१४ वैशाख, कोलकाता । पश्चिम बंगाल विधानसभा चुनावमा हरेक गल्ली र चोकमा भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कांग्रेस (टीएमसी)को उपस्थिति देखिन्छ । दुवै पार्टीका झन्डा, ब्यानर र पोस्टर जताततै देखिन्छन् ।
तर, आइतबार साँझ कोलकाताको दमदम उत्तर विधानसभा क्षेत्रको कल्चर मोडमा दृश्य भने बिलकुल फरक थियो ।
जहाँसम्म नजर पुग्थ्यो, त्यहाँसम्म मानिसहरू भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का रातो झन्डा बोकेर उभिएका थिए । यहाँ सीपीएमकी उम्मेदवार दीपसीता धरले रोड शो गरिरहेकी थिइन् । दीपसीता जेएनयू विद्यार्थी संघकी अध्यक्षसमेत भइसकेकी नेतृ हुन् ।
अपर्णा घोष एक सरकारी कर्मचारी हुन् । उनी आफ्नो घरको ढोकाबाट यो रोड शो हेरिरहेकी थिइन् । जब उनलाई सोधियो- पश्चिम बंगालमा कम्युनिस्ट निकै कमजोर भइसकेको छ, तर यस रोड शोमा राम्रो भीड देखिन्छ ।
उनले जवाफ दिइन्, ‘यो केटी धेरै पढेलेखेकी छिन्, समझदार छिन् । मेरो विचारमा बंगालमा टीएमसीको विकल्प लेफ्ट नै हो ।’
घोषलृ टीएमसी महिलाहरूलाई प्रत्येक महिना एक हजार पाँच रुपैयाँ दिइरहेको र बीजेपीले प्रत्येक महिना तीन हजार रुपैयाँ दिने वाचा गरेको बताइन् । ‘के यसले बंगालका महिला सशक्त हुन्छन् ? यसले त महिलाहरूलाई अपाङ्ग बनाउँछ,’ घोष भन्छिन्, ‘महिलाहरूलाई शिक्षा र रोजगारी चाहिन्छ, न कि दान । दानको भरमा पार्टीहरूले मानिसहरूलाई नागरिक होइन, आफ्नो मतदाता बनाइरहेका छन् ।’
वामपन्थीबारे के भन्दैछन् मतदाता ?
अपर्णाको घर नजिकै एउटा चियापसल छ । ‘यीनी(कम्युनिस्ट)हरूको र्यालीमा धेरै मानिस आउँछन्, तर मतदानको समयमा गायब हुन्छन्,’ चिया पसले अन्ना मण्डल भन्छन्, ‘त्यसैले म वामपन्थीको र्यालीमा देखिएको भीडबाट धेरै आश्वस्त हुँदैन ।’ तर ‘यति भन्न सक्छु’ भनेर उनले दमदमको उत्तर क्षेत्रका सिटमा टीएमसी, बीजेपी र वामपन्थीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताए ।

सन् २०१६ को विधानसभा चुनावमा दमदम उत्तरमा सीपीएमले जित हासिल गरेको थियो, तर पछिल्लो २०२१ को चुनावमा टीएमसी सफल भयो । पश्चिम बंगालको २०२१ को विधानसभा चुनावमा सीपीएमले एक सिट पनि जित्न सकेन । मत प्रतिशत पनि पाँच प्रतिशतभन्दा तल झरेको थियो ।
सन् २०२४ को लोकसभा चुनावमा पनि गठबन्धन दलबीचको भागबण्डामा सीपीएमले कुनै सिट पाएन । सन् २०११ देखि पश्चिम बंगालमा सीपीएम सत्ता बाहिर मात्रै होइन, क्रमश: कमजोर हुँदैगएको छ ।
यस्तो अवस्थामा यसपटकको चुनावमा वामपन्थी शक्तिले कुन आधारमा जितको अपेक्षा गरिरहेको छ ?
यसको जवाफमा सीपीएम उम्मेदवार दीपसीता धर भन्छिन्, ‘हामीले लोकप्रिय (पपुलिस्ट) राजनीति गरिरहेका छैनौँ । हाम्रो राजनीति मानिसहरूलाई सचेत र सशक्त बनाउने हो ।’ अब मानिसहरूले टीएमसीले बंगालको अवस्था कस्तो बनाएको छ भन्ने बुझ्न थालेको उनले दाबी गरिन् । ‘बीजेपी शासित राज्यहरूको अवस्था पनि देखिरहेका छन् । यसपटक लेफ्टले पश्चिम बंगालमा धेरै राम्रो गर्नेछ,’ उनले भनिन् ।
दीपसीताले थप दाबी गर्दै अगाडि भनिन्, ‘पश्चिम बंगालमा टीएमसीलाई केवल वामपन्थीले मात्र हराउनसक्छ ।’
यहाँ बीजेपी जति बलियो हुन्छ, टीएमसी पनि उति नै बलियो हुने उनको बुझाइ छ । ‘यदि टीएमसीलाई हराउनुछ भने बीजेपीलाई कमजोर बनाउनुपर्छ । मानिसहरूबीच यस्तो धारणा बनाइँदैछ कि टीएमसीलाई सीपीएम र कांग्रेसले हराउन सक्दैनन्,’ उनले थप भनिन् ।
सीपीएमका वरिष्ठ नेता बिमान बोस ८७ वर्षका भइसकेका छन्, तर अझै पनि दैनिक चुनाव प्रचारमा सक्रिय छन् । उनी भन्छन्, ‘म हरेक दिन कम्तीमा १२ देखि १५ किलोमिटर हिँडेर प्रचार गरिरहेको छु । यति भन्नसक्छु कि यसपटक हाम्रो पार्टी शून्यमा रहने छैन ।’

के वामपन्थी नेताहरू भाजपामा गए ?
सन् २०११ मा जब टीएमसी सत्तामा आयो । त्यसपछि धेरै वामपन्थी नेता बीजेपीतिर गएको धेरैको बुझाइ छ । वरिष्ठ पत्रकार सायन्तन घोषले आफ्नो किताब ‘ब्याटलग्राउन्ड बंगाल’ मा यस्तै एउटा घटनाको उल्लेख गरेका छन् ।
घोषले किताबमा लेखेका छन् :
दक्षिण कोलकाताको एउटा धुवाँले भरिएको चियापसलमा मेरो पहिलो भेट हिरेन चटर्जी (हरु दा) सँग भएको थियो । सबैले उनलाई ‘हरु दा’ भनेर चिन्थे । त्यतिबेला म केवल एक स्कुलको विद्यार्थी थिएँ । हरु दा खुला सर्ट र घिस्रिएको पाइन्टमा हुन्थे, तर उनको आवाजमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का एक अनुभवी ट्रेड युनियन नेताको दम थियो । मिठो चियाको कप र बिडीको धुवाँबीच हरु दा कम्युनिज्म, मजदुरहरूको संघर्ष र ट्रेड युनियनको कठोर इतिहासका कथा सुनाउँथे । उनका कथाले अटो चालकदेखि बाटो हिँड्ने जोसुकैलाई पनि तान्थे । उनले यस्तो संसारको चित्र कोर्थे, जहाँ रातो झण्डाले न्यायको वाचा गर्थ्यो । बच्चा हुँदा म उनको कुरा आँखा ठुला पारेर सुन्थेँ, भविष्यमा म राजनीतिक पत्रकार बनेर उनको कथाको पछ्याउनेछु भन्ने थाहा थिएन ।
२०११ सम्म आइपुग्दा, जब ममता बनर्जीको तृणमूल कांग्रेसले वामपन्थीहरूको ३४ वर्षे शासन ढाल्यो, हरु दाको एउटा संदिग्ध मुद्दामा गिरफ्तारीको चर्चा फैलिन थाल्यो । उनले यसबारे खुलेर कहिल्यै बोलेनन्, प्रश्नहरूलाई काँध उचालेर टारिदिन्थे ।
जब म २०१७ मा दुर्गा पूजाका लागि कोलकाता फर्किएँ, त्यो अटो चालकहरूको युनियन–जो कहिल्यै सीपीआई(एम) को गढ थियो–टीएमसीको किल्ला बनिसकेको थियो । हरु दा कतै देखिएनन् । मैले सोचेँ, उनी सहरको किनारतिर हराइसकेका होलान्, बंगालको बदलिँदो राजनीतिक लहरका शिकार भएका होलान् । तर एक साँझ, मैले उनलाई फेरि चिनिएको चियापसलमै देखें–उमेर बढेको भए पनि उस्तै जोशका साथ कथा सुनाइरहेका । तर अब कथा बदलिएको थियो–वर्ग संघर्षको होइन, बीजेपीले ममतालाई सत्ताबाट हटाउने वाचाको । मेरो अचम्मित अनुहार देखेर उनले मुस्कुराउँदै भने, ‘ममतालाई हराउन सक्ने एक मात्र शक्ति बीजेपी हो ।’
वामपन्थीका अप्ठेरा
वरिष्ठ पत्रकार घोषले आफ्नो किताब ‘ब्याटलग्राउन्ड बंगाल’ मा थप अगाडि लेखेका छन्:
मलाई विश्वास नै लागेन । हरु दा, जो कहिल्यै कट्टर कम्युनिस्ट थिए, अहिले भारतीय जनता पार्टीका लागि र्याली गरिरहेका थिए ? मेरो अचम्म देखेर उनी हाँसे र भने–‘हामी वामबाट रामतर्फ आएका छौं ।’
उनका यी शब्द केवल व्यक्तिगत परिवर्तन थिएनन् । यसले बंगालको ठूलो राजनीतिक परिवर्तनको संकेत दिन्थ्यो, जहाँ वामपन्थीहरूको रातो झण्डाको ठाउँमा बीजेपीको केसरिया रङ फैलिँदै थियो ।
तर, वृन्दा करात भने वामपन्थी नेता बीजेपीतिर गएको कुरासँग सहमत छैनन् । उनी भन्छिन्, ‘वामपन्थीका मतदाता भने टीएमसीको डरले बीजेपीतिर सरेका हुनसक्छन्, तर क्याडर सरेको कुरा म मान्दिनँ ।’
वरिष्ठ पत्रकार सुमन भट्टाचार्य भने करातले पूरा सत्य नबताइरहेको आरोप लगाउँछन् । ‘पश्चिम बंगाल विधानसभामा बीजेपीका उपनेता शंकर घोष कहाँबाट आएका हुन् ? स्पष्ट छ–सीपीएमबाट,’ उनी भन्छन्, ‘उनको हातमा अझै चेग्वेराको ट्याटु छ । सुवेन्दु अधिकारीसँग रहने बंकिम घोष सीपीएम सरकारमा क्याबिनेट मन्त्री थिए ।’
‘आरामबागबाट सीपीएमका सात पटक सांसद रहेका अनिल बसुका छोरा के बीजेपीमा छैनन् ?’ भट्टाचार्यले अगाडि प्रश्न गरे, ‘दमदमबाट सीपीआई(एम) का सांसद अमिताभ नन्दीका छोरा के बीजेपीमा छैनन् ? सीपीएमका ट्रेड युनियनका नेसनल सेक्रेटरी रहेका तपन सेनका छोरा के बीजेपीमा छैनन् ? मेरो बुझाइमा बीजेपीले पश्चिम बंगालमा सीपीएमलाई ‘टेकओभर’ गरेको छ– मतमा पनि र नेतामा पनि ।’
भट्टाचार्यको बुझाइमा सन् २०११ मा जब ममता बनर्जीले वामपन्थी प्रभुत्व अन्त्य गरिन्, धेरैलाई लाग्यो कि अब बंगालको राजनीति टीएमसी र वामपन्थबीच मात्र रहनेछ । तर २०१४ मा जब नरेन्द्र मोदी प्रधानमन्त्री बने, परिवर्तनको लहर सुरु भइसकेको थियो । ‘बीजेपी बंगालमा विस्तारै उक्लिन थाल्यो, जसको मूल्य वामपन्थले आफ्नो घट्दो प्रभावका रूपमा चुकाउनुपर्यो,’ उनी भन्छन् ।
सन् २०१९ को लोकसभा चुनावमा वाम मोर्चाले पश्चिम बंगालमा एक सिट पनि जित्न सकेन र यसको मत प्रतिशत ७ प्रतिशतमा सीमित रह्यो ।
सन् २०२१ को विधानसभा चुनाव अझ निराशाजनक रह्यो । इतिहासमै पहिलो पटक लेफ्ट फ्रन्ट र कांग्रेस–जसले दशकौंसम्म बंगालको राजनीति आकार दिएका थिए– दुवै शून्यमा पुगे । टीएमसी २१३ सिटमा पुग्यो भने बीजेपी ७७ सिटसम्म उक्लियो ।
वामपन्थीका पार्टी कार्यालयमा पनि सन्नाटा
कोलकाताको अलीमुद्दीन स्ट्रीटस्थित सीपीएम मुख्यालयमा चुनावको समयमा पनि सन्नाटा देखिन्छ । केही वृद्धहरू मात्रै त्यहाँ बसेर बिडी तान्दै वा कम्प्युटरमा काम गरिरहेको देखिन्छ ।
८७ वर्षका बिमान बोस यही कार्यालयमा बस्छन् । ३० वर्षको उमेरमा उनले घर छाडेर पार्टीमा लागेका थिए र त्यसयता निरन्तर सक्रिय छन् । सीपीएमको यो अवस्थाको एक कारण उनी आफैं भन्छन्, ‘टीएमसीको उदय र ‘पहिचानको राजनीति’ लाई ठीकसँग सम्हाल्न नसक्नु ।’
प्रतिक्रिया 4