+
+
Shares

चिकित्सक संघमा फेरियो चुनावी शैली : दल होइन, व्यक्तिका प्यानल

नेपाल चिकित्सक संघ (एनएमए) को ३०औँ कार्यकारिणीका लागि हुने चुनावमा चिकित्सकहरू परम्परागत राजनीतिक पहिचानभन्दा फरक ढंगले ‘टिम’ को नाममा चुनावी मैदानमा उत्रिएका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ वैशाख ३ गते २१:२२
बायाँबाट क्रमशः बद्री रिजाल, मंगल रावल र नारायणप्रसाद भुसाल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चिकित्सक संघको ३०औँ कार्यकारिणीका लागि टिम बद्री, टिम मंगल र टिम रिर्फम नामका तीन प्यानलबीच चुनाव हुँदैछ।
  • चिकित्सक संघको चुनावमा राजनीतिक छायाबाट मुक्त भएर व्यक्तिगत योग्यता र कार्ययोजनामा आधारित नेतृत्व चयनको प्रयास भइरहेको छ।
  • टिम बद्रीले सात दशकको विरासत जोगाउने, टिम मंगलले आन्तरिक सुधार र कानुनी व्यवस्थापन, र टिम रिर्फमले स्वतन्त्र चिकित्सक संगठन निर्माणको एजेन्डा बोकेको छ।

३ चैत, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को चुनाव यसपटक फरक माहोलमा हुँदैछ ।

वर्षौँदेखि राजनीतिक छायामा हुँदै आएको संघको चुनाव यसपटक नयाँ शैलीमा देखिएको छ । एनएमएको ३०औँ कार्यकारिणीका लागि हुने चुनावमा चिकित्सकहरू परम्परागत राजनीतिक पहिचानभन्दा फरक ढंगले ‘टिम’ को नाममा चुनावी मैदानमा उत्रिएका छन् । आगामी चुनावमा टिम बद्री, टिम मंगल र टिम रिर्फम (नारायण) नेतृत्वका तीन प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।

पछिल्लो समय देशको राजनीतिमा आएको परिवर्तन र चिकित्सकहरूबीच देखिएको एकताको संकेतले संघको चुनावी संस्कृतिमा पनि प्रभाव पारेको देखिन्छ । विशेषगरी २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि बनेको नयाँ राजनीतिक समीकरणले चिकित्सकहरूको पेसागत संगठनमा पनि नयाँ सोचको बहस सुरु गराएको छ ।

राजनीतिक छायामा हुन्थ्यो चुनाव

यसअघि संघको चुनाव राजनीतिक दलहरूको छायामा हुने गरेको थियो । नेपाली कांग्रेससँग निकट मानिने चिकित्सकहरूले ‘प्रजातान्त्रिक’ नामको प्यानल बनाउँथे । कम्युनिस्ट विचारधारासँग निकट चिकित्सकहरूले ‘प्रगतिशील’ प्यानल खडा गर्थे ।

मतदान गर्ने चिकित्सकहरू पनि प्रायः उम्मेदवारको व्यक्तिगत क्षमता वा कार्ययोजनाभन्दा राजनीतिक आस्थाका आधारमा मत हाल्ने परिपाटीमा अभ्यस्त थिए । यसले गर्दा एनएमएको निर्वाचन पेसागत प्रतिस्पर्धाभन्दा राजनीतिक प्रतिस्पर्धाजस्तो देखिन थालेको थियो ।

राणा शासनको अन्त्यसँगै २००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ देशकै सबैभन्दा पुराना पेसागत संस्थामध्ये एक हो ।

डा. सिद्धिमणि आचार्य दीक्षितको अध्यक्षतामा नेपाल चिकित्सक संघको १३ सदस्यीय कार्यसमिति ।

चिकित्सकहरूको पेसागत हक–अधिकार, मर्यादा र स्वास्थ्य सेवाको गुणस्तर जोगाउने उद्देश्यले गठन गरिएको थियो । एमएमए सात दशकभन्दा लामो यात्रामा देशका हरेक राजनीतिक उतार–चढावसँग जोडिँदै आएको छ ।

कहिलेकाहीँ पेसागत आवाज मात्रै होइन, राजनीतिक परिवर्तनका आन्दोलनहरूमा समेत भूमिका खेलेको इतिहास संघले बोकेको छ ।

तर, समयसँगै देशमा राजनीतिक परिवर्तन हुँदै गयो, नयाँ दल र विचारधाराहरू जन्मिए । चिकित्सा क्षेत्रमा पनि फरक राजनीतिक विचार बोकेका चिकित्सकहरू देखिन थाले । त्यसका बाबजुद नेपाल चिकित्सक संघको नेतृत्व अहिलेसम्म मुख्यतः ‘प्रजातान्त्रिक’ समूहकै हातमा केन्द्रित रहँदै आएको छ ।

अन्य राजनीतिक धारका चिकित्सकहरू चुनावी प्रतिस्पर्धामा नउत्रिएका होइनन् । तर बहुमतको नेतृत्व भने उनीहरूले पाउन सकेका छैनन् ।

पेसागत नेतृत्व चयन गर्ने प्रक्रिया क्रमशः राजनीतिक प्रभावको घेरामा पुग्दा संघको सुरुवाती गरिमा क्रमशः कमजोर हुँदै गएको अनुभूति धेरै चिकित्सकहरूले गर्न थालेका छन् ।

‘टिम’ मोडेलको प्रयोग

यही पृष्ठभूमिमा यसपटकको चुनावमा ‘टिम’को अवधारणा देखिएको हो ।

यसले पुरानो राजनीतिक पहिचानलाई औपचारिक रूपमा अघि नराखी साझा नेतृत्वको अवधारणा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।

निर्वाचन कार्यक्रमअनुसार उपत्यकाबाहिर ४ र ५ वैशाखमा र उपत्यकाभित्र १८ र १९ मतदान समय तोकिएको छ ।

यद्यपि, प्यानलभित्रका नेतृत्व र उनीहरूको पृष्ठभूमि हेर्दा राजनीतिक झुकाव पूर्ण रूपमा हराइसकेको भने होइन । तर खुला रूपमा राजनीतिक नामबाट प्रतिस्पर्धा नगर्नु आफैंमा संघको चुनावी संस्कृतिमा आएको परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

यदि संघले आफूलाई राजनीतिक प्रभावबाट क्रमशः मुक्त बनाउन सके, त्यसले संस्थागत रूपमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

त्यस अवस्थामा नेतृत्व चयन व्यक्तिगत योग्यता, अनुभव, दृष्टि र कार्ययोजनामा केन्द्रित हुन सक्छ । राजनीतिक आस्थाभन्दा पेसागत क्षमताका आधारमा प्रतिस्पर्धा हुने संस्कृतिले संघभित्र स्वस्थ लोकतान्त्रिक अभ्यासलाई बल पुर्‍याउने छ ।

यसले लामो समयदेखि संघप्रति दूरी बनाइरहेका धेरै चिकित्सकलाई पुनः संस्थातर्फ आकर्षित गर्ने सम्भावना पनि छ ।

नेपाल मेडिकल काउन्सिलमा ४० हजारको चिकित्सक दर्ता भए पनि सात दशक लामो इतिहास बोकेको संघमा १७ हजार चिकित्सक मात्रै समावेश हुन सकेका छन् । जसमध्ये यसअघिका चुनावलाई हेर्दा ५० देखि ६० प्रतिशत मात्रै भोट खस्ने गरेको छ ।

राजनीतिक आधारमा नेतृत्व चयन हुने अभ्यास बलियो हुँदै जाँदा संघप्रति आम चिकित्सकको उत्साह पनि घट्दै गएको देखिन्छ ।

विरासत जोगाउने टिम बद्री, रूपान्तरणको नारा बोकेको टिम मंगल र रिफर्म

टिम बद्री अनुभव लिएर मैदानमा उत्रिएका छन् भने अन्य दुई पक्षधर (टिम मंगल र टिम रिर्फम पक्ष) पुस्तान्तरणसहित रूपान्तरणको नारा बोकेर चुनावमा होमिएका छन् ।

१३ पदाधिकारी र ६ सदस्यका लागि ४९ उम्मेदवार मैदानमा छन् । टिम बद्रीले सात दशकको विरासत जोगाउने र अन्य दुई पक्षघर समूहले नयाँ मतदाता र परिवर्तनको एजेन्डा बोकेर किल्ला भत्काउने दाउमा छन् ।

तर, यसपटक टिम बद्रीको समूहलाई केही चुनौती थपिएको छ । टिम मंगल र टिम रिफर्म पक्षबाट उठेका उम्मेदवारले भोट काट्दा चुनावी प्रतिस्पर्धा बलियो हुने देखिन्छ ।

यसअघि टिम नै गठन गर्न मुस्किल पर्ने अन्य पक्षधरले यसपटक भने चर्चित डाक्टर आफ्ना टिममा समावेश गरेका छन् । हुन त, आफ्नो आस्था र परम्परागत भोट मात्रै जोगाउन सक्यो भने पनि डा. टिम बद्रीको समूहलाई हराउन त्यति सहज भने छैन ।

डा. बद्री रिजाल ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् । डा. रिजाल हाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

महासचिवदेखि वरिष्ठ उपाध्यक्ष भएर काम गरेका उनले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट एमबीबीएस र हाडजोर्नी विषयमा स्नातकोत्तर गरेका छन् ।

चिकित्सकमाझ लोकप्रिय र सरल छवि भएका डा. रिजालले अघिल्लो कार्यकालमा पनि लोकप्रिय मत ल्याएका थिए ।

लामो समय संघमा बसेर काम गरेको अनुभवका आधारमा अझै काम गर्न सकिने उद्देश्यले चुनावी मैदानमा होमिएको डा. रिजाल बताउँछन् ।

टिम बद्रीले चिकित्सकहरूको पेसागत हक–अधिकार, कार्यसमय र सेवा सुविधाका मुद्दा अघि सारेको छ ।

डाक्टरहरू अत्यधिक मानसिक दबाब र कार्यभारमा रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने एजेन्डा आफ्नो प्राथमिकतामा रहेको डा. रिजाल बताउँछन् । टिम बद्रीले अन्य सरकारी कर्मचारीसरह चिकित्सकलाई पनि सातामा दुई दिन बिदाको व्यवस्था हुनुपर्ने विषय प्रमुख रूपमा उठाएको छ ।

चिकित्सकको कार्यसमयलाई व्यावहारिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै अस्पतालमा ‘९ देखि ५’ को सामान्य कार्यालय समय लागु गर्दा त्यसअनुसार पारिश्रमिक र जनशक्ति व्यवस्थापन पनि गर्नुपर्ने डा. रिजालको भनाइ छ ।

‘चिकित्सकलाई लगातार आपतकालीन सेवा, रातभरि अप्रेसन र भोलिपल्ट फेरि नियमित काममा लगाउने अवस्था श्रम शोषण जस्तै हुन्छ । मानिस मेसिन होइन, चिकित्सकलाई पनि पर्याप्त विश्राम आवश्यक हुन्छ,’ डा. रिजाल भन्छन् ।

राज्यले छात्रवृत्तिमा पढेपछि गरिने सेवा अवधि पाँच वर्षसम्म बढाउने प्रस्ताव ल्याइरहेको सन्दर्भमा उनी त्यसको विरोध गर्दै चिकित्सकलाई स्थायी सेवामा प्रवेश गर्ने स्पष्ट बाटो खुला गर्नुपर्ने धारणा राख्छन् ।

डा. रिजालका अनुसार चिकित्सकको पेसागत अधिकार, तालिम, सिप विकास, रेसिडेन्ट चिकित्सकको अवस्था सुधार लगायतका विषयमा टिम बद्रीले विगतदेखि काम गर्दै आएको छ । यही अनुभव, विश्वसनीयता र योजनाका आधारमा चिकित्सक समुदायले फेरि विश्वास गर्ने अपेक्षा राखेको डा. रिजाल दाबी गर्छन् ।

त्यस्तै टिम मंगल रूपान्तरणको नारा बोकेर मैदान होमिएको छ ।

डा.मंगल रावल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का पूर्वउपकुलपति हुन् ।

रावलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट हाडजोर्नी विषयमा स्नातकोत्तर गरेका छन् । युवा चिकित्सक साथै उपकुलपति भएर राम्रो काम गरेकाले पनि डा. मंगललाई निकै बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।

जुम्लामा एमबीबीएस अध्ययन सुरु गराउनदेखि अस्पताल विस्तारमा डा. रावलले योगदान पुर्‍याएका छन् ।

संघमा रहेको परम्परा तोड्ने मुख्य एजेन्डासहित आफू चुनावी मैदानमा उत्रिएको डा. मंगल बताउँछन् । पछिल्ला करिब दुई दशकमा एनएमएको नेतृत्व राजनीतिक धार वा समूहगत आधारमा सञ्चालन हुने प्रवृत्ति बलियो भएको छ । त्यसले संस्थालाई एकाध समूहको नियन्त्रणमा सीमित बनाएको डा. मंगलको आरोप छ ।

‘एउटै समूहले लामो समय संस्था चलाउँदा मोनोटोनस भयो, अपेक्षित प्रगति पनि भएन,’ डा. रावल भन्छन्, ‘त्यसैले नयाँ सोच र नयाँ अभ्यास सुरु गर्नुपर्ने आवश्यकता महसुस गरेर ‘टिम मंगल’ बनाइएको हो ।’

रावलका अनुसार राजनीतिमा सक्रिय हुन नचाहने तर पेसागत सुधारका लागि इच्छुक युवा तथा अनुभवी चिकित्सकलाई एक ठाउँमा ल्याएर टोली बनाइएको हो ।

डा. रावलले आफ्नो टोलीका मुख्य एजेन्डा दुई वटा मात्र रहेको बताए । ती हुन्- संघको आन्तरिक सुशासन सुधार र चिकित्सकका हक–अधिकार सुनिश्चित गर्ने कानुनी व्यवस्था कार्यान्वयन ।

रावलले संघको संरचनागत सुधारका लागि केही ठोस प्रस्ताव अघि सारेका छन् । उनका अनुसार अहिले एनएमएको अध्यक्ष बन्नका लागि लामो समय सदस्यता र पदानुक्रमको प्रक्रिया पार गर्नुपर्ने प्रावधान छ, जसले युवा चिकित्सकलाई नेतृत्वमा आउन अवरोध गरेको छ ।

‘संघको आन्तरिक संरचना सुधार नगरी चिकित्सकका अधिकारका मुद्दा प्रभावकारी रूपमा उठाउन सकिँदैन,’ डा. रावल भन्छन्, ‘युवा चिकित्सकले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न नपाउने अवस्थालाई हटाउनुपर्छ । पहिलो बैठकबाटै त्यस्ता प्रावधान हटाउने योजना छ ।’

डा. रावलका अनुसार सदस्यता शुल्क घटाएर धेरै चिकित्सकलाई संघमा आबद्ध गराउने, नियमित अडिट सार्वजनिक गर्ने र कामको प्रगति प्रतिवेदन अनलाइनमार्फत सार्वजनिक गर्ने योजना छ ।

चिकित्सकहरूको तलब, सुरक्षा र करिअर संरचनासम्बन्धी मुद्दा समाधानका लागि तयार पारिएको डा. बाराकोटी प्रतिवेदन कार्यान्वयन गराउनु आफ्नो अर्को प्राथमिकता रहेको डा. रावल बताउँछन् । उनी भन्छन्, ‘चिकित्सक ऐन ल्याएर तलब, सुरक्षा र करिअरका विषयलाई कानुनी रूपमा व्यवस्थित गर्ने लक्ष्य छ ।’

डा. नारायणप्रसाद भुसाल युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक हुन् । किस्ट मेडिकल कलेजमा कार्यरत डा. भुसालले ‘टिम रिर्फम’को नेतृत्व गरेका छन् ।

डा. भुसालले चिकित्सकहरूको साझा प्रतिनिधित्व गर्ने स्वतन्त्र र कुनै राजनीतिक ‘एलाइन्मेन्ट’ नभएको संगठन निर्माण मुख्य एजेन्डा भएको बताए ।

चिकित्सकहरूको पेसागत हकहित, सुरक्षा, सम्मान र करिअर विकासका मुद्दालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको डा. भुसाल बताउँछन् ।

उनका अनुसार चिकित्सकहरू विभिन्न समस्याले घेरिएका छन् । ‘करिअर ग्रोथदेखि आयआर्जन, पेसागत सुरक्षा र आत्मसम्मानसम्मका धेरै मुद्दा छन् । असन्तुष्ट, असुरक्षित र दबाबमा काम गरिरहेको चिकित्सकले देशको स्वास्थ्य प्रणालीलाई प्रभावकारी रूपमा सेवा दिन सक्दैन,’ डा. भुसाल भन्छन् ।

उनका अनुसार चिकित्सकहरू सन्तुष्ट नभएसम्म समग्र स्वास्थ्य प्रणाली सुधार सम्भव नहुने भएकाले चिकित्सकको पेसागत अवस्था सुधार्नु पहिलो प्राथमिकता हुनुपर्ने उनको धारणा छ ।

सरकारसँग सहकार्य गर्दै स्वास्थ्य क्षेत्र सुधारका पहललाई समर्थन गर्ने तर आवश्यक परे खबरदारी पनि गर्ने नीति लिने उनले बताए । ‘सरकारले राम्रो काम गर्‍यो भने हामी साथ दिन्छौं, नगरे खबरदारी गर्छौं,’ डा. भुसाल भन्छन् ।

यसअघिका निर्वाचनहरूमा प्रायः दुई प्यानलबीच प्रतिस्पर्धा हुने परम्परा रहेको उल्लेख गर्दै भुसाल आफूहरू भने स्वतन्त्र धारका चिकित्सकहरूको समूहका रूपमा चुनावी मैदानमा उत्रिएको दाबी गर्छन् ।

‘सुपर–स्पेसियालिटीदेखि क्लिनिकल अभ्यास गर्ने, आन्दोलनमा सक्रिय रहेका र विभिन्न पृष्ठभूमिका चिकित्सकहरू छन् । हामी नयाँ मात्रै होइनौं, विगतमा पनि चिकित्सकका मुद्दामा सडकदेखि विभिन्न आन्दोलनमा सक्रिय भएका साथीहरू टिममा छन्,’ डा. भुसालले दाबी गरे ।

अहिले चिकित्सक संघलाई समयअनुकूल सुधार र पुनर्संरचनाको आवश्यकता रहेको डा. भुसालको ठम्याइ छ ।

‘देशको परिस्थितिअनुसार संस्थाहरू पनि बदलिनुपर्छ । अहिले चिकित्सक संघमा सुधार आवश्यक छ । परिवर्तनका लागि हामी मैदानमा आएका हौं,’ डा. भुसाल भन्छन् ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?