News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु घटना अनुसन्धानका लागि प्रहरी बुटवलका दुई चिकित्सकलाई नियन्त्रणमा लिएको छ।
- घटनामा संलग्न अन्य तीन जना पहिले नै पक्राउ परिसकेका थिए ।
- मृतकका पति प्रकाश पाण्डेले चिकित्सकले आर्थिक लाभका लागि गम्भीर लापरवाही गरिएको आरोप लगाएका छन्।
९ वैशाख, बुटवल । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरवाही गरेको आरोप लगाई डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
दुई डाक्टर बाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि पनि अनुसन्धान र कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी परेको थियो । बस्नेत, घर्ती र पाण्डे मंगलबार बिहान नै पक्राउ परेका थिए ।
डा. खत्री र रुपाखेती भने मंगलबार बेलुका अबेर आफैं प्रहरी कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
‘जाहेरी अनुसार तीनजनालाई पहिल्यै पक्राउ गरेका थियौं, दुई जना डाक्टर साबलाई घटनाबारे बुझ्नु छ आउनुस् भनेर फोन गरेपछि मंगलबार साँझ अबेर आफैं उपस्थित हुनभयो,’ डीएसपी श्रीवास्तवले भने, ‘घटनामा उहाँहरुको संलग्नता के कस्तो छ त्यो अनुसन्धान पछि थप प्रकृया अघि बढ्छ ।’
‘पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ,’ उनले भने, ‘अरुको पनि संलग्नता देखिए सबैलाई कारबाहीको दायरामा ल्याइने छ ।’
घटना के हो ?
पाल्पाको बगनासकाली गाउँपालिका २ ख्याहाकी २९ वर्षीया गीता पाण्डे चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ हप्ताको गर्भ जाँचका लागि आएकी थिइन् ।
त्यहाँ नर्सिङ होमका सञ्चालक डा. डिबी खत्रीले गर्भ असामान्य छ भनी थप उपचारका लागि वैशाख ४ गते बोलाएका थिए । पाण्डे वैशाख ५ गते श्रीमान् प्रकाश सहित नर्सिङ होम आएकी थिइन् ।
तर सो नर्सिङ होमले गीतालाई लोकेसन म्याप दिएर बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।
त्यहाँ फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरि औषधी दिएर अर्को दिन आउन भनेको थियो । जोनलबाट फेरि इन्दु लेखा क्लिनिकमा पुर्याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो । ईन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले गीताको जाँच गरेको मृतकका पति प्रकाशले बताए ।
प्रकाशले गर्भपतन गराइएको भ्रुण आफूले नदेखेको भन्दै श्रीमती बेहोस् भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताए ।
रक्त सञ्चार सेवा केन्द्रकी जागिरे समेत रहेकी गीतालाई कुनै दीर्घ रोग नभएको र स्वस्थ रहेको पति प्रकाशको भनाइ छ । ‘पैसा कमाउने उद्देश्य राखेर उपचारमा गम्भीर लापरबाही भएको छ,’ प्रकाशले भने, ‘गीताको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आर्थिक लाभको जालोमा जोडिएर गरिएका यस्ता घटनाको निष्पक्ष छानबिन अनि कारबाही हुनुपर्छ ।’
गीता पहिलो बच्चा (छोरा) जन्मिएको ५ वर्षपछि दोस्रोपटक आमा बन्ने तयारीमा थिइन् ।
प्रकाशले गीताको मृत्यु भएपछि जोनल फार्मेसीले खत्री नर्सिङ होमले दिएको लोकेसन कार्ड र अन्य उपचारका रिपोर्टहरू लुकाएको बताएका छन् ।
प्रतिक्रिया 4