+
+
Shares

फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार

कार्यालय समयमै नगरी नहुने काम पनि सरकारी निवास बालुवाटारबाटै गर्ने विगतको शैलीमा ब्रेक लगाउँदै नियमित सिंहदरबार पुग्छन्, प्रधानमन्त्री बालेन्द्र शाह ।

दिनेश गौतम दिनेश गौतम
२०८२ चैत २९ गते २२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले सिंहदरबारबाट शासन सञ्चालन गर्दै बालुवाटारलाई निजी निवास बनाउने नीति अपनाएका छन्।
  • बालेनले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पालन गर्दै नियमित मन्त्रिपरिषद् बैठक सिंहदरबारमै राखेका छन्।
  • प्रधानमन्त्री कार्यालयमा सुरक्षा कारणले पत्रकार र मोबाइल प्रवेशमा रोक लगाइएको छ।
  • कर्मचारीको काममा चुस्तता कायम गर्न सतर्कता केन्द्रले निगरानी गरिरहेको छ।

२९ चैत, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ जेठ २५ देखि ३२ सम्म १० वटा विश्वविद्यालयको सिनेट बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखे । सिनेट विश्वविद्यालयको सभा हलमा बस्नुपर्ने हो । तर कुलपति एवं प्रधानमन्त्री ओलीको व्यस्तताको कारण देखाउँदै सबै विश्वविद्यालयहरूको सभा बालुवाटारमा राखियो । प्राज्ञहरूले सिनेटमै प्रश्नसमेत गरेका थिए ।

२०८० भदौ ११ मा तत्कालीन प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात वटै प्रदेश प्रमुखसँग बालुवाटारमै छलफल गरे । मन्त्रिपरिषद्को कतिपय बैठक प्रचण्डले बालुवाटारमै राखे । प्रचण्डको कार्यकालमा पनि महत्त्वपूर्ण छलफल र वार्ता बालुवाटरमा हुन्थ्यो । उनले विभिन्न देशका राजदूतसँग एक्ला एक्लै निजी निवास बालुवाटरमै भेटवार्ता गरे ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि प्रधानमन्त्री थिए, शेरबहादुर देउवा । त्यसबेला उनले १७ महिना १० दिन शासन सत्ता सञ्चालन गरे । तर, मन्त्रिपरिषदको बैठकबाहेक उनले सिंहदरबारमा पाइला टेकेनन् । उनको कार्यकालमा कार्यालयमा नियमित ब्रिफिङ, बैठक, छलफल हुनै सकेन । त्यसबेलाका एक कर्मचारीका अनुसार देउवा ५० दिन जति कार्यालयमा उपस्थित भए । कर्मचारीहरू फाइल बोकेर बालुवाटार पुग्ने गर्थे । त्यो पनि घण्टौं कुर्नुपर्ने बाध्यता कर्मचारीको थियो ।

यसअघिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माधव नेपाल, सुशील कोइराला, झलनाथ खनालका धेरै समय बालुवाटारमै बित्थे । बालुवाटारबाट मुलुक चलाउने अभ्यास गर्दा राज्यका संयन्त्र र निकायहरू कमजोर भएको विज्ञहरूको निष्कर्ष छ ।

मन्त्रिपरिषद् बैठक, पार्टीका बैठक, संसदीय दलको बैठक, राजदूतको भेटवार्ता, सर्वदलीय बैठक, सत्ता गठबन्धनको बैठक यी सबै प्रधानमन्त्रीको निजी निवास बालुवाटारबाट हुने गरेका थिए ।

बालेनले फेरेको शैली

तर, १३ चैतमा प्रधानमन्त्रीमा नियुक्त भएका बालेन शाहले भने त्यो पुरानो शैलीलाई फेरेका छन् । उनी प्रधानमन्त्री बनेको १७ दिन भयो । उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाटै शासन सञ्चालन गरिरहेका छन् । जानै पर्ने औपचारिक कार्यक्रमबाहेक अरु समयमा सिहंदरबाट नै काम गर्ने प्रधामनन्त्री बालेनको योजना छ । मन्त्रिपरिषद्का नियमित बैठक पनि प्रधानमन्त्री कार्यालयमा नै बसेका छन् ।

२६ चैतमा भक्तपुरको खरिपाटीमा नेपाली सैनिक प्रतिष्ठानमा प्रशिक्षण पूरा गरेका अधिकृतलाई पुरस्कृत गर्न पुगेका थिए । त्यसबाहेक अन्य कार्यक्रममा उनी गएका छैनन् । संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री बालेन दलको बैठकका लागि दलको कार्यालयमा र आवश्यक परेको समयमा प्रतिनिधिसभाको बैठकमा गइरहेका छन् ।

गत चैत २५ मा प्रधानमन्त्री बालेनले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सिंहदरबारमै सामूहिक भेट गरे । प्रत्यक्ष निर्वाचित सांसदसँग प्रदेशगतरुपमा प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा छलफल गरिरहेका छन् ।

हालमसम्म बागमती प्रदेशबाहेकका सांसदसँग उनले छलफल गरिसकेका छन् । प्रत्यक्ष निर्वाचित सांसदसँग छलफल सकेपछि समानुपातिक सांसद, प्रदेशका मुख्यमन्त्री, मन्त्रीसँग पनि छलफल गर्ने योजना प्रधानमन्त्री बालेनको छ ।

यसरी सिंहदरबाट नै शासन सञ्चालनको सुरुआत गरेकाले सकारात्मक सन्देश सुशासन विज्ञहरूको भनाई छ । ‘बालुवाटर त प्रधानमन्त्रीको निजी निवास हो । शासन सञ्चालन सिंहदरबारबाट हुनुपर्छ,’ पूर्वप्रशासक शारदाप्रसाद त्रितालले भने, ‘आधिकारिक कार्यालय सिंहदरबार हो । त्यहीँबाट कार्यसम्पादन हुनुपर्छ । अहिले जे सुरुआत भएको छ त्यो सकारात्मक छ ।’

कार्यालय समयमै आइपुग्छन् प्रधानमन्त्री बालेन

२२ चैतमा मन्त्रिपरिषद् बैठकले कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने निर्णय गर्‍यो । निर्णय पालना गर्दै प्रधानमन्त्री बालेन कार्यालय समयमै सिंहदरबार आइपुग्छन् ।

‘कार्यालय समय ९ बजदेखि ५ बजेसम्म हो । त्यसैगरी आउने गर्नुभएको छ । अस्ति सेनाको कार्यक्रममा जानु भयो । कहिले पार्टीको बैठकमा जानुपर्छ । सभापतिसँग मिटिङ हुन्छ । त्यो बाहेक कार्यालयमा समयमा आउने गर्नुहुन्छ,’ बालेन निकट प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

प्रधानमन्त्री बालेन बढीमा ६ बजेसम्म सिंहदरबारमा बस्छन् । कार्यालय समय सकिएपछि उनी प्रधानमन्त्री निवास बालुवाटार जान्छन् । ‘६ बजेपछिको समयमा काममा प्रेसर हुँदैन । पहिला कार्यालय समय अघि र पछि सेटिङका काम बढी हुने रहेछ,’ ती अधिकारीको दाबी छ ।

प्रधानमन्त्री बालेनका सचिवालयका सदस्यहरू पनि ६ बजेपछि कामको बोझ कम हुनेगरेको स्वीकार गर्छन् । ‘बेलुकाको समय प्रधानमन्त्रीले र हामीले पनि स्वअध्ययन गर्ने समय पाएका छौँ,’ कार्यालयका एक सदस्यले भने, ‘१७ दिन भयो । छुट्टीको दिन पब्लिक भेटेर हिँडेका छौँ ।’

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल प्रधानमन्त्री कार्यालयमा आउँदा कर्मचारी काममा फोकस भएको र नतिजा छिटो निकाल्न सहज हुने बताउँछिन् ।

‘प्रधानमन्त्री निवासलाई निवास र कार्यालयलाई कार्यालय बनाउन खोजिएको हो । प्रधानमन्त्रीको भिजन मिसन पूरा गर्नुपर्ने छ,’ उनले भनिन्, ‘पहिलाको गलत प्रवृत्ति रोक्न र आगामी दिनको लागि सिकाइ हुन्छ । प्रधानमन्त्री कार्यालयमा आउँदा छिटो नतिजा निस्कन्छ । कर्मचारी काममा फोकस हुने र फाइल कतै नअड्किने हुन्छ ।’

बालुवाटरमा हुँदैन कार्यक्रम, बाहिरियालाई छैन प्रवेश

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री बालेनले शासन सिंहदरबाट नै चलाउने सुरुदेखि नै गृहकार्य गरेका थिए । सोही अनुसार काम भइरहेको छ ।

‘बालुवाटार युग समाप्त गर्न खोजेको हो । हिजोको दिनमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा चरोमुसो नहुने जस्तो फितलो थियो,’ सचिवालयका एक सदस्यले भने, ‘तामझाम भीडभाड बालुवाटारमा हुन्थ्यो । अब त्यो हुँदैन । बालुवाटारमा ती गतिविधि बन्द गर्न खोजेका हौँ । बालुवाटार प्रधानमन्त्रीको आराम गर्ने थलो हो ।’

प्रधानमन्त्री निवासमा कुनै पनि कार्यक्रम आयोजना नगर्ने योजना प्रधानमन्त्री बालेनको छ । ‘त्यहाँ कुनै कार्यक्रम हुँदैन । निजी निवासमा प्रधानमन्त्री परिवारसँग बस्ने हो,’ सचिवालयका सदस्यले भने, ‘बालुवाटारमा अरु कसैलाई प्रवेश पनि छैन । सिंहदरबार नआएसम्म कुनै चहलपहल हुँदैन ।’

सिंहदरबारबाट शासन

कार्यालय समयमा सिंहदरबारमा बसेर चुस्त तरिकाले काम गर्ने सोच प्रधानमन्त्री बालेनले बनाएका छन् । कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न प्रधानमन्त्री बालेनले निर्देशन दिएका छन् । तर, प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार काम गर्न नसके राजीनामा गर्न कर्मचारीलाई उनले आग्रह समेत गरेका छन् ।

‘पहिलो दिनको बैठकमा हाम्रो स्पिडमा हिँड्नु होला । नसके राजीनामा दिनु भन्नु भएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘कार्मचारीले पनि त्यही अनुसार काम गरिरहनु भएको छ । कर्मचारी कुन पार्टी निकटको हो त्यो हेरिएको छैन । जुन पार्टीको भए पनि मतलब छैन । काम हुनुपर्‍यो ।’ आफ्नो स्पिडमा कर्मचारीले काम नगरे मात्र परिवर्तन गर्ने रणनीति प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्री बालेनले आफ्नो टिमलाई काममा चुस्त बनाएका छन् । ‘पहिले नाम मात्रको प्रधानमन्त्रीको टिम हुने गरेको थियो । तलब भत्ता मात्र खाने । अहिले त्यस्तो छैन,’ सचिवालयका ती सदस्यले भने, ‘प्रधानमन्त्रीको सचिवालयको टिमले कर्मचारीलाई सहजीकरण गर्नुभएको छ । आधा काम सचिवालयले नै गर्छ ।’

अन्तर मन्त्रालय समन्वयको काम पनि प्रधानमन्त्रीको सचिवालयले गरेको छ । ‘पहिलो फरक-फरक पार्टीको मन्त्री हुने गरेको थियो । समन्वय गर्न गार्‍हो हने गरेको थियो । यसपटक सबै मन्त्री एउटै पार्टीको भएकाले समन्वयमा असहज भएको छैन,’ सचिवालय सदस्यले भने ।

१०० दिन, १०० काम

प्रधानमन्त्रीमा नियुक्त भएपछि बसेको मन्त्रिपरिषद् बैठकले १०० वटा कार्यक्रम स्वीकृत गरेको थियो । सोही अनुसार प्रधानमन्त्री शाहले काम गरिरहेका छन् । ‘सय बुँदे कार्यक्रम अनुसार काम भइरहेको छ । सुशासन मुख्य एजेन्डा हो । प्रतिशोध होइन,’ सचिवालयका सदस्यले भने । उनका अनुसार कसैले गलत काम गरेको तत्काल स्पष्टीकरण सोधिने छ ।

‘अहिले नै पत्र लेख्ने । दुई घण्टामा नै जवाफ माग्ने शैली छ,’ ती सदस्यले भने, ‘शासकीय सुधारको कार्यक्रम कार्यान्वयन नै अहिलेको प्राथमिकता हो ।’ विवादमा परेपछि दुई हप्तामै श्रममन्त्री दीपककुमार साहलाई प्रधानमन्त्रीले पदमुक्त गरिसकेका छन् ।

प्रधानमन्त्री बालेनले सिंहदरबारलाई कर्पोरेट कल्चरमा लैजान खोजेको निकटस्थहरू बताउँछन् । कोही पनि विज्ञप्ति बुझाउन र काम लिएर प्रधानमन्त्री कार्यालयमै धाउनु नपर्ने अभ्यास प्रधानमन्त्री बालेनले गर्न खोजेका छन् ।

‘प्रदेश अनुसार सांसदको ह्वाट्स एप ग्रुप बनेको छ । कुनै पनि सांसद फाइल बोकेर प्रधानमन्त्री भेट्न आउनु पर्दैन । त्यही ग्रुपमा हालेपछि सचिवालयको टिमले काम गर्छ,’ ती सदस्यले भने, ‘प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन र फोटो खिच्न आउनु पर्दैन । सचिवालयले सहजीकरण गरेर काम समाधान हुन्छ ।’

मन्त्रालयहरूमा पनि सोही नीति अवलम्बन गरिएको छ । ‘सांसद, नेता र कार्यकर्तालाई मन्त्रालयमा नआउन निर्देशन जारी गरिएको छ,’ ती सदस्यले भने, ‘प्रधानमन्त्री र मन्त्रीलाई काम गर्न दिनुपर्‍यो । पछिल्लो दिनमा भीड कम भएको छ ।’
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र फोटो खिच्ने कल्चरलाई ब्रेक गर्न चाहन्छन् प्रधानमन्त्री बालेन । ‘फोटो खिचाउन आउनु पर्दैन । जुन निकायको काम हो त्यही निकायमा विज्ञप्ति बुझाउने व्यवस्था गरिएको छ । मन्त्रीलाई जिम्मेवार बनाइएको छ । वर्किङ कल्चरको विकास गर्न लागिएको हो,’ ती सदस्यले भने ।

प्रधानमन्त्री कार्यालयभित्र पत्रकारलाई रोक, मोबाइल लैजान पाइँदैन

प्रधानमन्त्री कार्यालयमा पत्रकारदेखि सांसदलाई समेत प्रवेशमा रोक लगाएको भन्दै सरकारको आलोचना पनि भएको छ । तर, सुरक्षाको दृष्टि र काममा अवरोध हुन नदिन कडाइ गरिएको प्रधानमन्त्री बालेनको सचिवालयको तर्क छ ।

१३ गते शपथ ग्रहण गरेपछि प्रधानमन्त्री बालेन कार्याभार सम्हाल्न सिंहदरबार पुगे । त्यो दिन त्यहाँ पत्रकार र युटुबरको भीड देखिन्थ्यो । सोही दिन मन्त्रिपरिषद् बैठक समेत बसेको थियो ।

क्यामेराको भीडले सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले निर्णय तीनपटक सुनाउनु परेको थियो । ठेलामठेल र अस्तव्यस्त भएको थियो । त्यसैको आधारमा प्रधानमन्त्री कार्यालयले अर्को दिनदेखि पत्रकारलाई प्रवेशमा रोक लगाएको हो ।

‘हिजो बालुवाटारबाट शासन चल्थ्यो । त्यहाँ प्रत्रकारलाई प्रवेश गराइएको थियो । अहिले प्रधानमन्त्री कार्यालयमा आउनु हुन्छ । प्रधानमन्त्री कार्यालय छातछुल्न गर्ने कार्यालय होइन नि,’ सचिवालय सदस्यले भने, ‘संवेदनशील ठाउँ हो । गोपनियता हुन्छ । गेट भित्र सुरक्षाको कारण प्रवेश गराउन नसकिएको हो ।’

प्रधानमन्त्री कार्यालयको गेट बाहिरबाट नै रिपोर्टीङ गर्न भनिएको छ । ‘सांसदसँग कुरा गर्ने हो कि राजदूत आउँदा होस् प्रधामनन्त्री कार्यालयको गेट बाहिर सोध्न सकिन्छ,’ ती सदस्यले भने, ‘प्रधानमन्त्री भएपछि सुरक्षाको कुरा हुन्छ नि ।’

प्रधानमन्त्री कार्यालयभित्र भएका औपचारिक कार्यक्रमको फोटो भिडियो सचिवालयले नै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । ‘सञ्चारको लागि मिलाइएको छ । पीएमओ अफिसले फोटो भिडियो खिचेर दिन्छ । प्रवक्तासँग कुरा गर्न सकिन्छ । तर, मिटिङ हुँदा हुल बाँधेर २०–२५ वटा क्यामेरा बोकेर हामी पनि खिच्नु पर्‍यो भनेर हुँदैन,’ नाम उल्लेख गर्न नचाहने ती सचिवालय सदस्यले भने, ‘त्यो काम प्रधानमन्त्री कार्यालयबाट हुँदैन । समाचार सर्कुलेटको काम प्रधानमन्त्रीको टिमले गर्छ ।’

सीमित व्यक्ति बाहेक प्रधानमन्त्री कार्यालयमा मोबाइल लैजान रोक लगाइएको छ । कार्यालयको मथिल्लो तलामा जानुअघि तल नै मोबाइल बुझाएर जानुपर्ने व्यवस्था गरिएको छ ।

‘मोबाइल बुझाएर मात्र जानुपर्छ । तल नै जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सीमित व्यक्तिले मात्र मोबाइल लैजान पाइन्छ,’ ती सदस्यले भने, ‘संवेदनशील भएकाले हो । सबै मन्त्रालयको सेन्ट्रल त पीएम अफिस हो । कडाइ गर्दा अनावश्यक हल्ला गर्नु पर्ने जरुरी छैन ।’

गोप्य कागजपत्रको तस्वीर नखिचोस् भनेर फोन लान नदिइएको सचिवालयका ती सदस्य बताउँछन् ।

कर्मचारी पनि निगरानीमा

कर्मचारीले काम गरे/नगरेको निगरानी भइरहेको छ । प्रधानमन्त्री बालेनले पहिलो दिन नै सतर्कता केन्द्रसँग छलफल गरेका थिए । कर्मचारीको निगरानी गर्ने जिम्मेवारी प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्रलाई दिएका छन् ।

‘पहिलो दिन नै सर्तकता केन्द्रसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो । केन्द्रले कर्मचारी समयमा आएको नआएको ड्रेस लगाएको नलगाएको रेकर्ड राखेको छ । कर्मचारी अर्लटमा छन् । कार्यालयका प्रमुखहरूलाई पनि जिम्मेवार बनाइएको छ,’ ती सदस्यले भने ।

सिंहदरबारका अभिभावक

१७ दिनको अवधिमा सिंहदरबारमा प्रधानमन्त्री बस्दा र पहिलो नबस्दाको बीचमा धेरै फरक भएको महशुस प्रधानमन्त्रीको सचिवालयले गरेको छ । सिंहदरबारले अभिभावक पाएको दाबी प्रधानमन्त्री बालेनको सचिवालयले गरेको छ ।
सिंहदरबारबाट शासन चलाएपछि मन्त्रीले प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने दिनको अन्त्य भएको दाबी सचिवालयको छ ।

‘प्रधानमन्त्री कार्यालयमा बसेपछि मन्त्रीले खोज्दै हिँड्नु परेन । मन्त्रीलाई क्षेत्राधिकार र जिम्मेवारी दिएको छ । कर्मचारीतन्त्र सुध्रिएको छ,’ ती सदस्यले भने ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह सिंहदरबारले अनुशासित अक्षरस: पालना गर्ने प्रधामनन्त्री पाएको बताउँछन् । ‘प्रधानमन्त्री कार्यालय चुस्त भएको छ । सुशासन नै सरकारको मुख्य फोकस हो । पहिला बालुवाटारबाट सरकार चल्थ्यो । अहिले सिंहदरबाट चलेको छ । सिंहदरबारले अनुशासित अभिभावक पाएको छ । सिंहदरबार रिसेट भएको छ,’ उनले १७ दिनको निष्कर्ष सुनाए ।

सुरुआती चरणमा बालेन सरकारले शासन सत्ता सिंहदरबाट चलाएपनि पछिसम्म निरन्तता पाउँछ वा पाउँदैन भन्ने कतिपयको आशंका छ ।

विगतका सरकारले पनि सुरुमा सिंहदरबारबाट र पछि बालुवाटार सार्ने गरेको धेरै उदाहरण छन् । ‘सुरु–सुरुमा मात्र हो कि पछिसम्म निरन्तरता पाउँछ त्यो भने हेर्न बाँकी छ । सिंहदरबाट नै साशान चल्यो भने राम्रो संस्कार बस्छ,’ पूर्वप्रशासक त्रितालले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?