News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दीपकराज गिरीले आगामी फिल्म 'छ माया छपक्कै २' को छायांकन सोमबारदेखि सुरु गरेको जानकारी दिए।
- फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् र यसमा दीपकराज, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
- फिल्मको छायांकन पोखरा, नुवाकोट र काठमाडौंमा ४० दिनको तालिकामा हुनेछ र दशैंमा प्रदर्शन हुने जनाइएको छ।
काठमाडौं । अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन सोमबारदेखि थालेका छन् । त्यसअघि बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा शुभसाइत पूजा गरियो ।
यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो । सामाजिक-राजनीतिक कथावस्तुको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।
दीपकराज र दीपेन्द्रले पटकथा लेखेका हुन् । शुभसाइत पूजापछि अनलाइनखबरसँग कुरा गर्दै दीपकराजले ४० दिनको तालिकासहित फिल्म छायांकनमा निस्किएको जानकारी दिए ।
उनका अनुसार, यो फिल्म पोखरा, नुवाकोट र काठमाडौंमा छायांकन हुनेछ । सोमबार बिहान सामाजिक सञ्जालबाट दीपकराजले ३ जना कलाकार सार्वजनिक गर्दै छायांकन सुरु भएको जनाएका छन् ।

यो फिल्मको शीर्ष भूमिकामा दीपकसहित केकी अधिकारी र सनिशा भट्टराईलाई देख्न पाइनेछ । श्रृंखलामा सनिशाको प्रवेश भएको छ । केदार घिमिरे ‘माग्ने बुढा’ हुनेछैनन् । पटकथा लेखक समेत रहेका दीपकले माग्ने बुढाको ठाउँमा नयाँ पात्र स्थापना गरिएको बताए ।
माग्ने बुढा लामो समयदेखि अमेरिकामा छन् । उनी आउने वा नआउने निधो भैसकेको छैन ।
रोहित अधिकारी निर्माता रहेको यो फिल्म आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको ब्यानरमा निर्माण हुन लागेको हो । कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी हुनेछन् ।
फिल्मको प्रदर्शन आउँदो दशैंमा हुने जनाइएको छ ।


प्रतिक्रिया 4