाउन लगाएका थिए । त्यही बजार अहिले दोधारा-चाँदनी नगरपालिकामा रुपान्तरण भएको हो ।

गत निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता लेखक ३० हजार ५७५ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निकटतम् प्रतिस्पर्धी निरू पाल (एमाले) ले साढे १८ हजार ल्याएकी थिइन् । उक्त निर्वाचनमा राप्रपाले एमालेलाई सघाएको थियो ।

दोधारा–चाँदनीसँगै कञ्चनपुरको भीमदत्त र वेदकोट नगरपालिकाको-८ नम्बर वडा कञ्चनपुरको क्षेत्र नं. ३ मा पर्छ । कञ्चनपुर क्षेत्र नं. ३ का विभिन्न क्षेत्रमध्ये मतदाताहरूको एउटा ब्लक दोधारा चाँदनीमा रहेको छ ।

फोर लाइन पुल कसले ल्यायो ?

२०४८ सालदेखि नै कञ्चनपुर–३ मा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको देखिन्छ । कांग्रेसका तारणीदत्त चटौत (२०४८), रमेश लेखक (२०५६, २०७० र २०७९) एवं शेरबहादुर देउवा (२०६४)ले त्यहाँ चुनाव जितेका थिए ।

२०६४ सालमा दुई ठाँउबाट चुनाव जितेका देउवाले कञ्चनपुर–३ छाडेर डडेल्धुरा रोजेका थिए । त्यहाँको उपनिर्वाचनमा माओवादीका हरिश ठगुल्लाले जितेका थिए । उर्वादत्त पन्त (२०५१) र डा. दिपकप्रकाश भट्ट (२०७४) गरेर एमाले उम्मेद्‌वार कञ्चनपुर–३ मा दुईपटक निर्वाचित भएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेद्‌वार रमेश लेखकले साढे ३० हजार मत सहित साढे १८ हजार मत पाएकी एमालेकी निरु पाललाई पराजित गरेका थिए ।

२०७४ सालको निर्वाचनमा २६ हजार ३६४ मत पाएका दिपकप्रकाश भट्टले करिब साढे २ सय मतको झिनो अन्तरमा लेखकलाई पराजित गरेका थिए ।

सडक, अस्पतालदेखि नहर र सुख्खा बन्दरगाह नेताहरूका एजेन्डा हुन् । सुदूरपश्चिम र त्यसमा पनि कञ्चनपुरमा पूर्वाधार विकास बाहेक अरू सामाजिक मुद्दा त्यति प्राथमिकतामा छैनन् । भइरहेका कछुवा गतिका विकास निर्माणमा नेताहरूले ‘क्रेडिट’ लिएर मतदाता आकर्षित गर्न खोजिरहेका छन् ।

वर्षौंदेखिको माग र गुनासोपछि महाकाली नदीमा बल्लतल्ल पक्की पुल निर्माण भएकोमा स्थानीयहरू निकै खुसी छन्, तर कसैले कुनै निश्चित नेता वा दललाई त्यसको त्यसको जस दिँदैनन् । नेताहरूले ‘क्रेडिट’ लिन खोज्दा उनीहरू आक्रोशित भइहाल्छन् ।

‘पुल बनेपछि रमेश लेखकले मैले बनाएको हुँ भन्न थाले । सबै पार्टीका नेताहरूको प्रयासमा पुल बनेको हो,’ माझी भन्छन्, ‘यिनीहरूको पनि पालो हुँदो रहेछ, जितेका बेलामा मैले गरेँ, मैले बनाए भन्छन् । हारेका बेला फर्केर केही बोल्दैनन् । कसले गरेको हो, हामीलाई के थाहा ?,’ महाकालीमा पक्की पुल बनाउन वर्षौंदेखि प्रयास भइरहेको थाहा पाउने उनलाई कुनै सांसदका कुरा किन विश्वास लागोस् ?

पुलको मुखमा भेटिएका सुरेशकुमार भट्ट पेशाले टिप्पर चालक हुन् । आफ्नै घरछेउमा टिप्पर पार्किङ गर्न उनले जुग पर्खिनुपर्‍यो, तर अहिले कोही नेताहरूले त्यसको जस लिन खोज्दा किन आक्रोशित नबनुन् ?

‘जो आएपनि त्यस्तै गरेकाले दिक्क भइएको हो, अनि नेताहरू भेट्यो कि भोट हाल्नै मन लाग्दैन,’ उनी भन्छन्, ‘कोही त्यस्तै भेटिएछ भने भोट हाल्ने हो । नत्र हामीलाई कसले पो हेर्‍यो र ?’ कञ्चनपुरबाटै एकपटक चुनाव जितेका तर निर्वाचन क्षेत्र छाडेका शेरबहादुर देउवाले समेत महेन्द्रनगर र दोधारा–चाँदनीको संवेदनशीलता नबुझेकोमा उनको मन दुखेको रहेछ ।

‘पाखुराकै बलमा चल्छम्’

महाकाली नदीको ‘फोर लाइन’ पुलछेवैमा ‘रितिक नास्ता पसल’ छ । त्यहाँ लक्ष्मणसिंह धामी र कमला धामीको दम्पत्तीले चार/पाँच महिना अघिबाट खाजा पसल सुरु गरेका छन् । हुन त लक्ष्मणलाई पाखुरामा बल हुञ्जेल टिप्पर चलाएरै तीन सन्तानलाई स्कूल पठाउन सक्छु भन्ने विश्वास नभएको होइन ।

तर जहिले घरबाहिर हिंड्नुपर्ने, आउनेजाने समयको ठेगान नहुने काम भन्दा घरनजिकै बनेको पुल छेउमा खाजा पसल खोज्नु सजिलो र सुरक्षित ठाने ।

‘रोड आउनुभन्दा पहिले यहाँ के गरेर बस्नु ? म पनि इन्डिया (भारत) गइरहन्थेँ, अहिले त धेरै सुविधा भएको छ,’ लक्ष्मणसिंह भन्छन्, ‘अहिले त नजाने भएर यतै बसेको हुँ । टिप्परमा हिंडिरहनुभन्दा घरनजिकै खाजा पसल भयो भने बालबच्चाको रेखदेख हुन्छ, उनीहरूको हेरचाह गर्न पाइन्छ, कमाएको दुईचार पैसा पनि बच्ला ।’

लक्ष्मणसिंह धामी र कमला धामी

निर्वाचनको प्रसंग आउनासाथ उनले मुख खुम्च्याए । ‘कसैले पनि बोलेको भर गर्न नसकिने,’ भन्दै उनले थपे, ‘आफ्नो दुःख नगरी एक छाक खान पुग्दैन । अलि गतिला आएछन् भने भोट दिन जाउँला, नभए जाँगर पनि छैन ।’

फोर लाइन सडकको करिब साढे दुई किलोमिटर तल दोधारा–चाँदनीको बहुचर्चित झोलुङ्गे पुलको मुख छ । स्कूटर र मोटरसाइकल पुलमाथि हिंड्दा फलामका पाताहरू ठोक्किएर अर्को आवाज निस्कन्छ ।

पुलछेउका बासिन्दालाई त्यही चर्को आवाज सुनेर उठ्ने र त्यही आवाजमा सुत्ने बानी परिसकेको छ, अब त्यो आवाज घट्दो छ । माथिपट्टी पक्की बाटो बनेपछि तल झोलुङ्गे पुलमा आवतजावत गर्नेको चहलपहल अलि घटेको छ, घुम्ने मानिसहरू मात्रै त्यहाँ पुग्छन् ।

पुलकोमुनि अहिले नगरपालिकाले पार्क बनाएको छ, सेल्फी खिच्ने ठाँउ बनाइदिएको छ । पुलमा नै सोलार राखेर बत्ती जोडिएको छ, तर धेरैजसो बल्दैनन् ।

त्यही पुलको मुखमा करिब १५ वर्षदेखि सानो होटेल र फलफूल पसल चलाएकी सुनिता भट्ट व्यापार सुकेपनि छरछेवैमा सुविधा आएकोमा दंग छिन् ।

माथितिर पक्की पुल बनेपछि उनले आफ्नी छोरी र छोरालाई महेन्द्रनगर पठाएर पढाउनसक्ने भइन् । दोधारा–चाँदनीका बालबालिका लैजान स्कूलबस घरघरै पुग्छन् । फोनबाट मगाएका सामान घरघरै आउँछन् ।

सुनिता भट्ट

‘दुईचार पैसा व्यापार घट्यो होला, तर बाटो बनेपछि केटाकेटीहरूलाई निकै सुविधा भएको छ,’ उनी भन्छिन्, ‘गाउँमा विकास आएर पनि कोही दुःखी हुन्छ त ? व्यापार नहोला, तर अरु सुविधा भएको छ नी । हामी त झन् खुसी छौं ।’

शुरुमा चुनावको कुराकानी गर्न आनाकानी गरिरहेकी भट्ट नेताहरूको व्यवहारका कारण उनीहरू अलोकप्रिय बनेको बताइन् । आफ्नै दुःख र कष्टले सन्तानलाई पढाउनेदेखि सबै काम भइरहेको भन्दै उनले स्वभावैले हुने विकास निर्माणमा नेताहरुलाई जस दिन नहुने बताइन् ।

‘मेरो पसल नखोली एक दिन चल्दैन । आफैं दुःख गरेर कमाउने, छोराछोरी पठाउने हो । केही कामै नगर्ने यहाँका नेताहरूलाई किन भोट दिने ?,’ उनले भनिन्, ‘नेताहरूका कारण हामीलाई कुनै सुविस्ता भएको छैन, मलाई यताका नेताहरू देखेर दिक्क लागेको छु । झोक चल्यो भने चुनावका बेलामा बैतडी गएर उतै भोट हाल्छु ।’

उम्मेद्‌वारहरूको विकासे नारा

आगामी महिना हुने निर्वाचनका लागि कञ्चनपुर–३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपा मुख्य रुपमा चुनावी दौडधुपमा छन् । ती बाहेक अरु १३ जना पनि प्रतिस्पर्धामा छन् ।

अघिल्लोपटक निर्वाचित कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले यसपालि टिकट पाएनन् । कांग्रेसले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई अघि सारेको छ ।

२०७४ सालको निर्वाचनमा लेखकलाई नै झिनो मतान्तरले पराजित गरेका एमालेका डा. दिपकप्रकाश भट्ट २०७९ को निर्वाचनमा टिकट पाएनन् भने उनी अहिले प्रतिस्पर्धामा छन् ।

नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशका पूर्व सांसद मानबहादुर सुनारलाई उम्मेद्‌वार बनाएको छ, पूर्वपत्रकार ज्ञानेन्द्र महता रास्वपाबाट प्रतिस्पर्धामा छन् । सुनार दोधारा–चाँदनी नगरपालिकाकै बासिन्दासमेत हुन् ।

कांग्रेस उम्मेद्‌वार बोहरा पहिलोपटक प्रतिस्पर्धामा छन् भने बौद्धिक छवि समेत बनाएका एमाले उम्मेद्वार डा. दिपकप्रकाश भट्ट दोस्रो पटक प्रतिस्पर्धामा छन् ।

नेकपा उम्मेद्‌वार सुनार २०७४ सालको निर्वाचनमा प्रदेश सांसद सहित भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री समेत भए ।

कांग्रेस उम्मेद्‌वार बोहरा रमेश लेखकले अघि सारेका योजनालाई अघि बढाउने भन्दै थप्छन्, ‘कांग्रेसले अघि सारेका एजेन्डा लिएर अघि बढेको छु’ बोहराले भने, ‘उहाँको भिजन अनुसारका योजना मेरो पनि प्राथमिकतामा छन् ।’

स्थानीय बासिन्दाहरूसँग कुरा गर्दा, जेनजी आन्दोलन दमनका बेला गृहमन्त्री रहेका लेखकको छवि काठमाडौंमा जस्ता सुदुरपश्चिममा धुलिसात भइसकेको त छैन, तर पनि उनीप्रति कुनै सहानुभूति देखिँदैनथ्यो ।

कांग्रेस उम्मेद्‌वार बोहराले महाकाली करिडोर, दोधाराचाँदनीको सुक्खा बन्दरगाह, सुदूरपश्चिमलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्ने एजेण्डा आफूसँग रहेको बताए ।

एमालेका भट्टले २०७४ सालमा सांसद भएर काम गरेको अनुभव अघि सार्दै त्यतिबेला गर्न नसकेका कामलाई प्राथमिकता दिने बताउँछन् ।

आफूले अघिल्लो निर्वाचनमा उठाएको दोधाराचाँदनी सुक्खा बन्दरगाह, गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय, मझगाउँ विमानस्थल कालोपत्रे लगायतका काम भइरहेको भन्दै थप्छन्, ‘बाँकी रहेका योजनालाई पूर्णता दिन उम्मेदवारी दिएको हुँ ।’

नेकपा उम्मेद्‌वार सुनार कञ्चनपुर–३ को समग्र विकासका लागि उम्मेदवारी दिएको सुनाउँछन् । उनी भन्छन्, ‘यो क्षेत्रको आधारभूतदेखि समग्र विकासका लागि मेरो उम्मेदवारी हो ।’

‘नत्र दिल्ली नै बढिया हो’

दुई दशकअघि तत्कालीन भीमदत्त नगरपालिकासँग झोलुंगे पुलले जोडिएपछि दोधारा चाँदनीले राज्यसँग पैदलै भएपनि पहुँच पाएको हो । स्थानीय सुकदेव धामी, झोलुङ्गे पुल बन्नुअघि वारीपारी बैवाहिक सम्बन्ध गाँस्न पनि मानिसहरू हिच्चिकचाउने गरेको सम्झन्छन् ।

उनका अनुसार, झोलुङ्गे पुल बन्नुअघि कसैले विहेको प्रस्ताव ल्याएमा ‘छोरीलाई बिहे गरेर दिएर पठायो, महाकालीले बगाउँछ’ भन्ने प्रतिक्रिया दिइहाल्थे ।

सात किलोमिटर माथिको बनबासा पुलबाट ओहोरदोहोर गर्नु भौगोलिक मात्रै होइन, दुई–देशीय सम्बन्धका कठिनाइहरू पनि थपिन्थे ।

माथिल्लो भागको चाँदनी र तल्लो भागमा पर्ने दोधारा गाविस जोडेर २०७१ सालमा दोधारा चाँदनी नगरपालिका बनाइएको थियो । २०७३ सालमा नाम परिवर्तन गरेर महाकाली नगरपालिका बनाइएकोमा त्यो प्रयास तीन वर्षपनि टिकेन र पुरानै अवस्थामा फर्कियो ।

महाकालीपारीको त्यो भू-भाग उत्तरदक्षिणमा करिब १७/१८ किलोमिटर फैलिएको छ भने चौ‌ंडाइ दुईदेखि चार/पाँच किलोमिटरको छ । स्थानीय तह बनेपछि दोधारा–चाँदनीको प्रायः सबैजसो गाँउ र बस्तीमा पक्की सडक पुगेको छ ।

झोलुङ्गे पुलछेउमा भेटिएका जनकबहादुर भट्टका अनुसार, उनका बाबुहरू २०२३ सालमा बझाङबाट बसाईसरेर दोधारा चाँदनीमा पुगेका थिए र झाडी फाँडेर बस्ती बसाए । २०६१ सालमा झोलुङ्गे पुल नबन्दासम्म पनि उनीहरु नाउ र ट्युबबाट महाकाली वारपार गर्थे ।

‘पुल र बाटो नबनेको भए छोराछोरीले पनि सुविस्ताले पढ्न पाउने थिएनन् । उनीहरुले पारीका राम्रा स्कूल देख्न पाएका छन्,’ सुनिता भट्ट भन्छिन्, ‘पक्की पुल बनेकाले पसलको व्यापार केही घटेको होला, तर त्यत्तिले हामी दुःखी छैनौं ।’

अहिले सीमा प्रहरी (सशस्त्र प्रहरी बल) र इलाका प्रहरी कार्यालय (नेपाल प्रहरी) स्थापना भएको छ । स्वास्थ्यचौकी र विद्यालय बनेका छन् । र, जरुरी पर्दा मध्यरातमा एम्बुलेन्स बोलाएर बिरामीलाई महेन्द्रनगर पुर्‍याउ कुनै कठिनाइ छैन ।

महाकाली वारी र पारीका केही क्षेत्र मिलाएर कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ बनाइएको थियो । उक्त क्षेत्रमा साढे ५० हजार पुरुष र साढे ५२ हजार महिला गरी कूल एक लाख तीन हजार मतदाता छन् ।

२०७८ सालको जनगणना अनुसार करिव ४३ हजार जनसंख्या रहेको दोधारा–चाँदनीमा उक्त निर्वाचन क्षेत्रको करिब एक तिहाइको हाराहारीमा मतदाता रहेको अनुमान छ ।

अहिले पनि त्यस भेगका कैयौ मानिसहरू रोजगारीका लागि भारत जाने गर्छन् । चाँदनीका भुजी सुनार, विमला सुनार र रेखा सुनार गोरु चराउन र घाँसदाउरा लिन निर्माणाधीन सुख्खा बन्दरगाह नजिकैको जंगलमा जाँदै थिए ।

भुजी, विमला र रेखा

केही दिन अघिमात्रै ठेकेदारले ‘अब तिमीहरू यहाँ गोरु चराउन नल्याउनु’ भनेर उनीहरूलाई धपाएका रहेछन् । नजिकैको पुल र निर्माणाधीन सुख्खा बन्दरगाहले उनीहरूमा उत्साह भरेको थिएन ।

चुनावको कुरा सुनिरहेका उनीहरू ‘कसैलाई जिताएर केही फाइदा नहुने’ बताइरहेका थिए । उनीहरू लामो समय दिल्ली बसेर आफ्नै देशमा फर्किने भनेर दुई वर्षअघि दोधारा–चाँदनीमा आएका रहेछन् । अब भने काम नपाएपछि दिक्क छन् ।

‘यिनीहरूले हाम्रा लागि रोजगारी खोजिदि त बढिया नै हो । तर नत्र दिल्ली जान्या हो,’ भुजी सुनारले भनिन्, ‘हामी त दिल्ली त बस्नेवाला हौं, यहाँ बस्या त दुई साल भयो । सुविधा भए यही काम गर्ने, नत्र दिल्ली नै बढिया हो ।’

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?