+
+
Shares

‘लिगेसी’ पछ्याउँदै बलिउडबाट आएका तुलसी घिमिरेका छोरीहरू (भिडियो)

हामीलाई थाहा छ, बुवाको नामसँग जोडिएपछि अपेक्षा पनि ठूलो हुन्छ । त्यो पूरा गर्न मेहनत गर्नुपर्छ भन्ने बुझाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १५:५६
तस्वीरमा बायाँबाट पञ्चमी र भावना घिमिरे ।
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली निर्देशक तुलसी घिमिरेको २४औँ फिल्म 'पहाड' युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक तथा वातावरणीय असरको कथा भन्छ।
  • फिल्म 'पहाड' बाट उनकी छोरी भावना र पञ्चमीले नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका छन्, जहाँ भावना निर्माण नियन्त्रक र पञ्चमी शीर्ष अभिनेत्री बनेकी छिन्।
  • भावना र पञ्चमीले बुबाको लिगेसीलाई अघि बढाउने योजना बनाएका छन् र महिला सहभागिता बढ्दै गएको संकेत देखिन्छ।

काठमाडौं । नेपाली फिल्मका अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘पहाड’ अहिले प्रदर्शनमा छ । यो उनको २४औँ फिल्म हो, जसले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ ।

यसपटक ‘पहाड’ कथामात्र होइन, घिमिरे परिवारका लागि पुस्ता हन्तान्तरणको विन्दू पनि हो । यही फिल्मबाट उनकी दुई छोरी भावना र पञ्चमीले नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका छन् ।

जेठी छोरी भावना पर्दा पछाडि निर्माण नियन्त्रकको रूपमा छिन् भने कान्छी पञ्चमी शीर्ष अभिनेत्रीको भूमिकामा । एउटै फिल्ममार्फत बुबासँग सहकार्य गर्दै दुवै बहिनीले आफ्नो यात्रा सुरु गरेका हुन् ।

मुम्बईमा वर्षौं काम र तालिम लिएपछि नेपाल फर्किएका उनीहरू अब यही उद्योगमा भविष्य खोज्ने तयारीमा छन् । भावना भन्छिन्, ‘मुम्बईमा सिकेको अनुभवलाई यहाँ प्रयोग गर्ने मौका पाएँ । ‘पहाड’ मेरो लागि सिकाइलाई व्यवहारमा उतार्ने प्लेटफर्म बन्यो ।’

उनले बलिउडमा विज्ञापन फिल्म र सेट डिजाइनमा काम गरेको अनुभवले आफूलाई धेरै सहयोग पुगेको बताइन् । ‘बुवासँग काम गर्दा अझ धेरै सिक्ने अवसर मिल्यो । उहाँको काम गर्ने तरिका नै एउटा पाठशाला जस्तो लाग्छ’ उनी भन्छिन् ।

अर्कोतर्फ, पञ्चमीले अभिनयमार्फत आफ्नो उपस्थिति जनाएकी छन् । ‘पहाड’मा उनले गाउँमै बसेर संघर्ष गर्ने युवतीको भूमिका निर्वाह गरेकी छन्, जसलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् ।

यो यात्रा उनको लागि दबाबमुक्त भने छैन । ‘मैले त निकै प्रेसर महसुस गरिरहेकी छु । बुवाको त्यो लिगेसीलाई अघि बढाउनुपर्नेछ,’ पञ्चमी भन्छिन्, ‘फिल्म हेरेपछि दर्शकले अर्को फिल्म राम्रोसँग गर्नु है भनेर दिएको सल्लाहले झन् जिम्मेवारी बढाएको महसुस हुन्छ ।’

नयाँवर्ष २०८३ को पहिलो दिनदेखि प्रदर्शनमा आएको फिल्मपछि उनी हल भिजिटमार्फत दर्शकसँग प्रत्यक्ष संवादमा व्यस्त छिन् । भावना पनि यही अनुभव दोहोर्‍याउँछिन् । ‘अवश्य पनि दबाब त हुन्छ नै,’ उनी भन्छिन्, ‘तर हामी राम्रोसँग अघि बढाउने प्रयास गर्छौं ।’

दुवै बहिनीका लागि फिल्म क्षेत्र नयाँ होइन । बाल्यकालदेखि नै उनीहरू फिल्म र संगीतको माहोलमा हुर्किएका हुन् । बुबा तुलसी निर्देशक, आमा भारती अभिनेत्री, सम्पादक र गायिका तथा हजुरबुबा रञ्जित गजमेर संगीतकार भएका कारण यो वातावरणले उनीहरूलाई फिल्मतर्फ तान्यो ।

पञ्चमी भन्छिन्, “हामी सानैदेखि यही वातावरणमा हुर्कियौं । त्यसैले फिल्ममा आउनु स्वाभाविक जस्तै भयो ।” दुवैजनाले अब बुबाको लिगेसीलाई इमान्दारीपूर्वक अघि बढाउने बताएका छन् । भविष्यमा आफ्नै होम प्रोडक्सन फिल्म बनाउने, निर्देशनमा हात हाल्ने र राम्रो प्रोजेक्ट आए अन्य ठाउँमा पनि काम गर्ने योजना उनीहरूको छ ।

पञ्चमी भन्छिन्, “हामीलाई थाहा छ, बुवाको नामसँग जोडिएपछि अपेक्षा पनि ठूलो हुन्छ । त्यो पूरा गर्न मेहनत गर्नुपर्छ भन्ने बुझाइ छ ।” पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सेलिब्रेटी सन्तानको प्रवेश बढ्दो छ । तर ‘पहाड’बाट आएका भावना र पञ्चमीको आगमन केवल लिगेसीको निरन्तरता मात्र होइन, फिल्म निर्माण र अभिनय दुवै क्षेत्रमा महिला सहभागिता बढ्दै गएको संकेत पनि हो ।

यस हिसाबले ‘पहाड’ एउटा कथाभन्दा बढी, पुस्ता परिवर्तनको साक्षी बनेको फिल्म हो, जहाँ पुरानो अनुभव र नयाँ ऊर्जा सँगै अघि बढिरहेका छन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?