+
+
Shares
ब्लग :

के यो बदलिएको कांग्रेस हो ?

यदि साँच्चिकै नेतृत्व परिवर्तनको हुटहुटी छ भने युवाहरू निस्कल वा गीतालाई संसदीय दलको नेता बनाएर देखाउनुहोस् । अन्यथा, फोहोर ऐना मात्र बदलिएको रहेछ, अनुहार होइन भन्ने पुष्टि हुनेछ ।

आशिष देवकोटा आशिष देवकोटा
२०८३ वैशाख १४ गते १०:११
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा निर्वाचनपछि ५२ दिन बित्दा नेपाली कांग्रेसले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन।
  • अन्य राष्ट्रिय दलहरूले समयमै संसदीय दलका नेता चयन गरिसकेका छन्, जसले कांग्रेसको आन्तरिक समन्वयमा प्रश्न उठाएको छ।
  • नेता चयनमा भएको ढिलाइले कांग्रेसको लोकतान्त्रिक प्रक्रिया र युवा नेतृत्वप्रति प्रतिबद्धतामा गम्भीर प्रश्न खडा गरेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन भएको आज ५२ दिन बितिसकेको छ। संसद् सदस्यहरूले शपथ लिई वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको एक महिना पूरा भइसकेको छ। यसबीचमा थ्रेसहोल्ड पार गर्ने सबै राष्ट्रिय दलहरूले आफ्ना संसदीय दलका नेता २०–२५ दिनपहिला नै चयन गरिसकेका छन्।

दुईतिहाइ नजिक १८२ सिटसहित बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १२ गते सर्वसम्मत रूपमा बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ। २५ सिटसहितको तेस्रो दल नेकपा एमालेले चैत १८ गते रामबहादुर थापा ‘बादल’लाई चयन गरेको छ। १७ सिटसहितको चौथो दल नेकपाले चैत १५ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ। ७ सिटसहितको पाँचौँ दल श्रम संस्कृति पार्टीले चैत २० गते हर्क साम्पाङलाई र ५ सिटसहितको छैटौँ दल राप्रपाले चैत ५ गते ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरिसकेका छन्।

तर, देशको प्रमुख प्रतिपक्षी शक्तिका रूपमा रहेको नेपाली कांग्रेसले अझैसम्म संसदीय दलको नेता चयन गर्न नसक्नु स्वाभाविक रूपमा गम्भीर बहस र प्रश्नको विषय बनेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ जोस र जाँगरसहितको कार्यसमिति लिएर निर्वाचनमा गएको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट प्राप्त गर्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियत पाएको छ।

अन्य दलहरूले समयमै आफ्ना संसदीय दलका नेता चयन गरिसकेका छन्, कसैले सर्वसम्मत रूपमा त कसैले निर्वाचन प्रक्रियामार्फत। यस्तो अवस्थामा कांग्रेसभित्र नेतृत्व चयनमा भइरहेको ढिलाइले आन्तरिक समन्वय, निर्णय क्षमता र युवाको राजनीतिक इच्छाशक्तिमाथि गम्भीर प्रश्न उठाएको छ। कांग्रेस दास र लासको पार्टी होइन भने संसदीय दलको नेता चयनमा भएको लापरबाही र पुरानो शैली तथा प्रवृत्तिका विरुद्धमा प्रश्न उठाउन पाइन्छ कि पाइँदैन ?

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सर्वोच्च अदालतले समेत वैशाख ४ गते मान्यता दिइसकेको छ। नयाँ नेतृत्वप्रति पार्टीका कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूमा ठूलो आशा र उत्साह देखिएको थियो। ‘अब कांग्रेस बदलिन्छ, नयाँ सोच र नयाँ शैली देखिन्छ’ भन्ने विश्वास पलाएको थियो। तर, निर्वाचन सम्पन्न भएको करिब दुई महिना बितिसक्दा समेत संसदीय दलको नेता चयन हुन नसक्नुले ती आशाहरूमा निराशा थपिएको छ।

यसअघि संस्थापन र इतर पक्षबीचको द्वन्द्वका कारण यस्ता ढिलाइ हुने गरेका थिए, जसका कारण नेपाली कांग्रेसका कार्यकर्ताहरूमा वितृष्णा देखिने गर्थ्यो। तर, अहिले सभापति र उपसभापतिबीच उम्मेदवारको विषयमा सहमति नजुट्दा प्रक्रिया झन् लम्बिएको देखिन्छ। भागबन्डा र शक्ति सन्तुलनको पुरानै प्रवृत्तिले नयाँ नेतृत्वको सन्देशलाई कमजोर बनाइरहेको छ।

अझ गम्भीर कुरा त के भने, हिजो २०७९ सालको निर्वाचनमा ‘नेतृत्व पुरानो भयो’ भनेर तत्कालीन सभापति शेरबहादुर देउवासँग चुनाव लड्ने र सधैँ ‘युवा नेतृत्व चाहिन्छ’ भन्ने गगन थापा नै अहिले संसदीय दलको नेता चयन गर्दा पुरानो र उमेर ढल्किसकेको नेतृत्व चयन गर्ने प्रयत्नमा हुनुहुन्छ।

नेपाली कांग्रेस एक ऐतिहासिक, लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने पार्टी हो। यहाँ नेतृत्व चयन प्रक्रिया सांसदहरूको बहुमतका आधारमा पारदर्शी र लोकतान्त्रिक ढङ्गले हुनुपर्ने हो। तर व्यवहारमा अझै पनि परम्परागत शक्ति सङ्घर्ष, समूहगत प्रभाव र आन्तरिक समीकरणले निर्णयलाई प्रभावित गरिरहेको देखिन्छ।

यसपटकको निर्वाचनले पुराना राजनीतिक दलहरूलाई स्पष्ट सन्देश दिएको छ- सुध्रेर आऊ, युवाहरू जोडेर आऊ, बदलिएको शैलीमा काम गर ! जसअनुसार नेपाली कांग्रेसमा नयाँ सोच, नवीन दृष्टिकोण र परिणाममुखी नेतृत्वको अपेक्षा गरिएको छ। यदि नयाँ नेतृत्व आएर पनि पुरानै शैली दोहोरिन्छ भने परिवर्तनको औचित्य र विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक हो।

संसदीय दलको नेता चयनमा ढिलाइ हुँदा संसद्मा प्रतिपक्षको भूमिका प्रभावहीन बन्दै गएको देखिन्छ। सरकारका नीति तथा कार्यक्रममाथि प्रभावकारी निगरानी, सही काममा रचनात्मक समर्थन र गलत कार्यमा स्पष्ट तथा सशक्त विरोध गर्न सक्षम प्रतिपक्ष लोकतन्त्रको आधार हो। तर, हालको अवस्थाले जनतामा प्रतिपक्ष कमजोर भयो भन्ने सन्देश गएको छ।

यस सन्दर्भमा पार्टीभित्र रहेका युवा तथा ऊर्जाशील नेतृत्वलाई अवसर दिनुपर्ने आवश्यकता अझै प्रस्ट रूपमा देखिन्छ। इलाम-१ बाट प्रत्यक्ष निर्वाचित ३४ वर्षीय निस्कल राई, मुस्ताङबाट प्रत्यक्ष निर्वाचित ३२ वर्षीय योगेश गौचन थकाली, सोलुखुम्बुबाट समानुपातिक प्रतिनिधित्व गर्ने ३१ वर्षीया गीता गुरुङ, पाल्पा-१ बाट निर्वाचित युवा विद्यार्थी नेता ३८ वर्षीय सन्दीप रानाका साथै पूर्व नेविसङ्घ महामन्त्री भई पार्टी राजनीतिमा आएकी उर्मिला थपलियाजस्ता युवा सांसदहरूको उपस्थिति पार्टीका लागि सकारात्मक सङ्केत हुन्। उनीहरूलाई नेतृत्वमा ल्याउनु भनेको केवल व्यक्तिको परिवर्तन मात्र होइन, नयाँ विशेष महाधिवेशनबाट रूपान्तरण र पुस्तान्तरणसहितको नेतृत्वको सोच, कार्यशैली र परिणामप्रतिको प्रतिबद्धताको परिवर्तन पनि हो।

तर, हाल देखिएको प्रतिस्पर्धामा पुनः पुरानै नेताहरूबीच नेतृत्वका लागि दाबी भइरहेको छ। पूर्व सहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच प्रतिस्पर्धा देखिएको छ। उमेरले हेर्दा यी सबै ५० वर्ष काटेका नेता हुन्।

आजको यथार्थ के हो भने यदि नेपाली कांग्रेसले आफूलाई साँच्चिकै परिवर्तनमुखी, लोकतान्त्रिक र जेनजी आन्दोलनको मूल्य र भावनालाई सम्मान गर्दै युवा नेतृत्वप्रति प्रतिबद्ध पार्टीका रूपमा स्थापित गर्न चाहन्छ भने अब ढिलाइ नगरी स्पष्ट, पारदर्शी र समयबद्ध निर्णय लिनैपर्छ।

पार्टी सभापति गगन थापासहितको युवा नेतृत्व रहेको कार्यसमितिले युवाहरूको नाम लिएर नेतृत्व परिवर्तन गरेपछि फेरि संसद्को ज्येष्ठ र उमेरले नेटो काटेका नेतालाई नै संसदीय दलको नेता छान्नुले हिजो र आजको नेतृत्वमा व्यक्ति वा उमेर परिवर्तन भए पनि राजनीतिक व्यवहारमा कुनै भिन्नता नभएको देखाउँछ।

पार्टीमा आउन, भोट हाल्न र नेतृत्व लिन नयाँ युवाहरूको रुचि र चाहना नदेखिएको बेला कांग्रेसले युवालाई संसदीय दलको नेता चयन गरी आफूलाई रूपान्तरण तथा पुस्तान्तरणको सङ्केत दिन सक्थ्यो। तर, सभापति थापाको चाहना मोहन आचार्य र उपसभापति विश्वप्रकाश शर्माको चाहना भीष्मराज आङ्देम्बे भएका कारण उनीहरूबीच फरक–फरक उम्मेदवारप्रति झुकाव हुँदा सहमति जुट्न कठिन भएको छ। यसले पार्टीभित्रको निर्णय प्रक्रिया झन् जटिल बनाएको छ।

वैशाख ११ गते संसदीय दलको नेता चयन गर्ने भनिए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत चयन गर्ने निर्णय गरिएको थियो। वैशाख १२ गते उम्मेदवारी दर्तादेखि मतदानसम्मको कार्यक्रम तय गरिए पनि अन्ततः नेतृत्वबीचको असहमतिका कारण प्रक्रिया पुनः स्थगित हुन पुगेको छ। यसले पार्टीको आन्तरिक लोकतन्त्र, संस्थागत क्षमता र व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

आजको यथार्थ के हो भने यदि नेपाली कांग्रेसले आफूलाई साँच्चिकै परिवर्तनमुखी, लोकतान्त्रिक र जेनजी आन्दोलनको मूल्य र भावनालाई सम्मान गर्दै युवा नेतृत्वप्रति प्रतिबद्ध पार्टीका रूपमा स्थापित गर्न चाहन्छ भने अब ढिलाइ नगरी स्पष्ट, पारदर्शी र समयबद्ध निर्णय लिनैपर्छ। अन्यथा, परिवर्तन केवल भाषण र नारामा सीमित हुने खतरा रहन्छ।

अन्ततः यो प्रश्न उठाउनैपर्छ- के कांग्रेस साँच्चिकै बदलिन चाहन्छ कि केवल नेतृत्वको अनुहार मात्र परिवर्तन गरेर पुरानै शैलीलाई निरन्तरता दिन खोजिरहेको छ ? तसर्थ यथाशीघ्र संसदीय दलको नेतामा युवा नेतृत्वलाई जेनजी आन्दोलन र विशेष महाधिवेशनको भावनाअनुसार चयन गरियोस्।

देवकोटा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् ।

लेखक
आशिष देवकोटा

देवकोटा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?