News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको छ।
- केन्द्रीय बैंकले कर्जा नोक्सानी व्यवस्थामा खुकुलो नीति ल्याउँदा बैंकहरूको नाफा बढेको र कर्जा नोक्सानी घटेको छ।
- सबैभन्दा धेरै नाफा नबिल बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ गरेको छ भने कर्जा नोक्सानी सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ३ अर्ब ९१ करोड छ।
१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूले वास्तविक नाफा साढे ४० अर्ब कमाएका छन् ।
बैंकहरूले उठ्दै नउठेको ब्याजलाई पनि नाफामा देखाएकाले ४९ अर्बभन्दा धेरै देखिएको थियो । चालु आव चैतसम्म २० वाणिज्य बैंकले ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको त्रैमासिक प्रतिवेदनमा देखिन्छ । तर, नउठेको ब्याजलाई घटाउँदा बैंकहरूले यस अवधिमा आर्जन गरेको खास नाफा भने साढे ४० अर्ब मात्रै हुन पुगेको हो ।
एनएफआरएस मार्फत लेखा राख्दा पाकेको तर नउठेको ब्याजलाई पनि आम्दानीमा देखाउन पाइन्छ । सोही अनुसार बैंकहरूले नाफामा देखाएको तर नउठेको ब्याज आम्दानी ८ अर्ब ४९ करोड बराबर छ ।
उठ्न बाँकी ब्याजसहित बैंकहरूले ४९ अर्ब २१ करोड खुद नाफा गरेका छन् । यो नाफा गत आव सोही अवधिको तुलनामा १९.२९ प्रतिशत धेरै हो । गत आव चैतसम्म ४१ अर्ब २५ करोड खुद नाफा गरेका थिए ।

बैंकहरूको नाफा कर्जा नोक्सानी व्यवस्था र वर्गीकरणमा केन्द्रीय बैंकले लिएको खुकुलो नीतिका करण सुधार देखिएको हो । त्यसको प्रभाव स्वरूप चालु आव तेस्रो त्रैमाससम्म बैंकहरूको कर्जा नोक्सानी बापत रकम पनि घटेको छ । यो अवधिमा केन्द्रीय बैंकले असल कर्जामा कर्जा नोक्सानी एक प्रतिशतमा झारेको छ भने कर्जा वर्गीकरणमा पनि सहज नीति लिएको छ ।
केन्द्रीय बैंकले लिलामी प्रक्रिया सुरु भएपछि कर्जा नियमित भएको खण्डमा उक्त कर्जालाई खराब वर्गमा वर्गीकरण गरिरहन नपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी नेपाल सरकारबाट स्वीकृतिप्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म/कम्पनीलाई प्रवाहित कर्जाका हकमा ऋणीको अनुरोधमा संशोधित व्यावसायिक योजना तथा नगद प्रवाह लगायत पक्ष विश्लेषण सहित बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरे आवश्यकता र औचित्यका आधारमा कर्जा पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
जेनजी आन्दोलन क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित संस्थाले प्रभाव यकिन गरी कर्जा पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न सक्नेछन् ।

त्यस्तै परिस्थितिवश समस्यामा परेका २ करोडसम्मका तोकिएका क्षेत्रमा प्रवाह भएको कर्जाका हकमा ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगद प्रवाह लगायत पक्ष विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
तोकिएका क्षेत्रका कर्जा बैंक तथा वित्तीय संस्थाको सबैभन्दा धेरै डिफल्ट भएको क्षेत्र हो । धेरै डिफल्ट भएको क्षेत्रको कर्जा पुनर्तालिकीकरण सुविधा उपलब्ध भएकाले पनि बैंकको कर्जा नोक्सानी घटेको हो ।
सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजना निर्माण कार्य सम्पन्न भएको वा निर्माण कार्य भइरहेको तर भुक्तानी प्राप्त हुन बाँकी निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाका हकमा १० प्रतिशत रकम असुलउपर गरी पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न सक्ने व्यवस्था छ ।
उल्लेखित व्यवस्थाका कारण पनि बैंकहरूको नाफा बढ्नुका साथै कर्जा नोक्सानी व्यवस्थाको रकम घटेको हो । तर, उठ्न बाँकी ब्याजका हकमा भने चालु आव चैतसम्म थपिएको मात्र छ ।
चैतसम्म बैंकहरूको नउठेको तर पाकेको ब्याज ८ अर्ब ४९ करोड रुपैयाँ बराबर छ । गत आव सोही अवधिमा बैंकहरूले यो शीर्षकबाट २ अर्ब ६४ करोड असुल गरेका थिए । (तथ्यांकमा माइनस चिह्नले उठेको संकेत गर्छ ।)

चालु आव तेस्रो त्रैमासमा बैंकहरूको वासलातमा केही सुधार देखिएको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले बताए ।
‘केही बैंकहरूको बाहेक समग्रमा हेर्दा उत्साहित हुनुपर्ने छैन,’ खालिङले भने, ‘अहिले कर्जा नोक्सानी नीति र पुनर्तालिकीकरण र पुनर्संरचना सुविधाले सुधार देखिएको हो ।’
त्यसका साथै चालु आव पछिल्लो समय केही बैंकको व्यवसायमा पनि सुधार आएको उनको भनाइ छ । तर, सबैको स्प्रेड दर मार्जिन कम भएको उनले बताए ।
चालु आव तेस्रो त्रैमासमा बैंकहरूको फि, कमिसन तथा अन्य आम्दानीमा सुधार आएको उनले बताए । बैंकहरूको नाफामा केही सुधार देखियो भन्दैमा बैंकिङ क्षेत्रका समस्या सुल्झिँदै गएको भनेर बुझ्न नहुने उनको भनाइ छ ।
‘रिकभरी उत्साहजनक नभएका अन्य बैंकले पनि बताउने गरेका छन्,’ उनले भने, ‘बैंकिङ क्षेत्रको सुधार आगामी दिनको अर्थतन्त्रको अवस्थाले निर्धारण गर्ने छ ।’
चालु आव चैतसम्म बैंकहरूको कुल कर्जा नोक्सानी बापत रकम ३५ अर्ब ६५ लाख छ । यो रकम गत आव सोही अवधिको तुलनामा २३ करोडले थोरै हो । त्यसबेला ३५ अर्ब २३ करोड ८५ लाख थियो ।
चालु आव चैतसम्म सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक छ । नबिलले उक्त अवधिमा ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
त्यसपछि धेरै नाफा गर्नेमा ग्लोबल आईएमई र एभरेस्ट बैंक छन् । दुवैको नाफा ४ अर्बभन्दा माथि छ । चार वाणिज्य बैंकको कर्जा नोक्सानी ३ अर्बभन्दा माथि छ । त्यसमध्ये पनि सबैभन्दा धेरै ग्लोबल आईएमईको छ । उसको कर्जा नोक्सानी व्यवस्था बापत रकम ३ अर्ब ९१ करोड छ ।
त्यसैगरी हिमालयन बैंकको ३ अर्ब १२ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको ३ अर्ब ५ करोड र प्राइम कमर्सियल बैंकका ३ अर्ब १ करोड छ ।
चालु आव चैतसम्म सबैभन्दा धेरै उठ्न बाँकी ब्याज एनआईसी एसिया बैंकको छ । सोही अवधिमा उसको उठ्न बाँकी ब्याज १ अर्ब ९१ करोड बराबर छ । गत आव सोही अवधिमा बैंकको उठ्न बाँकी ब्याज ४७ करोड ६३ लाखमात्र थियो ।
त्यस्तै गत चैतसम्म कुमारी बैंकको वित्तीय विवरणमा उच्च सुधार आएको छ । बैंकको कर्जा असुलीमा भएको सुधारको नतिजा नाफामा देखिएको छ । चैतसम्ममा बैंकको नाफा ३ अर्ब ८९ करोडले बढेको छ ।
चालु आव चैतसम्म ४ अर्ब १८ करोड नाफा गरेका कुमारीले गत आव सोही अवधिमा २८ करोड ५८ लाखमात्र नाफा गरेको थियो । गत आव चैतको तुलनामा चालु आव चैतसम्ममा ७ बैंकको नाफा घटेको छ भने १३ वटाको बढेको छ ।
प्रतिक्रिया 4