News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको रणवाङ–दरवाङ खण्ड अलपत्र बनेको छ र ठेकेदारले गत असारदेखि काम गरेको छैन।
- निर्माण कम्पनीले नदीजन्य सामग्री अभाव, बजेट कमि र कोरोना महामारीका कारण ढिलाइ भएको बताएको छ।
- प्रदेश सरकारले रु पाँच करोड विनियोजन गर्दा पनि ठेकेदारले काम नगरेको र थप बजेटको पहल गरिने सांसदले बताए।
२ चैत, म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको छ ।
रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु भएको थियो ।
विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
रणवाङ–तोलावाङ खण्डमा गत वर्ष तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र भएको थियो । ढाडखर्क, दरबाङ बजारमा पर्खाल, नाली तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । गत असार महिनायता सडक निर्माणको काम भएको छैन ।
यही चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित र मौखिक रूपमा पटक–पटक ताकेता गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले बताए ।
म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ । दुर्घटनाको जोखिम बढ्नाका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको यातायात व्यवसायी जीवन केसीले बताए ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गतको यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।
निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौता लगत्तै कोरोना महामारी, विपद्लगायत कारणले ढिलाइ भएको बताए ।
एक–दुई दिनमै मजदुर र उपकरण ल्याएर आउन लागेको थकालीको भनाइ छ । अबको एक महिनाभित्र बाँकी काम सन्पन्न गर्ने उनले प्रतिबद्धता जनाए । बाङ्गेपहिरो प्रभावित सडकलाई ठेक्काबाट हटाइएको छ ।
पहिरो बाहेकका ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएको छ । गत आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप रु एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो ।
चालु आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन भएको छ । म्याग्दीमा यो आयोजनामा सबैभन्दा धेरै बजेट विनियोजन भए पनि आर्थिक वर्षको आठ महिनासम्म वित्तीय प्रगति शून्य छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्त्वका रूपमा मानिएको हो ।
बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरे पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए ।
‘आर्थिक वर्ष २०८०/०८१ मा काम सम्पन्न गर्न पुग्ने गरी रु पाँच करोड विनियोजन गर्दा ठेकेदारले काम गरेन,’ उनले भने, ‘गत वर्ष विनियोजन भएको बजेट नपुगेपछि रकमान्तर गरेर भुक्तानीको व्यवस्था मिलाएका थियौँ ।’
यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माण व्यवसायीले अधुरा कामलाई चाँडो पूर्णता दिनुपर्ने बताए ।
प्रतिक्रिया 4