News Summary
Generated by OK AI. Editorially reviewed.- मेटा कम्पनीले कुल १६ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ।
- मेटाले एआई प्रविधिमा करिब १३५ अर्ब अमेरिकी डलर लगानी गर्दै आफ्नो भविष्यलाई \'एआई-फर्स्ट\' बनाउने रणनीति अपनाएको छ।
विश्वका दिग्गज प्रविधि कम्पनीहरूमा कर्मचारी कटौतीको लहर चलिरहेको छ । ओरेकलपछि अब फेसबुकको मातृ कम्पनी मेटाले समेत ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गर्नुले विश्वव्यापी प्रविधि उद्योगमा गम्भीर परिवर्तनको संकेत दिएको छ ।
समाचार अनुसार कम्पनीले आगामी दिनमा करिब १६ हजार कर्मचारीलाई हटाउने तयारी गरिरहेको छ । पहिलो चरणमा आगामी मे २० मा करिब ८ हजार कर्मचारीलाई विदा गरिनेछ ।
कर्मचारी कटौतीको यो कदम मेटाको खर्च कटौतीको प्रयासका रूपमा मात्र नभई एआई प्रविधितर्फको रणनीतिक रूपान्तरणका रूपमा समेत हेरिएको छ ।
मेटा कम्पनी विगत केही समयदेखि मार्क जुकरबर्गको नेतृत्वमा एआईको क्षेत्रमा आफ्नो प्रभुत्व स्थापित गर्न आक्रामक रूपमा अघि बढिरहेको छ। जेनेरेटिभ एआई, मेसिन लर्निङ पूर्वाधार तथा विशाल डेटा सेन्टरमा अर्बौं डलर लगानी गर्दै मेटाले आफ्नो भविष्यलाई ‘एआई-फर्स्ट’ बनाउने स्पष्ट संकेत दिएको छ ।
समाचार अनुसार मेटाले एआईको क्षेत्रमा यस वर्ष मात्र करिब १३५ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यस्तो अवस्थामा कम्पनीले आफ्नो कार्यशक्तिलाई छरितो तथा अटोमेटेट बनाउने रणनीति अपनाउँदै करिब १० प्रतिशतसम्म कर्मचारी कटौती गर्न सक्ने अनुमान गरिएको छ ।
रोचक पक्ष के हो भने मेटा कम्पनीले आर्थिक संकटका कारण कर्मचारी कटौती गर्न थालेको होइन । आर्थिक रूपमा बलियो हुँदाहुँदै पनि मेटाले यो कदम चालिरहेको छ । कम्पनीको वार्षिक आम्दानी र नाफा दुवै उच्च स्तरमा रहेपनि दीर्घकालीन प्रतिस्पर्धामा टिकिरहन लागत संरचना परिवर्तन अपरिहार्य भएको विश्लेषकहरू बताउँछन् ।
मानव कर्मचारी कटौती गर्ने मेटाको निर्णय वास्तवमा ‘कम मान्छे, बढी उत्पादन’ भन्ने नयाँ डिजिटल अर्थतन्त्रको सिद्धान्तसँग मेल खान्छ । जहाँ पहिले-पहिले धेरै जनशक्ति चाहिने कामहरू अहिले एआई प्रणालीमार्फत छिटो र सस्तो रूपमा सम्पन्न हुन थालेका छन् ।
कर्मचारी कटौतीको कदम मेटाका लागि नौलो र पहिलो भने होइन । सन् २०२२ र २०२३ मा कम्पनीले करिब २१ हजार कर्मचारी हटाएको थियो । जसलाई जुकरबर्गले कार्यदक्षता वर्ष अर्थात् इयर अफ इफिसिएन्सी भनेर व्याख्या गरेका थिए । तर २०२६ मा देखिएको कर्मचारी कटौतीको नयाँ लहर अझै गहन र संरचनात्मक देखिन्छ । किनकि यसपटकको कटौतीमा आर्थिक मन्दी होइन कि एआई तर्फको प्रविधिगत रूपान्तरण प्रमुख कारकको रुपमा देखिएको छ ।
प्रविधि क्षेत्रको सर्वव्यापी लहर, रोजगारी र अर्थतन्त्रमा नयाँ जोखिम
जनशक्ति कटौतीको यस्तो प्रवृत्ति मेटामा मात्र सीमित छैन । ओरेकल लगायत अन्य ठूला प्रविधि कम्पनीहरूले पनि हालै हजारौँ कर्मचारी हटाएका छन् । ओरेकलले भारतमा मात्रै करिब १२ हजार कर्मचारी कटौती गरेको छ । यस्तो कटौतीको मुख्य कारण चाहिँ एआईमार्फत कामहरूलाई स्वचालित बनाउनु नै रहेको छ । यसले अब विश्वभरको प्रविधि उद्योग एआईप्रेरित पुनर्संरचनाको चरणमा प्रवेश गरिसकेको संकेत गर्दछ ।
यस्तो कर्मचारी कटौतीको असर केवल विकसित देशहरूमा मात्र सीमित छैन । विकासशील मुलुकहरूमा रहेका आउटसोर्सिङ कामदारहरू अथा विशेषगरी एआई ट्रेनिङ र कन्टेन्ट मोडरेशनमा संलग्न जनशक्तिहरू सबैभन्दा बढी रोजगारी असुरक्षामा धकेलिएका छन् । अफ्रिकी मुलुक केन्याजस्ता देशहरूमा रहेका मेटाका सयौँ कामदारले जागिर गुमाउनुले पनि एआईको विस्तारसँगै सस्तो श्रममा निर्भर विश्व अर्थतन्त्रको पाटो समेत प्रभावित भएको देखाएको छ ।
विशेषज्ञहरूका अनुसार यदि विश्वमा कार्यस्थलबाट मानव जनशक्ति विस्थापित हुने यही प्रवृत्ति निरन्तर रह्यो भने यसले एआई लेअफ ट्र्यापको अवस्था सिर्जना गर्नेछ । यो त्यस्तो अवस्था हो, जहाँ कम्पनीहरूले दक्षता बढाउन कर्मचारी घटाउँछन् अनि दीर्घकालमा उपभोक्ता आय घट्दा समग्र मागमा नै असर पर्दछ । यसले विश्व अर्थतन्त्रमा असन्तुलन ल्याउने जोखिम रहेको विज्ञहरूको चिन्ता छ ।
विश्वमा पछिल्लो समय रोजगारीको स्वरूप पनि तीव्र रूपमा बदलिँदै गएको छ । एआई इन्जिनियरिङ, डेटा साइन्स र रोबोटिक्सजस्ता क्षेत्रमा अवसर बढ्दै जाँदा भविष्यमा उस्तै खालका दोहोरिने डिजिटल काम, ग्राहक सहायता तथा मध्यमस्तरीय व्यवस्थापनस्ता क्षेत्रहरू संकुचित हुँदै जाने देखिन्छ। यसले श्रम बजारमा सीप रुपान्तरणलाई अनिवार्य बनाएको छ । एजेन्सी
प्रतिक्रिया 4