+
+
Shares

म्याग्दीमा घर-घरमै पुगेर राहदानी वितरण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते ६:५०
Photo Credit : रासस
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीमा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटाएर घरमै राहदानी वितरण गर्ने सेवा सुरु गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था मिलाएको छ।
  • सेवाग्राही सरस्वतीले घरमै राहदानी पाएपछि समय र गाडीभाडा खर्चबाट मुक्ति पाएको बताइन्।

३ वैशाख, म्याग्दी । राहदानी (पासपोर्ट) लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्दै म्याग्दीमा सेवाग्राहीको घर-घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत सेवाग्राहीकै दैलोमा राहदानी पुर्‍याउने व्यवस्था मिलाएको हो।

नेपाल सरकारले भर्खरै अघि सारेको शासकीय सुधारका १०० बुँदे सूचीमध्ये २७ नम्बर बुँदामा ‘घरमै राहदानी उपलब्ध गराउने’ घोषणा गरिएको थियो। सोही नीतिलाई कार्यान्वयन गर्दै बुधबारदेखि म्याग्दीमा यो सेवाको सुरुआत गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

‘सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार काम सुरु गरेका छौँ,’ प्रजिअ आचार्यले भने,’अब हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउने कामले निरन्तरता पाउनेछ।’

अभियानको पहिलो दिन बेनी नगरपालिका–२ का चार र वडा नम्बर ६ का दुई जना सेवाग्राहीलाई घरमै पुगेर राहदानी उपलब्ध गराइएको छ। बेनी नगरपालिका–२, ज्यामरुककोटको बिमिराबोट पुगेर प्रजिअ आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले स्थानीय सरस्वती घिमिरे थापालाई राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरेका थिए।

यस अभियानअन्तर्गत कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिस्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गरेका छन्।

यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने, दिनभर लाइन बस्नुपर्ने र गाडीभाडा खर्च गर्नुपर्ने बाध्यता थियो। घरमै राहदानी पाएपछि खुसी हुँदै सेवाग्राही सरस्वतीले भनिन्, ‘पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडीभाडा खर्च हुन्थ्यो। अब घरमै सेवा पुगेपछि दुवै समस्याबाट मुक्ति मिलेको छ। सरकारप्रति भरोसा जागेको छ।’

यस सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा स्थानीयले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?