+
+
Shares

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागु हुनेछ नयाँ नियम

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
२०८२ चैत २७ गते ८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको पुतलीबजारसहित सिद्धार्थ राजमार्ग क्षेत्रमा वैशाख १ गतेदेखि तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ गर्न नपाइने व्यवस्था लागू हुने भएको छ।
  • पुतलीबजारमा पिकअप र साना सार्वजनिक सवारीका लागि बसपार्कको तल्लो भाग खुला स्थान छुट्याइएको छ भने ट्याक्सीलाई ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री सडकमा सीमित संख्यामा राख्न पाइनेछ।
  • मोटरसाइकल पार्किङ भित्री सडकमा मात्र गर्नुपर्ने र फुटपाथमा पसल राख्न नपाइने व्यवस्था गरिएको छ भने अटेर गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

२७ चैत, स्याङ्जा । स्याङ्जाको पुतलीबजारसहित सिद्धार्थ राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू हुने भएको छ । सरोकारवालाबीच भएको छलफलपछि वैशाख १ गतेदेखि तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको छलफलपछि पुतलीबजार क्षेत्रमा मुख्य सडकमा कुनै पनि सवारी पार्किङ गर्न नपाइने र सार्वजनिक सवारी साधनलाई अनिवार्य रूपमा बसपार्कमै राख्नुपर्ने निर्णय गरिएको छ ।

मुख्य राजमार्गमा जथाभावी पार्किङका कारण बढ्दै गएको जोखिम र दुर्घटनालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने फेदीखोला गाउँपालिका, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका क्षेत्रका बजारमा अब पार्किङ र यात्रु चढाउने–ओराल्ने कामका लागि निश्चित स्थान तोकिएको छ ।

कहाँ कहाँ रोक्न पाइन्छ ?

पिकअप तथा साना सार्वजनिक सवारीका लागि पुतलीबजार–१ स्थित बसपार्कको तल्लो भागको खुला स्थान छुट्याइएको छ भने ट्याक्सीहरूलाई ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री सडकमा सीमित संख्यामा मात्र राख्न पाइनेछ । अन्य ट्याक्सीले भने बसपार्कमै पार्किङ गर्नुपर्नेछ ।

यात्रु चढाउने र ओराल्ने स्थानसमेत तोकिएको छ । पुतलीबजार–३ को बाडखोलाचोक, प्रगतिनगर जाने चोक, घुम्तीचोक, ट्याक्सी चोक र राङ्खोला क्षेत्रलाई यसका लागि प्रयोग गरिने जनाइएको छ ।

राजमार्गका अन्य बजार क्षेत्रमा भने सम्बन्धित स्थानीय तह र ट्राफिक प्रहरीको समन्वयमा उपयुक्त स्थान पहिचान गरी प्रशासनलाई जानकारी गराउने जिम्मेवारी दिइएको छ ।

यसका साथै मोटरसाइकल पार्किङ भित्री सडकमा मात्र गर्नुपर्ने, फुटपाथमा पसल राख्न वा निर्माण सामग्री थुपार्न नपाइने व्यवस्था गरिएको छ । निर्णय कार्यान्वयनमा अटेर गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?