+
+
Shares
तुलसी घिमिरेसँग संवाद :

‘राजा महेन्द्रको गाउँ फर्क अभियानबाट प्रेरित भएर ‘पहाड’ बन्यो’

'सरकारले देश फर्क भन्ने मात्र होइन, माहोल बनाउन थालिहाल्नुपर्छ’

धेरै अघि राजा महेन्द्रको पालामा चलेको ‘गाउँ फर्क अभियान’ को टपिक मन परेर लेखिरहेका थियौं । अलिकति हाम्रो ‘प्रब्लम्स’को कुरा गरौं भन्ने कुरा लिएर यो कन्सेप्ट सुरु गरेका हौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:२२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुलसी घिमिरेले फिल्म 'पहाड' मार्फत युवा पलायन र गाउँको रित्तिँदो अवस्थालाई चित्रण गर्दै विदेशिएका नेपालीलाई देश फर्किन आह्वान गरेका छन्।
  • 'पहाड' फिल्मले नयाँ सरकारको विदेशिएका नेपालीलाई फर्काउने नीतिलाई समर्थन जनाउँदै गाउँ फर्क अभियानलाई पुनः जीवन्त बनाउने प्रयास गरेको छ।
  • निर्देशक तुलसी घिमिरेले आफ्ना छोरीहरू पञ्चमी र भावना लाई 'पहाड' फिल्ममा डेब्यू गराएका छन् र उनीहरूको कामलाई सकारात्मक मूल्याङ्कन गरेका छन्।

नेपाली फिल्मको कथ्य परम्पराका एक ‘पाठशाला’ हुन् तुलसी घिमिरे । दृश्यभाषामा नेपाली समाज, संस्कृति र संवेदनालाई सरल र हृदयस्पर्शी ढंगले चित्रण गर्नु उनको खुबी हो । गाउँघरको परिवेश, पारिवारिक सम्बन्ध, माया, त्याग र पीडाको कथामार्फत उनी दर्शकसँग स्पर्श गर्छन् । ‘बाँसुरी’बाट सुरु भएको उनको फिल्म यात्रा ‘कोसेली’, ‘चिनो’, ‘देउता’, ‘दक्षिणा’, ‘बलिदान’ र ‘दर्पण छायाँ’ हुँदै ‘पहाड’सम्म आइपुगेको छ । १ बैशाखमा देशब्यापी रिलिज हुने फिल्मले विदेशिएका नेपालीलाई देश फर्किन आह्वान गर्छ । ‘नेपालीपन’ लाई केन्द्रमा राखेर फिल्म निर्माण गर्ने परम्परा बलियो बनाएका घिमिरेले सिनेमालाई मनोरञ्जन भन्दा समाजको कथा भन्ने माध्यमको रुपमा पेश गर्छन् । यी आयाममा अनलाइनखबरकर्मी विष्णु शर्माले निर्देशक घिमिरेसँग संवाद गरेका छन् :

‘पहाड’ मार्फत तपाईंले उठाउनुभएको युवा पलायन र रित्तिँदै गएका गाउँको विषय आजको नेपालमा निकै संवेदनशील छ । यो कथा भन्न तपाईंलाई के कुराले प्रेरित गर्‍यो ?

यो सबै पहाडको कथा हो । जति पनि पहाड छन्, त्यो गढवालको पहाड, आसामको पहाड पनि हुनसक्छन् । सबै रित्तिँदै गएका छन् । पिता पुर्खाले भस्मे फाँडेर बनाएका जग्गा जमिन फेरि जंगल हुँदैछन् । यसकारण कमब्याक, कमब्याक (फर्क) भनेर धेरै अघि राजा महेन्द्रको पालामा चलेको ‘गाउँ फर्क अभियान’ को टपिक मन परेर लेखिरहेका थियौं । त्यतिबेला फिल्म बनाउने कुरा पनि आएन । मन परेको विषय थियो । हामी दुई चार ठाउँमा जाँदाखेरी एकदमै कहालीलाग्दो गाउँहरू देख्यौं । गाउँ राम्रा छन् तर सबै बनमारा पलाइसक्या छ । काँस पलाइसक्या छ, राम्रा-राम्रा जुन घर छन्, ती भत्किएर गैसक्या छन् । बुट्टाहरू भएका घर कति राम्रा, कति रहरले बनाएका होलान् ? त्यहाँ बुढाबुढी मात्र छन् । सन्तान कोही अमेरिकामा, कोही अस्ट्रेलियामै बसे भन्छन् । फर्किन पनि छोडेछन् । हाम्रो काम फिल्म बनाउने हो । मनोरञ्जन दिने फिल्म । त्यसमा पनि हाम्रो आफ्नो, अलिकति हाम्रो ‘प्रब्लम्स’को कुरा पनि गरौं भन्ने कुरा लिएर यो कन्सेप्ट सुरु गरेका हौं ।

तपाईंका अघिल्ला फिल्ममा पनि गाउँ, सम्बन्ध र मानवीय संवेदना बलियो रूपमा देखिन्छन् । ‘पहाड’ ती फिल्मसँग कसरी जोडिन्छ र कहाँ फरक छ ?

‘यहीँ छ मेरो आमाको सपना
यही माटोमा छ पुर्खाको हाड
शताब्दी शताब्दी के पर्खन्छ
मधेशको माटोमा उभिएको पहाड’

यो निचोड कस्तो हो भने, आमाको सपना र बाउको सपना यही माटोमा उनीहरूले हुर्काएका थिए । हाम्रा बाउहरूले गरेको मिहेनत पनि त्यहीँ छ । पलायन भएको मान्छेलाई पर्खिराखेको छ । प्रायः विदेशमा गएका मान्छेलाई सोध्दा उनीहरूको जवाफ हुन्छ- बाध्यता, देशमा माहोल भएन र बाध्यताले यहाँ आएको हो । त्यसलाई बहाना भनौं । प्रश्न के आउँछ भने- कसले बनाउने त्यो वातावरण ? कसले बनाउने त्यो माहोल ? त्यहीँ छोडेर आएको बुढाबुढीले ? त्यहीँ छाडेर आएको आइमाइ केटाकेटीले ? माहोल चेन्ज गर्न त युथ चाहिन्छ नि । बुढापाकाको अनुभव र युथको पावर, स्ट्रेन्थले कुनै पनि ठाउँको माहोल बदल्न सकिन्छ । त्यो अकाट्य सत्य हो । यो माहोल बदल्ने हो भने युवा फर्किन्छ । केही न केही गरौं न त भन्न मन लागेको हो यो ‘पहाड’ बाट । माहोल बदलिएपछि भन्नै पर्दैन, घर त फर्किन सबैलाई मन लागिहाल्छ नि ।

नयाँ सरकारले विदेशिएकालाई फर्काउँछु भनेर भनिरहेको छ । यो कुरालार्ई फिल्मले समर्थन जनाउने हो ?

जुन नयाँ ‘वेभ’ आएको छ नि, त्यो निकै बलियो छ । हामीले सोचेको र अपेक्षा गरेको ‘वेभ’ हो । हामीले भन्न खोजेको पनि यही हो- त्यो भएर आउँदा पनि हामी उत्साहित छौं । हामीले भन्न खोजेको कुरा कार्यान्वयन हुँदैछ भन्ने महसुस गरेका छौं ।

वैदेशिक रोजगारीले ल्याएको आर्थिक लाभ र त्यससँगै आएको सामाजिक क्षतिबीच ‘पहाड’ले कस्तो सन्तुलन देखाउन खोजेको छ ?

विदेशमा गरेजस्तै मिहेनत नेपालमा गरेमा उनीहरूले डबल कमाउँछन् । यो शतप्रतिशत हुने कुरा हो । अकाट्य सत्य हो यो । खाडी मुलुकमा गधा चराउन गएका नेपालीलाई मैले देखेको छु । त्यहाँ गएर गधा चराउनुभन्दा आफ्नो गाउँमा गाई चरायो भने फाइदाजनक काम हुन्छ । घरको छेउमा बसेर गर्दा फाइदा पनि छ । मैले भन्न खोजेको- देश बनाउने हो भने आउनैपर्छ । रेमिट्यान्सले जुन बाँचेको छ नि- कतिपय कुरा नमिठो सुनिन्छ । दाजुभाइहरूले जुन पाराले कमाएर पठाउँछन् नि, त्यो दुःख लाग्दो छ । पाँच, दश प्रतिशत होला राम्रो गरेको तर, अरु दुःख गरेकै छन् । मलेसियामा कहालीलाग्दो छ स्थिती । तीतो सत्य के छ भने- बम्बे, कोलकाताको रेड लाइट एरियाबाट पनि रेमिट्यान्स आउँछ । त्यो अझ कहालीलाग्दो छ । त्यो बन्द हुनुपर्छ । विदेशमा गोर्खाली मिहेनत गर्ने जात र एकदमै निडर जात भनेर चिनिन्छ । त्यही जात नै हामीभित्र छ । यसो गर्दा हुन्छ भनेर हामीले फिल्मबाट सुझाव चाहिँ दिन्छौं ।

तपाईं आफैंले कथा, पटकथा र संवाद लेख्नुभएको छ । यसले फिल्मको भाव र प्रस्तुतीकरणमा कस्तो फरक पार्‍यो ?

संवाद चाहिँ म आफैले लेखेको भन्नुपर्छ भन्दिन म । जस्तै, विपिन भाइ (अभिनेता विपिन कार्की) लाई तिम्रो यो क्यारेक्टर हो, भन्नुपर्ने यो हो, तिम्रो आफ्नो भाषामा भन अब । यो सजिलो हुन्छ । मदनकृष्ण श्रेष्ठको आफ्नो स्टाइल छ नि त । मदनजीको एउटा थेगो छ- आत्मबल त छ तर हातमा बल छैन (हाँस्दै..) । मलाई महसुस हुन्छ- उहाँ कति राम्रो गर्ने कलाकार । सुनील, उसलाई म कहिल्यै पनि स्वर्गीय भन्न चाहन्न । ऊ सँधै हामीमाझ बाँच्छ । ‘चिनो’ पछि हामीले यसमा काम गरेका हौं । यति राम्रो मित्रता । प्रसंग पनि मिलेको थिएन ।

मैले उसलाई राते काइँला भन्दा पनि राम्रो बलियो रोल चाहियो भनेको थिएँ । अनि, ‘पहाड’को यो रोल गर्न सुझाएको थिएँ । अलिकति दोहोरो चरित्र- बाहिर हेर्दा बाघजस्तो, भित्र स्याल । त्यो चरित्र भएको मान्छेको रोल गर भन्दा ऊ उत्साहित थियो । डबिङ गर्दा पनि उसले भन्दै थियो- यार मजा आयो । अरुण भाइ (अरुण क्षेत्री) पूर्णरुपमा हिरो प्याकेज । भुवन केसी, शिव श्रेष्ठ, अर्जुनजंग शाही, राजेश हमाल ‘हिरो मटेरियल’ थिए । त्यो विशेषता मैले अरुण भाइमा देखेको छु । पञ्चमी (तुलसीकै छोरी पञ्चमी घिमिरे) लाई हुन त नेपोटिज्म भनिन्छ होला । तर, फिल्म हेरिसकेपछि महसुस हुन्छ- यो नेपोटिज्म होइन रहेछ, सक्षम भएर लिएको । रेणुनाथ योगी नानी, जनि पनि छन्, उनीहरूले राम्रो सपोर्ट गरेका छन् ।

‘आप्पा’ पछि तपाईंको निर्देशनमा आएको यो फिल्मलाई धेरैले कमब्याकका रूपमा हेरेका छन् । तपाईं आफैंले यसलाई कसरी लिनुभएको छ ?

सुरुमा त ‘डाइरेक्टर’ भएर नै पसेको थिएँ । नयाँ पुस्तासँग काम गर्दाखेरी, विद्यार्थी भएर काम गरेँ मैले । म धेरै पुरानो सोचमा बग्दो रहेछु, उनीहरूले सच्याइदिन्छन् । सच्चिँदै, सच्चिँदै गएर मेरो भन्दा पनि टिम वर्क भयो । हामी सबैको भन्नुपर्छ मैले ।

नेपाली फिल्मको स्वर्णयुगदेखि आजसम्मको तपाईंको यात्रा लामो छ । अहिलेको फिल्ममेकिङ र पहिलेको मेकिङबीच तपाईंले सबैभन्दा ठूलो परिवर्तन के देख्नुहुन्छ ?

पहिला हाम्रो सोच सीमित थियो । यसरी उडेर, तारमा झुन्डिएर, त्यहाँबाट तल झर्छ, बिजुलीको करेन्टले जिउ जल्छ । यस्तो कुरा छायांकन गर्न सम्भव हुँदैन । तर, अहिलेको प्रविधिले सबैकुरा सहजरुपमा गरिदिन्छ । हामीले त्यतिबेला सेल्युलोइड ‘सिक्सटिन’मा गराउँथ्यौं सस्तोमा । तर, अहिले हिन्दी फिल्मको टेक्नोलोजीमा बनाइराखेका छौं । त्यो धेरै सजिलो छ । सीपयुक्त जनशक्ति आएका छन् । अहिले नेपाली फिल्मको कथावाचनको गोल्डेन टाइम हो ।

अहिलेका दर्शकलाई कथाभित्र तान्नका लागि तपाईंले के-कस्ता प्रस्तुतीकरणका उपाय अपनाउनुभएको छ ?

हाम्रो परिवेशका कुरालाई रोचक पाराले राख्यो भने त्यो ‘इन्ट्रेस्टिङ’ हुन्छ शतप्रतिशत । संस्कृतिमा आधारित र समाजको उतारचढावको कुरालाई लिएर बनाएको चाहिँ राम्रो सफल भएका छन् । केही आयातित सोच (इम्पोर्टेड थट्स) चलेका छैनन् । अलिकति हिन्दी र मद्रासी फिल्मको नक्कल, कथाको मर्म तोडेर कथाको गति छिटो गरिदिने, यी सबै विचार ममा पनि आएका थिए । ‘स्लो’ भयो भन्ने कुरा पनि आएका थिए । तर, यति त भन्नुपर्छ मैले । जेनजी भनौं वा बुढापाका भनौं, यो वर्ग सबैले हेर्छन् फिल्म । ‘पहाड’ कुनै वर्ग विशेष भन्दा पनि सबैको लागि हो । यसमा प्रस्तुतिकरणमा जुन क्यारेक्टर विपिन भाईले गर्नुभएको छ । जुन क्यारेक्टर सुनील, अरुणले गर्नुभएको छ, त्यो निकै रोचक छ । कथावाचनको आफ्नै गति छ । उनीहरूको प्रस्तुतिकरणले आफ्नै गति दिएको छ ।

यही फिल्मबाट तपाईंकी कान्छी छोरी पञ्चमी र जेठी छोरी भावनाले नेपाली फिल्ममा डेब्यू गर्नुभएको छ । दुवै छोरीलाई फिल्ममा ल्याउने निर्णय कसरी भयो र उनीहरूको कामलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभयो ?

बम्बेमा जुन संघर्ष गरेर सिके यिनीहरूले । हामीले सुरु गर्दा, गास बाससँगै अरु कुराको स्ट्रगल गर्‍यौं होला । तर, यिनीहरूले नयाँ प्रविधिसँग काम गर्न जुन संघर्ष गरे, अनि मच्योर्ड पनि भए । प्रोडक्सन डिजाइनमा मलाई सघाउन भावना आइन् । पञ्चमीलाई हिरोइन बनाउनुपर्छ भनेर धेरैले सुझाव पनि दिए । छोरीहरूले भनेनन् तर उनीहरूमा रहर चाहिँ रहेछ । अनि मैले हेर नानीहरू प्रोसेस त त्यही हो, तिमीहरूले के कति गर्न सक्छौ भनेर भनेँ । सक्यौ भने, आऊ । उनीहरूलाई डेब्यू गराउने राम्रो मौका पनि यो थियो । मदनकृष्ण, सुनील थापा, विपिन भाइ, अरुणजस्ता मच्योर्ड मान्छेसँग । दुई पुस्ताका कलाकारसँग काम गर्ने मौका । हल्का डर पनि थियो कि यिनीहरू नर्भस पनि हुन्छन् कि भनेर । उहाँहरूले जुन स्नेहले यो काम गराए नानीहरूलाई, त्यो हेर्दाखेरी निर्णय सहि थियो ।

तपाईंलाई नेपाल सरकारले मानार्थ नागरिकता दिने चर्चा छ । तपाईंको प्रतिक्रिया के छ ?

यो प्रसंग मलाई जसले पनि सोध्ने गर्छ- तपाईंको नागरिकता भयो भनेर । मलाई यो कुरा माया जस्तो लाग्छ । त्यो प्रश्नले नै मलाई नागरिकको रुपमा स्वीकार गरेको हो नि त । भावनात्मक शैलीमा भन्नुपर्दा- यो मेरो आमाको देश । मेरो मावला । नेपाल भनेको मेरो हजुरआमा । आमाको काखमा त थिएँ नि म । मावलामा आउँदाखेरी हजुरआमाले काखमा लिएको जस्तो हुन्छ के मलाई मानार्थ नागरिकता दिँदा । तिमी हाम्रो हौ भन्ने भावना छ यसमा । यो न्यूज आउने वित्तिकै मलाई, धेरैले बधाई पनि दिनुभयो । त्यसपछिको प्रतिक्रिया आयो नि, त्यो पढ्दा म भावुक भएँ । मलाई आधिकारिकरुपमा कसैले भनेको पनि छैन । यत्ति मात्र थाहा पाएँ कि मेरो फाइल गृह मन्त्रालयमा अड्केको थियो रे । त्यो कसैले सकारात्मकरुपमा अगाडि बढाइदिएको छ रे । यत्ति मात्र सूचना पाएको छु । आधिकारिरुपमा कुनै पत्र मसँग छैन अहिले ।

‘पहाड’ हेरेपछि दर्शकले के महसुस गर्नुपर्छ र समाजका लागि यो फिल्म किन आवश्यक छ ?

यो समाज बदलिने कुरा त निश्चय नै होइन । तर, यो ‘पहाड’ फिल्म हेरिसकेपछि के महसुस गराउँछ भने यो पाटोमा पनि हामीले सोच्ने हो कि होइन । कमब्याक, कमब्याक, कमब्याक भनेर मात्र हुन्छ त ? त्यो माहोल छ कि छैन ? त्यो माहोल बनाउनु पनि पर्छ । त्यो माहोल बनाउनको लागि पनि फर्कनुपर्छ । कसैको बाध्यता छ, फर्किन सक्दैनन् । फर्किन सक्नेले अब फर्किए राम्रो । त्यो सोच दिन्छ । राजा महेन्द्रको गाउँ फर्क अभियानलाई यसले ‘क्यारी अन’ गर्छ । हाम्रो गाउँमा बाजे, काका, बाबाहरूले बसेर कुरा गर्थे । गाउँबाट हामी ताजा निगुरो, सिमी, दूध र राम्रा चीज सहर पठाउँछौं । सहरले हामीलाई, डाक्टर-इन्जिनियर र शिक्षक देला कि भनेको त जम्मै उतै पो हराउँदा रहेछन् । उहाँहरूको त्यो गफ हुन्थ्यो । यहाँ भन्दा राजा महेन्द्रको गाउँ फर्क अभियान नर्थइस्ट कालिम्पोङ, दार्जिलिङतिर पपुलर भएको थियो । त्यतिबेला यो स्लोगन रेडियो नेपालमा बजिरहन्थ्यो । यो कुरा हाम्रो अवेचतन मनमा बसिराख्यो । नेपालमा पलायन कहिलेदेखि सुरु भएको हो भनेर हेर्दै जाँदाखेरी, ‘मुनामदन’मा देवकोटाजीले राम्रो ढंगले चित्रण गर्नुभएको रहेछ । ‘पहाड’ले सबैलाई प्रश्न गर्छ- कृपया गाउँ फर्किनूस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?