News Summary
Generated by OK AI. Editorially reviewed.- सीजी हस्पिटालिटीले गोरखामा अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्य विकास गर्ने उद्देश्यले समिट होटलको शिलान्यास गरेको छ।
- समिट होटल परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ३० रोपनी क्षेत्रफलमा ३० वटा लक्जरी कोठासहित निर्माण हुनेछ।
- चौधरी ग्रुपले पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै गोरखामा रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरण गर्ने योजना बनाएको छ।
२७ चैत, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोरखालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहीबार शिलान्यास गरेको छ ।
काठमाडौं उपत्यकाको चर्चित ‘समिट होटल’ बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ ।
सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित ललितपुरको ऐतिहासिक समिट होटलको विरासतलाई नयाँ स्वरूप दिँदै गोरखामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाका साथै नेपाली मौलिकता प्रदान गर्ने जनाइएको छ ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना दुई वर्षभित्र सक्ने लक्ष्य छ । ३० वटा लक्जरी कोठा रहने यस होटलको रुम रेट करिब ५ सय अमेरिकी डलर आसपास रहने छ ।
समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्ने छ ।
सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोरखालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो ।

ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गोरखा दरबार नजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृति अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । गोरखा त्यही स्थल हो जहाँबाट पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपाल निर्माण गरेका थिए ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्त्वपूर्ण कदम हो ।
‘गोरखा नेपालको इतिहास बोकेको निकै महत्त्वपूर्ण क्षेत्र हो, नेपालको इतिहास, संस्कृति र मौलिकता तथा समिट होटलको विरासतलाई नेपालभरि र विश्वसामु प्रस्तुत गर्ने हाम्रो प्रयास हो, पर्यटन मार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने सरकारको लक्ष्यमा चौधरी ग्रुप सधैं सहयोगी भूमिकामा रहने छ,’ उनले भने ।
समिट होटलले गोरखा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसले पर्यटन मार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वास समेत गरिएको छ ।
केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ होटलको शिलान्यास काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो ।

सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ । हाल यसको पोर्टफोलियोमा १२ देशका १ सय ३० गन्तव्यमा २ सय ३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जसमा १५ हजारभन्दा बढी कोठा क्षमता छ ।
चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, प्रमुख करदाता तथा रोजगार सिर्जनामा अग्रणी संस्था हो । चौधरी ग्रुपको राजस्व योगदान सरकारको वार्षिक राजस्वको करिब २ प्रतिशत बराबर छ ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै चौधरी ग्रुपले २५ अर्ब ५९ करोड रुपैयाँ सरकारको राजस्वमा योगदान गरेको थियो भने पछिल्ला पाँच वर्षमा कुल ९२ अर्ब २६ करोड राजस्व योगदान गरिसकेको छ ।
प्रतिक्रिया 4