+
+
Shares

गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रुपाखेती निलम्बित

मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम  प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ वैशाख १२ गते २०:०५

१२ वैशाख, बुटवल । गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । डा. सम्राट पराजुली नेतृत्वको समितिले घटनाको प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।

समितिले अन्तिम प्रतिवेदन नआएसम्म गीताको गर्भपतन प्रकरणमा संलग्न बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक सिल गर्न सिफारिस गरेको छ । यस्तै डा. सतिश रूपाखेतीलाई बिरामी चेकजाँच गर्न प्रतिबन्ध लगाउन भनेको छ । साेहीअनुसार काउन्सिलले निर्णय नै गरिसकेकाे बताएकाे छ ।

मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम  प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।

मेडिकललाई कारबाही सिफारिस गरेपनि खत्री नर्सिङ होमका  सञ्चालक डा. डीबी खत्रीका बारेमा भने प्रारम्भिक प्रतिवेदन केही पनि बोलेको छैन । मृतक गीताका पति प्रकाश पाण्डेले खत्रीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

गर्भपतनका लागि नर्सिङ होम र क्लिनिक गरी तीनवटा स्वास्थ्य संस्था धाउँदा–धाउँदै वैशाख ६ गते गीताको ज्यान गएको थियो । १३ हप्ता बढीको गर्भ अस्वस्थ रहेको भन्दै गीता पति प्रकाशसहित वैशाख ५ गते खत्री नर्सिङ होम पुगेकी थिइन् । उनी चैत २७ मा सोही ठाउँमा जाँच गर्न पुगेकी थिइन् ।

जाँचका बेला डा. खत्रीले गर्भ असामान्य रहेको भन्दै वैशाख ४ गते बोलाएका थिए । गीता वैशाख ५ गते त्यहाँ गएकी थिइन् ।

तर, गर्भपतनमा ख्याति कमाएको खत्री नर्सिङ होमले गीतालाई आफ्नोमा उपचार नगरी लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।

जोनल फार्मेसीले गर्भपतनका लागि १६ हजार शुल्क लाग्ने भन्दै दुई हजार अग्रिम भुक्तानी लिएर दुईप्रकारका औषधी दिएर पठाएको थियो ।

जोनलबाट फेरि इन्दुलेखा क्लिनिकमा पुर्‍याएर गर्भपतन गराउने क्रममा गीताको ज्यान गएको थियो । इन्दुलेखा क्लिनिकमा डा. सतिश रूपाखेतीले उनको चेकजाँच गरेको थिए ।

पत्नीको मृत्युलाई पति प्रकाशले ती स्वास्थ्य संस्थाहरूले नाफाको व्यापार गर्ने क्रममा हत्या गरेको आरोप लगाएका छन् । उनले मृत्युमा डा. डीबी खत्री र डा. सतिश रूपाखेती मुख्य दोषी रहेको आरोप लगाउँदै पक्राउ गरी कानुनी कारबाहीको काम गरेका छन् ।

दुई डाक्टरबाहेक सन्ध्या बस्नेत (जोनल फार्मेसी/क्लिनिक सञ्चालक), निलम घर्तीमगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक)लाई पनि कारबाहीको माग गर्दै गीताका पति प्रकाशले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।

जाहेरीपछि प्रहरीले पाँचै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरेको थियो । पक्राउ परेकामध्ये डा. खत्री र रूपाखेती थुनामुक्त भइसकेका छन् ।

यसअघि मृतकका आफन्तले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा तालाबन्दी पनि गरेका थिए ।

मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन् । पति प्रकाश पनि अधिकृत स्तरको सरकारी कर्मचारी हुन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?