+
+
Shares

नयाँ वर्षको रौनकसँगै सलहेश फूलबारीमा सुनाखरी हेर्न आउन थाले भारतीय नागरिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते ७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको लहानस्थित सलहेश फूलबारीमा नयाँ वर्ष नजिकिंदै गर्दा भारत र नेपालबाट हजारौं श्रद्धालुहरू माला आकारको सुनाखरी फूल हेर्न र पूजाअर्चना गर्न आएका छन्।
  • मेला व्यवस्थापन समितिका अनुसार हारमको रुखमा सुनाखरी फूल फुल्न थालेको छ, तर पूर्वाधार अभावका कारण भक्तजनहरूलाई धर्मशाला नहुँदा असुविधा भइरहेको छ।
  • सरकारले सलहेश फूलबारीलाई पर्यटकीय गन्तव्य बनाउने योजना बनाएको भए पनि आवश्यक पूर्वाधार विकासमा अपेक्षित प्रगति हुन सकेको छैन।

३० चैत, सिरहा । सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा नयाँ वर्ष नजिकिंदै गर्दा चहलपहल तीव्र रूपमा बढ्न थालेको छ । हरेक वर्ष वैशाख १ गते आयोजना हुने प्रसिद्ध मेलाको तयारीसँगै भारतबाट समेत श्रद्धालुहरूको आगमन सुरु भइसकेको छ।

मेला सुरु हुन अझै दुई दिन बाँकी रहँदा नै फूलबारी क्षेत्रमा भक्तजनहरूको उपस्थिति उल्लेख्य देखिएको छ। विशेषगरी नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल हेर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं भक्तजनहरू यहाँ पुग्ने गर्छन्।

मेला व्यवस्थापन समितिका अनुसार मन्दिरअगाडि रहेको हारमको रुखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न थालेको छ, यद्यपि पूर्ण रूपमा फक्रिन भने बाँकी छ। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा अहिले नै श्रद्धालुहरू दिनरात बस्न थालेका छन्, रुखमुनि पाल टाँगेर बास बस्ने क्रम समेत बढ्दो छ। तर, बढ्दो भीडसँगै पूर्वाधार अभावको समस्या पनि देखिएको छ। विशेषगरी धर्मशालाको अभावका कारण भक्तजनहरूलाई असुविधा भइरहेको स्थानीयहरूले बताएका छन् ।

लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमसँग जोडिएको यस फूलबारीलाई विशेष धार्मिक महत्व दिइन्छ। सुनाखरी फूललाई उनीहरूको प्रेमको प्रतीकका रूपमा लिइन्छ।

१४औँ शताब्दीका वीर तथा लोकनायक राजा सलहेशको सम्झनामा आयोजना हुने यो मेला तराई क्षेत्रका पासवान समुदायका लागि विशेष आस्थाको केन्द्र हो। यहाँ पूजा गर्दा सन्तान प्राप्ति तथा रोगबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरे पनि आवश्यक विकास र पूर्वाधार विस्तारमा भने अपेक्षित प्रगति हुन सकेको छैन। सरोकारवालाहरूले एकीकृत गुरुयोजना बनाएर काम गर्न सके सलहेश फूलबारीलाई उत्कृष्ट धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?