२ पुस, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) राणा शासनको अन्त्यसँगै २० फागुन २००७ मा जन्मिएको देशकै एउटा पुरानो पेसागत संगठन हो ।
देशको लगभग सबैभन्दा पुरानो यस संस्थाको नेतृत्व भने अहिलेसम्म ‘प्रजातान्त्रिक’ समूहका डाक्टरहरूले मात्रै गर्दै आएका छन् । ती धेरैजसो नेपाली कांग्रेस निकट छन् ।
आफ्ना पेसागत हक–अधिकारका लागि डाक्टरहरूले बनाएको यो संगठन सात दशकभन्दा लामो यात्रामा देशका हरेक राजनीतिक आरोह–अवरोहहरूसँग ठोक्किएको छ ।
सात दशक बितिसक्दा पनि चिकित्सक संघमा भने कांग्रेसको त्यो ‘छाया’ अझै हट्न सकेको छैन । निरन्तर कांग्रेस निकट समूहले मात्रै संघमा वर्चश्व कायम गर्दै आएको छ ।
संघको ३०औं कार्यकारिणी समितिका लागि चिकित्सकहरू चुनावी मैदानमा छन् ।
संघको निर्वाचन काठमाडौं उपत्यका बाहिर आगामी २ र ३ माघ र काठमाडौं उपत्यकाभित्र १५, १६ र १७ माघमा हुनेछ ।
संघको निर्वाचनमा यतिबेला प्रजातान्त्रिक तथा प्रगतिशील विचारमा आस्था राख्ने चिकित्सक छुट्टाछुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् । आगामी निर्वाचनका लागि डा. मंगल रावलको टिमले उम्मेदवारी घोषणा गरिसकेको छ ।
त्यसैगरी डा. बद्री रिजालको नेतृत्वको टिम पनि चुनावी मैदानमा होमिएको छ ।
दुवै टिमले बुधबार संघको कार्यालयमा पुगेर निर्वाचन समिति समक्ष आफ्नो उम्मेद्वारी दर्ता गराएको छ ।
त्यसरी डा. रिजाल समूहबाट उम्मेद्धार बन्ने समूहबाट उम्मेदवारी दर्ता गर्नेहरुमा अध्यक्ष पदमा डा. बद्री रिजाल वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी रहेका छन् ।
कांग्रेस निकट मानिएका डा. रिजालको समूहबाट महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य छन् । त्यसैगरी सहसचिवमा डा. हुलास अग्रवाल र सह– कोषाध्यक्षमा डा. तेजसुसिह मल्लको उम्मेदवारी परेको छ ।
डा. दवाडीले यसअघि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । तर संस्थापन पक्षको सहमतिपछि डा. रिजाल र डा. तिवारीको टिममा महासचिव पदमा रहने निर्णय गर्दै उनले महासचिवमै उम्मेदवारी दिएका हुन् ।
उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशीबाट डा. रोशन खड्का, मधेश प्रदेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराईले उम्मेदवारी दिएका छन् ।
यस्तै लुम्बिनीबाट डा. नन्दा गुरुङ, गण्डकीबाट डा. नवराज लम्डारी र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी छन् ।
सदस्यहरूमा डा. पर्शुराम घिमिरे, डा. राकेश साह, डा. विना श्रेष्ठ, डा. सुमेध मिश्र र डा. सुस्मित काफ्ले छन् ।
राजनीतिक रूपमा अन्य पेसागत संगठनमा जस्तो दलीय दबदबा नदेखिए पनि संघको निर्वाचनमा आस्थाका आधारमा ठूलो संख्यामा प्रजातन्त्रवादी मतदाताको समर्थन छ । संघमा पूर्ण रूपमा रूपान्तरण चाहिएको भन्दै वर्तमान र विगतको नेतृत्वप्रति डा. रावलको समूह कडा रूपमा मैदानमा उत्रिएको छ ।
पछिल्ला वर्षमा प्रजातान्त्रिक (कांग्रेस निकट) समूहलाई चुनौती थपिँदै गएको छ । ३०औं कार्यकारिणी समितिको चुनावमा डा. रावलको समूहमा बलिया उम्मेदवार र महत्त्वाकांक्षी योजनाले गर्दा चुनावी प्रतिस्पर्धा बलियो हुने देखिन्छ ।
हुनत, आफ्नो आस्था र परम्परागत भोट मात्रै जोगाउन सक्यो भने पनि प्रजातान्त्रिक समूहलाई हराउन भने त्यति सहज छैन ।
प्रतिक्रिया 4