News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि सुन तस्करीमा भ्रष्टाचार मुद्दा चलाएको छ।
- अख्तियारले १० पुस २०७९ मा फ्लाई दुबईबाट ल्याइएको ८ किलो ४८० ग्राम सुन तस्करीमा भन्सार कर्मचारीहरूले मिलेमतो गरेको आरोप लगाएको छ।
- मुद्दामा प्रमुख भन्सार प्रशासन अरुण पोखरेल र अन्य भन्सार अधिकृतहरूलाई समेत भ्रष्टाचारमा संलग्न भएको उल्लेख गरिएको छ।
२६ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ ।
अख्तियारले प्रमुख भन्सार प्रशासन अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेलमाथि मुद्दा चलाएको हो ।
अख्तियारले महरासहित उनको छोरा राहुल, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की र निमा गुरुङमाथि पनि मुद्दा चलाएको हो ।
त्यसैगरी प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र दोजिङ वाङ अनि बेल्जियमका नागरिक दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङ विरुद्ध मुद्दा चलाएको हो । त्यसैगरी डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालि माथि पनि मुद्दा चलाएको छ ।
१० पुस २०७९ मा फ्लाई दुबईबाट चिनियाँ नागरिक लि हाङ सोङले २ वटा सुटकेस ल्याएका थिए । त्यसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) थियो । त्यसमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूले मिलेमतो गरेको अख्तियारको आरोप हो ।
शंकास्पद देखिएको मालवस्तुको भौतिक रूपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप हो ।
त्यसरी बरामद गरिएको सामान गोदाममा बन्द गरी राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखेको र सुन छुटाउने समूहका व्यक्तिहरुसँग अस्वभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो ।
शंकास्पद वस्तु करिब १९ दिन भन्सारमा राखेर त्यसपछि मात्रै मुद्दा तथा लिलामी शाखामा पठाएको भन्दै अख्तियारले पछि सामग्री परिवर्तन गर्ने बदनियतले सीसीटीभीको कभरेज नभएको ठाँउमा सारेको आरोप लगाएको छ ।
अख्तियारले आठ किलो ४८० ग्राम सुन तस्करीमा भूमिका खेलेको भन्दै उनीहरूमाथि सात करोड ७८ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको हो ।
अख्तियारले भन्सारका कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लगाएको छ भने पूर्वसभामुख महरा, उनका छोरा राहुल लगायतमाथि मतियारको आरोप लगाएको हो ।
प्रतिक्रिया 4