News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले मूल्य बढ्नुअघि पेट्रोल पम्पहरूलाई अस्वाभाविक रूपमा दैनिक औसतभन्दा दोब्बरभन्दा बढी तेल वितरण गरेको तथ्यांकले देखाउँछ।
- निगमले १ चैतमा पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ मूल्य वृद्धि गरेपछि तेल बिक्री घटेको छ भने मूल्य बढ्नुअघि डिलरहरूले ठूलो मात्रामा तेल उठाएका थिए।
- उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले निगमभित्रको अनियमितता छानबिन गर्न संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।
१० वैशाख, काठमाडौं । सामान्यतया नेपाल आयल निगमले पेट्रोल पम्पहरूलाई दैनिक औसत २० देखि २५ लाख लिटर पेट्रोल र ४५ देखि ५० लाख लिटर डिजेल बिक्री गर्ने गर्छ ।
तर, २८ फागुन २०८२ मा निगमले पेट्रोल पम्पहरूलाई ३० लाख ५५ हजार लिटर पेट्रोल र ८३ लाख ४५ हजार लिटर डिजेल बेच्यो । त्यस्तै २९ फागुनमा पेट्रोल पम्पहरूले ४२ लाख ५२ हजार लिटर पेट्रोल र ९६ लाख ६५ हजार लिटर डिजेल उठाए । ३० फागुनमा भने शनिबार भएर इन्धन बिक्री भएन ।
त्यसपछि १ चैतमा पनि ४८ लाख ६ हजार लिटर पेट्रोल र ९० लाख ९० हजार लिटर डिजेल बिक्री भयो ।
निगमले तीन दिन लगातार यसरी दैनिक औसतको दोब्बरभन्दा बढी परिमाणमा तेल बिक्री गरेसकेपछि १ चैत राति डिजेल र पेट्रोलको भाउमा उच्च वृद्धि गर्यो ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्यवृद्धिका कारण इन्डियन आयल कर्पोरेसन (आईओसी) ले इन्धन मूल्य बढाएर पठाएको भन्दै निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य बढाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण पेट्रोलियम पदार्थको भाउ बढ्ने अनुमान त व्यवसायी तथा निगम कर्मचारीलाई पक्कै थाहा थियो होला । तर, ती तीन दिनमा जुन परिमाणमा डिजेल र पेट्रोल बेचियो, त्यसबाट भने उच्च मात्रामा भाउ बढ्दै गरेको सूचना पहिल्यै पम्पहरूलाई चुहाएर उनीहरूले मागेजति इन्धन बिक्री गरेको स्पष्ट हुन्छ । यसबाट निगमलाई करोडौं रुपैयाँ नोक्सानी भएको तथ्यांकबाट पुष्टि हुन्छ ।
१ चैतमा निगम व्यवस्थापनले बढेको मूल्यसूची सार्वजनिक गर्दै ‘मूल्य बढाउँदा पनि संस्था १५ दिनमै ३ अर्ब ९३ करोड रुपैयाँ घाटामा जाने’ भन्दै वित्तीय विवरण समेत सार्वजनिक गरेको थियो ।
तथ्यांकले स्पष्ट बोल्छ– निगमको घाटा अन्तर्राष्ट्रिय बजारका कारण मात्र भएको होइन, मूल्य बढ्नुअघि पेट्रोल पम्प सञ्चालक (डिलर) हरूलाई सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ गरी गैरकानुनी लाभ लिएका कारण करोडौं घाटा थपिएको देखिन्छ ।
निगमको तर्क हुन्छ– ‘शनिबार बिदा हुने भएकाले शुक्रबार र आइतबार बजारमा तेलको माग केही बढी हुन्छ ।’
बिदाअघि र पछि माग सामान्य बढ्नु स्वाभाविक हो । तर, तथ्यांक केलाउँदा जब मूल्य बढ्ने दिन आउँछ, तब औसतभन्दा दुई गुणाभन्दा बढी तेल डिलरहरूले उठाउँछन् । अनि जब मूल्य बढिसक्छ, तब शुक्रबार वा आइतबार नै परे पनि तेल बिक्री ह्वात्तै घट्छ ।

१ चैतमा मूल्य बढिसकेपछि आयल निगमले अर्को पटक भाउ बढाउने दिनको नजिकसम्मका तथ्यांक हेर्दा पनि यो तर्क पुष्टि हुन्छ । १ चैतमा मूल्य बढेपछि २ गते सोमबार बिक्री स्वात्तै घटेर पेट्रोल १६ लाख १४ हजार र डिजेल जम्मा ५५ लाख लिटरमा झर्यो ।
यस्तै ३ चैत मंगलबार पेट्रोल २३ लाख ४५ हजार र डिजेल ५१ लाख ७० हजार लिटर बिक्री हुँदा ४ चैत बुधबार पेट्रोल झनै घटेर १३ लाख ७८ हजार र डिजेल ४२ लाख १० हजार लिटर मात्रै निगमबाट बाहिरियो ।
यस्तो किन भयो ? उत्तर प्रष्ट छ, डिलरहरूले मूल्य बढ्नुअघि नै १ सय ५४ रुपैयाँमा किनेको पेट्रोल मूल्य बढेपछि १ सय ७२ रुपैयाँमा बेचेर रातारात करोडौं नाफा सुरक्षित गरिसकेका थिए । यसको सिधा अर्थ हुन्छ, निगमले आफ्नो खल्तीको पैसा मिलेमतोमा पेट्रोल पम्पहरूको खल्तीमा भरिदियो ।
त्यसपछिका दिनमा तेलको बिक्री बिस्तारै लयमा फर्कन खोज्यो । ५ चैत बिहीबार पेट्रोल २२ लाख २६ हजार र डिजेल ५४ लाख ९३ हजार लिटर बिक्री भयो भने ६ चैत शुक्रबार पेट्रोल २४ लाख ९० हजार र डिजेल ६६ लाख ४० हजार लिटर गयो ।
निगमले सामान्यतया अंग्रेजी महिनाको १ तारिख र १६ तारिखमा आईओसीबाट नयाँ मूल्यसूची आएपछि नेपालमा भाउ समायोजन गर्छ ।
तर, १ चैतमा मूल्य बढाएको निगमले त्यसबीच ११ चैतमा पुन: भाउ बढायो । बीचमा अचानक मूल्य बढाउँदा पनि त्यसको सूचना व्यवसायीलाई पहिले नै चुहाएको तथ्यांकले देखाउँछ । १० गते मंगलबार डिजेल सामान्यभन्दा बढेर ६० लाख लिटर र ११ गते ६१ लाख लिटर बिक्री भयो ।
११ गते साँझ निगमले पेट्रोल र डिजेलमा १५/१५ रुपैयाँ मूल्य बढ्यो । त्यसको भोलिपल्ट बिहीबारदेखि इन्धन बिक्री पुन: साधारण परिमाणमा झर्यो ।

अब निगमको ‘शुक्रबार धेरै तेल बिक्छ’ भन्ने तर्क यहाँ फेल खान्छ । १३ चैत शुक्रबार थियो, तर दुई दिनअघि मूल्य बढिसकेकाले महँगोमा तेल भण्डारण गर्न व्यवसायी गएनन् । जसका कारण त्यो शुक्रबार बिक्री ह्वात्तै घटेर पेट्रोल जम्मा १२ लाख ३७ हजार र डिजेल २३ लाख ३० हजार लिटरमा खुम्चियो । १४ गते शनिबार आंशिक खुला हुँदा जम्मा १ लाख लिटर हाराहारीमा मात्र तेल उठ्यो ।
चैत मध्यतिर फेरि अर्को चलखेल सुरु भयो । १५ चैत आइतबार पेट्रोल ३७ लाख ३६ हजार र डिजेल ९७ लाख ३० हजार लिटरको अस्वाभाविक बिक्री भयो ।
१६ गते सोमबार पनि बिक्री उच्च नै रह्यो (पेट्रोल २९ लाख, डिजेल ७५ लाख लिटर) । १७ गते मंगलबार हवाई इन्धनको मात्रै मूल्य बढ्दा पेट्रोल ३१ लाख ७४ हजार र डिजेल ६८ लाख ५० हजार लिटर गयो ।
१८ गते बुधबार बिक्री घटेर ९ लाख ५५ हजार लिटर पेट्रोल र ३६ लाख २५ हजार लिटर डिजेल मात्रै गयो । तर, फेरि १९ गते बिहीबार पेट्रोल र डिजेलमा १५ रुपैयाँ मूल्य बढ्ने दिन पेट्रोल २१ लाख १४ हजार र डिजेल ५८ लाख लिटर उठाइयो भने २० गते शुक्रबार पेट्रोल २० लाख ८६ हजार र डिजेल ४९ लाख लिटर बिक्री भयो । २१ गते शनिबार बिदापछि २२ गते आइतबार २६ लाख ७२ हजार लिटर पेट्रोल र ६५ लाख ७ हजार लिटर डिजेल गयो ।
२३ चैत सोमबारदेखि २५ गते बुधबारसम्म दैनिक बिक्री क्रमश: ओरालो लाग्दै पेट्रोल २१ लाखबाट १४ लाख लिटर र डिजेल ४९ लाखबाट ३२ लाख लिटरमा झर्यो ।
नयाँ वर्षको मुखमा डिजेलमा ३० रुपैयाँको चलखेल
नयाँ वर्ष सुरुवातसँगै वैशाख २ गते भएको अर्को चरम चलखेलले निगमभित्रको चरम अनियमितता छर्लङ्ग पार्छ । २८ र २९ चैतको बिदापछि ३० गते सोमबार नै व्यवसायीले अस्वाभाविक रूपमा पेट्रोल ४३ लाख ७२ हजार र डिजेल ७६ लाख ७५ हजार लिटर उठाइसकेका थिए ।
नयाँ वर्ष १ वैशाखको बिदापछि २ वैशाख बुधबार निगमले पेट्रोलको मूल्य यथावत राखेर डिजेलमा मात्रै प्रतिलिटर ३० रुपैयाँ वृद्धि गर्यो । त्यो मूल्यवृद्धिको घोषणा हुनुअघि सोही दिन पेट्रोल ३४ लाख ६ हजार लिटर र डिजेल ६२ लाख ६८ हजार लिटर बिक्री भएको थियो ।
मूल्य बढेपछि ३ वैशाख बिहीबार डिजेल बिक्री ह्वात्तै घटेर ४२ लाख ८२ हजार लिटर र पेट्रोल २५ लाख ५८ हजार लिटरमा सीमित भयो ।
निगमको ‘ईआरपी’ सफ्टवेयरले कुन पम्पको भण्डारण क्षमता कति छ र उसको दैनिक औसत बिक्री कति हो भन्ने स्पष्ट रेकर्ड राख्छ ।

तर, दैनिक तथ्यांकले स्पष्ट पार्छ– अन्य दिनमा सामान्य बिक्री भइरहँदा मूल्य बढ्ने निश्चित भएको अघिल्लो दिन पम्पहरूले अस्वाभाविक माग लिएर आउँछन् र निगमका कर्मचारीले पनि मिलेमतोमा मागेजति तेल दिन्छन् ।
निगमले मूल्यवृद्धि हुनुअघिको अस्वाभाविक बिक्री रोक्न ‘औसत कोटा प्रणाली’ कडाइसाथ लागु पनि गर्दैन ।
यसरी निगमबाट सूचना चुहाएर सस्तोमा तेल किन्दै होल्ड गरेर महँगोमा बेच्दा व्यवसायीले रातारात करोडौं नाफा कमाइरहेका छन् । निगम उल्टै घाटाको भारी बोकेर सर्वसाधारणलाई महँगीको चक्रमा फसाइरहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
मूल्यवृद्धिको पूर्वसन्ध्यामा अस्वाभाविक तेल वितरण गर्नु ‘जघन्य अपराध’ भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउनु एक–दुई दिन अघिमात्र व्यापारीलाई अस्वाभाविक रूपमा ठूलो मात्रामा इन्धन वितरण गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
एकातिर दिनभरि मिडियामा घाटा भयो भन्दै रुवाबासी गर्ने र अर्कातिर भोलिपल्ट मूल्य बढाउने योजना हुँदाहुँदै अघिल्लो दिन अस्वाभाविक मात्रामा तेल बाँड्ने कार्य सामान्य व्यापारिक सिद्धान्त विपरीत रहेको उनले बताए ।
‘बजारमा तेल अभाव देखाउने, आपूर्ति शृङ्खला बिग्रिएको भन्ने, तर भोलिपल्ट मूल्य बढाउने तय भइसकेपछि अघिल्लो दिन व्यापारीलाई ठूलो मात्रामा तेल बाँड्ने काम भएको छ,’ तिमल्सिनाले भने, ‘यो उपभोक्ता र राज्यलाई घाटा पुर्याएर अमुक व्यक्ति र संस्था (व्यापारी) लाई फाइदा पुर्याउने नियतले गरिएको हो, यस्तो विषम परिस्थितिमा यो क्षम्य हुन सक्दैन ।’
यस प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष सहितको नेतृत्व प्रत्यक्ष जिम्मेवार रहेको उनको भनाइ छ ।
मूल्य बढाउनुअघि निगमले कति परिमाणमा इन्धन वितरण गर्यो र सामान्य दिनको माग कति थियो भन्ने तथ्यांक निकालेर गहिरो छानबिन हुनुपर्ने उनले माग गरे ।
तिमल्सिनाले यस अनियमितता छानबिनका लागि संसद्को सार्वजनिक लेखा समिति, सम्बन्धित उपसमिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयले तत्काल हस्तक्षेप गर्नुपर्ने जोड दिएका छन् ।
‘राज्य र आम उपभोक्तालाई घाटामा पारेर सीमित व्यापारीलाई फाइदा पुग्ने गरी बाँडिएको तेलको परिमाणका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ तिमल्सिनाले भने ।
आयल निगमले इन्धन खपत घटाउन भन्दै दुई दिन बिदा दिनेजस्ता नियम ल्याउने तर व्यवहारमा भने व्यापारीलाई असीमित तेल दिएर कालोबजारी र चलखेललाई प्रश्रय दिएको भन्दै यो विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्ने उनको भनाइ छ ।
मूल्य बढ्नुअघि पम्पलाई बढी तेल दिएको पाइए कारबाही गर्छौं : निगम
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भने यस विषयमा आफू जानकार नभएको बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्य बढ्नुअघि अस्वाभाविक रूपमा पम्पहरूलाई धेरै तेल वितरण गरिएको पाइए संलग्नमाथि कडा कारबाही गर्ने बताए ।

मूल्य बढ्नुअघि व्यवसायीलाई असीमित तेल बाँडिएको तथ्यांकबारे सोधिएको प्रश्नमा कार्यकारी निर्देशक डा. भट्टले सुरुमा यस्तो अस्वाभाविक बिक्री भएको कुरा आफूलाई नलागेको बताए ।
यद्यपि, उनले यो विषय कुन–कुन डिपोबाट भएको हो भनेर आफूले तत्काल तथ्यांक हेर्ने र छानबिन गर्ने प्रतिबद्धता जनाए ।
‘मलाई त्यस्तो लाग्दैन, कुन–कुन ठाउँबाट गएको रहेछ म एकपल्ट हेर्छु,’ भट्टले भने, ‘त्यस्तो किसिमको मूल्यवृद्धि हुने अघिल्लो दिनमै अथवा त्यसरी बढी बिक्री गरेको रहेछ भने हामी अनुसन्धान गरेर कारबाही गर्छौं ।’
निगमले इन्धन वितरणमा नियन्त्रण र कटौती गरिरहेको दाबी गर्दै उनले केन्द्रबाटै तेल कटौतीको कडा निर्देशन जारी भइसकेको जानकारी दिए ।
‘हामीले त कटौती गरेर पो बिक्री गरेका छौं, हामीले निर्देशन नै त्यही दिएका छौं,’ उनले भने, ‘गत आर्थिक वर्षको यो महिनामा जति तेल दिइएको थियो, त्योभन्दा २० प्रतिशत घटाउनु भनेर हामीले भनेका छौं ।’
कार्यकारी निर्देशक भट्टले निगमले अघिल्लो वर्षको तुलनामा २० प्रतिशतसम्म इन्धन कटौती गर्ने नीति लिएको दाबी गरे पनि मूल्य बढ्नुअघि कसरी डिलरहरूले अस्वाभाविक मात्रामा तेल उठाए भन्ने विषयमा भने उनले तत्काल डिपोहरूको रेकर्ड मगाएर अनुसन्धान गर्ने बताएका छन् ।
प्रतिक्रिया 4