+
+
Shares

सञ्चार मन्त्रालयमा ‘उही दिन वा भोलिपल्टसम्ममा काम टुंग्याउने’ कार्यशैली लागु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दैनिक कार्यसम्पादनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्न नयाँ कार्यनीति कार्यान्वयनमा ल्याएको छ।
  • नयाँ व्यवस्थाअनुसार कुनै पनि फाइल वा काम कर्मचारीको डेस्कमा पुगेपछि सोही दिनभित्र वा भोलिपल्टभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।
  • मन्त्रालयले यस अभ्यासलाई सबै निकायमा विस्तार गर्दै दीर्घकालीन कार्यसंस्कृतिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

२ वैशाख, काठमाडौं । दैनिक कार्यसम्पादनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई तीव्र र प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ कार्यनीति कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालय र यसअन्तर्गतका सबै निकायका कर्मचारीहरूका लागि लागु गरिएको उक्त व्यवस्थाअनुसार अब कुनै पनि फाइल वा काम कर्मचारीको डेस्क वा प्रणालीमा पुगेपछि सकेसम्म सोही दिनभित्र र नभए भोलिपल्टभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ ।

मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले कर्मचारीलाई आफ्नो जिम्मेवारी छिटो, पूर्ण र गुणस्तरीय रूपमा पूरा गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको बताए । नयाँ नियमअनुसार निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकिने अवस्था आएमा सम्बन्धित कर्मचारीले तुरुन्तै आफ्नो माथिल्लो तहलाई जानकारी गराउनुपर्नेछ । साथै, कुनै पनि पत्र वा निर्णय प्रक्रिया सुरु गर्ने कर्मचारीले त्यसको अन्त्यसम्म अनुगमन गर्ने र प्रगतिको विवरण राख्ने दायित्व पनि लिनुपर्नेछ ।

यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै कर्मचारीसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस कदमले कर्मचारीमा अनुशासन कायम गर्नुका साथै कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसबाट सेवाग्राहीले छिटो, सहज र प्रभावकारी सेवा पाउने विश्वास लिइएको छ ।

मन्त्रालयले यस अभ्यासलाई मातहतका सबै निकायमा विस्तार गर्दै दीर्घकालीन कार्यसंस्कृतिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । साथै, स्रोतसाधनको मितव्ययी तथा प्रभावकारी उपयोग गर्न पनि मातहतका कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?