+
+
Shares

कांग्रेसमा दलको नेता चयनमा किचलो

कांग्रेस संसदीय दलको नेता कसलाई बनाउने भन्ने रस्साकस्सी चलेको छ । चुनावभन्दा सर्वसम्मति गराउने कोशिस भइरहेको छ ।

केशव सावद केशव सावद
२०८२ चैत २६ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूको शपथ लिएको दुई साता नाघिसक्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन।
  • सभापति गगनकुमार थापाले सर्वसम्मतिमा दलको नेता चयन गर्न खोज्दा अर्जुननरसिंह केसी र मोहन आचार्यबीच विवादले प्रक्रिया ढिलाइ भएको छ।
  • संसदीय दलको नेता चयनका लागि कांग्रेसले २४ चैतमा निर्वाचन समिति गठन गर्यो तर सहमतिको अभावले चुनाव स्थगित भएको छ।

२६ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता नाघिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । सभापति गगनकुमार थापाले सहमतिमा अघि बढ्न खोजेपछि दलको नेता चयनमा ढिलाइ भएको हो ।

समानुपातिकतर्फ निर्वाचित जेष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपरेको कारण पनि ढिलाइ भएको हो ।

उनी २२ फागुनमा सभामुखको निर्वाचन सम्पन्न गरेर प्रतिनिसभाको सभाध्यक्षबाट फुर्सद पाएका थिए ।

सांसद केसीले आकांक्षा राखेका कारण सभामुखको टुंगो लागेपछिमात्रै संसदीय दलको नेता चयनबारे प्रक्रिया अघि बढाउने कांग्रेसले तयारी गरेको थियो ।

प्रक्रिया अघि बढाएर २४ चैतमा दलको नेता चयन गर्न भन्दै कांग्रेसले सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको थियो ।

तर, न त कांग्रेसले २४ चैतमा दलको नेता चयनका लागि समितिमार्फत् प्रक्रिया अगाडि बढायो, न त रसाइलीको संयोजकत्वमा समिति गठन गरिएको सूचना आधिकारिक रूपमा सार्वजनिक गर्‍यो ।

सभापति थापाले सर्वसम्मत संसदीय दलको नेता चयनका लागि छलफल भइरहेको भन्दै रसाइली नेतृत्वको समितिले प्रक्रिया अगाडि नबढाएको र २४ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको कांग्रेस स्रोतको भनाइ छ ।

कांग्रेसका एक नेता भन्छन्, ‘सभापतिले अर्जुन दाइलाई सर्वसम्मत भएमात्रै दलको नेता बनाउने, नत्र नबनाउने । अर्जुन दाइ चुनावै लड्न पनि तयार हुने । त्यही कुराले दलको नेता चयनमा ढिलाइ भइरहेको हो ।’

सर्वसम्मत चयनका लागि प्रयासमा रहेका शीर्ष नेतामध्येमा पर्ने अर्का नेताले पनि सर्वसम्मतको प्रयास भइरहेका कारण कांग्रेसले दलको नेता चयन गर्न ढिलाइ भएको प्रतिक्रिया दिए ।

‘अर्जुन दाइलाई नबनाउने, अर्कोलाई बनाउने, त्यो अर्कोलाई पनि सर्वसम्मत गराउनेलगायतका विभिन्न प्रयासले ढिलो भएको हो,’ ती पदाधिकारीले भने, ‘चैत महिनाभित्रै हामी एउटा निर्णयमा पुग्छौं ।’

कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले सांसद केसीलाई दलको नेता बनाउन चाहेका छैनन् । तर, सांसदहरूले दलको नेताका बन्न दबाब दिएपछि केसीको मनोबल बढेको ती पदाधिकारीको भनाइ छ ।

‘गगन–विश्वजी दुवैले अर्जुननरसिंह दाइलाई बनाउन चाहनुभएको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘तर, परिस्थिति के बन्यो भने सांसदहरू आफू नभए अर्जुनरसिंह केसी बन्नुपर्छ भन्ने धेरै भए । त्यसले उहाँको मनोबल बढायो ।’

कांग्रेसको संस्थापन इतर समूहले सभापति थापालाई ‘एक्सपोज’ गर्न पनि केसीलाई उक्साइरहेको संस्थापन पक्षको बुझाइ छ ।

‘गगनजीलाई एक्सपोज गर्न हो कि के हो, पर्सनल्ली कुरा गर्दा पूर्णबहादुर दाइ–शेखर दाइहरू अर्जुन दाइलाई तपाईं हुनुस् न त दलको नेता भन्ने खालको कुरा गरिदिन थाल्नुभयो,’ एक सहमहामन्त्रीले भने ।

सभापति थापाले रसुवाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद मोहन आचार्यलाई दलको नेता बनाउन चाहेका छन् । तर, आचार्यको नाममा सम्मत जुटाउन नसकिने कांग्रेसकै नेताहरू बताउँछन् ।

‘मोहन आचार्यलाई दलको नेता बनाउन खोजेर सर्वसम्मत हुँदैन,’ एक शीर्ष नेताले भने, ‘तर, उहाँ सभापतिको इन्ट्रेस्ट भित्रको क्यान्डिडेट चाहिँ हो ।’ ती नेताले सभापति थापाले व्यक्ति जो सुकै भए पनि सर्वसम्मत दलको नेता बनाउन खोजेकोसमेत दाबी गरे ।

‘सभापतिजीको मान्छे को बन्छ भन्दापनि अर्जुन दाइबाहेक अर्कोको सर्वसम्मत हुन्छ, उसलाई बनाउन पाए हुन्थ्यो भन्ने कुरा हो,’ ती नेताले भने, ‘भीष्मराज आङ्देम्बे’ भएपनि उहाँलाई आपत्ति हुन्न ।’

कांग्रेसमा समानुपातिकतर्फका सांसद आङ्देम्बे पनि संसदीय दलको नेताका आकांक्षी हुन् । उनी १४ औं महाधिवेशनमा निर्वमान सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

कांग्रेसका नेताहरूले सहमतिको प्रयासका लागि तीन दिनअघि सांसद केसीलाई भेटेर छलफल गरेको थियो । छलफलका क्रममा कांग्रेसका नेताहरूले उनलाई नेतृत्वले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

तर, केसीले आफूलाई सर्वसम्मत दलको नेता बनाउनका लागि वातावरण बनाउन आग्रह गरेका थिए । उनले नेतृत्व तहबाट आफूलाई निर्वारोध दलको नेता बनाउने प्रयास नभए आफैंले उम्मेदवार खडा गर्ने चेतावनीसमेत दिएका थिए ।

‘तीन दिन अघि उहाँलाई हामीले प्रष्टै तपाईं निर्विरोध भएमात्रै दलको नेता हुने हो । अर्को अवस्थामा तपाईं हुनुहुन्न । अरू अर्थमा हामी क्यान्डिडेट बनाउँछौं, त्यसलाई समर्थन गर्नुस् भनियो,’ छलफलमा सहभागी एक नेताले भने, ‘उहाँले ठीक छ, निर्विरोध तपाईंहरूले बनाइदिए म हुन्छु । निर्विरोध बनाउन चाहनु भएन भने म आफैं अर्को क्यान्डिडेट उठाउँछु भन्ने उहाँको कुरो थियो ।’

स्रोतका अनुसार संस्थापनइतर समूहले सांसद केसीलाई दलको नेतामा सघाउने सम्भावना रहेको संस्थापन पक्षको बुझाइ छ । संस्थापन पक्षीय एक नेता इत्तर समूहमा पनि फरक–फरक विचार समूहको नेतृत्व गरिरहेका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले केसीलाई सघाउने सम्भावना देख्छन् ।

‘देउवा–कोइराला समूहले कुराकानीमा अर्जुननरसिंह केसी उम्मेदवार बन्दा सघाउँछौं भनिरहेका छन् भन्ने छ,’ तीन नेताले भने, ‘उहाँ अहिले देउवा–कोइरालातिरै विश्वस्त देखिनुहुन्छ । यतातिर यिनीहरूले भीष्मराजलाई उचाले भन्ने बुझाइ केसीको छ ।’

केसीले सभापति थापासँग आफूलाई निर्विरोध संसदीय दलको नेता बनाइदिन आग्रह गरिरहेका छन् ।

‘तपाईंहरूले वातावरण बनाइदिनुस्, म सर्वसम्मत हुन्छु भनेर उहाँले सभापतिलाई भनिरहनुभएको छ,’ संस्थापन पक्षीय एक नेताले भने,‘दलको नेता बन्छु भनेर निकै उत्साहित देखिनुहुन्छ । सांसदहरू घर जाने, मान्छेले उक्साउने, तपाईं नै हो भनिदिने गर्दा रहेछन् । निर्विरोध नै हुन्छु भन्नेमा हुनुहुन्छ अहिले पनि ।’

तर, कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगन थापाले दलको नेतामा चुनौती दिएका थिए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा पनि पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूलाई टिकट वितरण गर्दा देउवा र थापा दुबैको हस्ताक्षर निर्वाचन आयोगमा प्रयोग भएको थियो ।

समानुपातिक प्रणालीको बन्दसूचीमा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए भने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाले हस्ताक्षर गरेका थिए ।

दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद बनेकाहरू संसदीय दलमा रहेका कारण नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

आकांक्षीहरूमध्ये नुवाकोटका केसी र पाँचथरका आङ्देम्बेलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ । दुवै नेताहरू कांग्रेसका पूर्वसहमहामन्त्रीहरू पनि हुन् । केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद् मानिन्छन् । आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनमा सभासदको भूमिकामा थिए ।

नेता केसी संस्थापननिकट र आङ्देम्बे संस्थापनइतर समूहका नेताका रूपमा चिनिन्छन् । पार्टीको १४ औं महाधिवेशनमा केसी डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १८ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २० जना निर्वाचति भएका छन् । दुबै प्रणालीअन्तर्गत निर्वाचित निर्वाचित कुल ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चश्व छ भने समानुपातिकतर्फ संस्थापनइतर समूहका सांसद बढी छन् ।

टिकट वितरणलाई आधार मान्दा प्रत्यक्ष र समानुपातिक गरी संस्थापन पक्षीय १६ र संस्थापनइतर पक्षीय २२ सांसदहरू छन् । इतरपक्षीय २२ मध्ये निवर्तमान सभापति देउवानिकट १५ र कोइरालानिकट सात जना मानिन्छन् ।

तर, पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच देखिएको ध्रुवीकरणले सांसदहरूको संख्याबारे एकिन भन्न सकिने अवस्था भने देखिँदैन ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?