+
+
Shares

२४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा, आज पनि वर्षाको सम्भावना

यो साताभर वर्षाको सम्भावना

चितवनको झुवाली, नवलपुरको दुम्कौली, उदयपुरको उदयपुरगढी र तनहुँको दमौलीमा एक घण्टायतासम्म पनि पानी परिरहेको छ । गत २४ घण्टामा भने सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको जनाएको छ।
  • गत २४ घण्टामा प्युठानको फोप्लीमा ९७.६ मिलिमिटर वर्षा भएको विभागको रेकर्ड छ।
  • आज कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थान र मधेश, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाडी तथा हिमाली भागमा वर्षा र हिमपात हुने सम्भावना छ।

१३ वैशाख, काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविदहरुका अनुसार हिजोको तुलनामा आज पूर्वी नेपालमा बढी पानी पर्ने सम्भावना छ ।

चितवनको झुवाली, नवलपुरको दुम्कौली, उदयपुरको उदयपुरगढी र तनहुँको दमौलीमा एक घण्टायतासम्म पनि पानी परिरहेको छ ।

गत २४ घण्टामा भने सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा भएको छ । फोप्लीमा ९७.६ मिलिमिटर वर्षा भएको विभागको रेकर्ड छ ।

यसैगरी लमजुङको फालेनी भन्ने स्थानमा ८८.२ मिलिमिटर वर्षा मापन भएको छ ।

शनिबार साँझको वर्षाका कारण काभ्रेमा बाढी आउँदा बीपी राजमार्गका डाइभर्सन बगेका छन् ।

यो साताभर वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साताभर वर्षाको सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुनेछ । साथै तुवाँलो तथा वायु प्रदूषणमा पनि केही सुधार हुने अपेक्षा छ ।

विभागकी मौसमविद बिनु महर्जनले भनिन्, ‘यो साता मध्यम वर्षाको पानी पर्ने सम्भावना भएकाले गर्मी केही कम हुने देखिन्छ ।’

तराई भेगमा आज आइतबारदेखि मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक/दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

यसैगरी बुधबारदेखि विहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने प्रक्षेपण विभागले गरेको छ ।

पहाडी भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि विहीबारभित्र भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

मौसमविद महर्जनका अनुसार हिमाली भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा पनि मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि बिहीबारभित्र कोशी, बागमती र गण्डकीका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले पानी र हिउँसँगै मेघगर्जन चट्याङ् सहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

साथै लुम्बिनी प्रदेशको तराई भागका एक/दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?