News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले इन्धन कटौतीपछि सवारी साधन आलोपालो चलाउन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
- कार्याबाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको समस्या समाधानका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो।
- ‘कार पुलिङ’ कार्यक्रममा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाएर सवारी साधन आलोपालो सञ्चालन गरिने र इन्धनको प्रयोग घट्ने महानगरपालिकाको विश्वास छ।
२९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराएको सवारी साधन आलोपालो चलाउन प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
कार्याबाहक प्रमुख सुनिता डंगोलले इन्धन कटौतीपछि देखिएको समस्या समाधानका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिइन् ।
इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको डंगोलको भनाइ छ ।
‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ,’ उनले भनिन्, ‘यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौं ।’
महानगरपालिकाले ४८ औं कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।
‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ ।
यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारी (कर्मचारी) लाई पनि कार्याल्य ल्याउने/लाने गर्नुपर्छ ।
यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्ने महानगरपालिकाको विश्वास छ ।
प्रतिक्रिया 4