News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जामा अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत बालबालिकालाई सारङ्गी बजाउने तालिम सञ्चालन गरिएको छ।
- १० दिनको कार्यक्रममा २० जना बालबालिकाले ज्येष्ठ नागरिकबाट सारङ्गी बजाउने सीप सिकिरहेका छन्।
- एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले सारङ्गी संरक्षण र प्रवर्द्धन आवश्यक भएकाले यस्तो तालिम सञ्चालन गरिएको बताए ।
८ वैशाख, स्याङ्जा । नयाँ पुस्ताको चासो घट्दै जाँदा नेपाली मौलिक बाजा सारङ्गी हराउँदै जाने चिन्ता बढिरहेका बेला स्याङ्जामा भने बालबालिकालाई सारङ्गी सिकाउने अभियान सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका–१३ लामपाटामा आयोजना गरेको १० दिने अन्तरपुस्ता हस्तान्तरण कार्यक्रममा ज्येष्ठ नागरिकहरूले बालबालिकालाई सारङ्गी बजाउने सीप सिकाइरहेका छन् । कार्यक्रममार्फत पुरानो पुस्तामा रहेको ज्ञान, अनुभव र सांस्कृतिक सीप नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको हो ।
नयाँ शैक्षिक सत्र सुरु नभएकाले घरमै रहेकी स्याङ्जा उच्च माविमा कक्षा ७ मा अध्ययनरत जीविका परियारले ज्येष्ठ नागरिकबाट सारङ्गी बजाउन सिक्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपाली मौलिक बाजाप्रति रुचि बढेको पनि सुनाइन् ।
त्यस्तै, त्रिभुवन आदर्श माविका छात्र सुसान्त गन्धर्वले आफ्नै समुदायको मौलिक पेशा र पहिचानसँग जोडिएको सारङ्गी सिक्न पाउनु गर्वको विषय भएको बताए । उनले भविष्यमा संगीत क्षेत्रमा अघि बढ्ने चाहना पनि व्यक्त गरे ।
जीविका र सुसान्तजस्तै यहाँका २० जना बालबालिकाले बिदाको समय सदुपयोग गर्दै सारङ्गीबाट धुन निकाल्ने अभ्यास गरिरहेका छन् । दैनिक कापी–कलम बोकेर विद्यालय जाने उनीहरू अहिले केही समयका लागि सारङ्गी समातेर सांगीतिक सीप सिकिरहेका छन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको बताए । उनका अनुसार सारङ्गीको संगीतले बालबालिकामा सृजनशीलता, धैर्यता, एकाग्रता र भावनात्मक विकासमा सकारात्मक प्रभाव पार्छ ।
प्रशिक्षक सूर्यमान गन्धर्वले सारङ्गी सिकाउनु केबल बाजा बजाउन सिकाउनु मात्र नभई संस्कृति, पहिचान र मूल्य जोगाउने अभियान भएको बताए । उनले सिकेको सीपलाई निरन्तरता दिन बालबालिकालाई आग्रह पनि गरे ।
पुतलीबजार नगरपालिका वडा नम्बर १३ का अध्यक्ष जुद्धबहादुर थापाले ज्येष्ठ नागरिक र बालबालिकाबीच सीप आदानप्रदान हुँदा आपसी सम्मान, समझदारी र सामाजिक सद्भाव बलियो बन्ने बताए ।
कार्यक्रममा सहभागीहरूले कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासे तथा घटनाप्रधान गीतहरूमा सारङ्गी बजाउने अभ्यास गरिरहेका छन् । स्थानीयस्तरमा यस्तो कार्यक्रमले लोपोन्मुख मौलिक बाजा जोगाउन टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4