+
+
Shares

जिफन्ट घोषणापत्र : अबको आन्दोलन तलबमात्र होइन, दक्षता र डिजिटल रूपान्तरणमा केन्द्रित

मे दिवस २०२६ पूर्वसन्ध्यामा घोषणापत्र सार्वजनिक गर्दै ट्रेड युनियन आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने जनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते २०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बदलिँदो विश्व परिवेश र प्रविधि विकास अनुसार ट्रेड युनियन आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेको छ।
  • जिफन्टले श्रमिक आन्दोलनलाई दक्षता विकास, डिजिटल रूपान्तरण र उत्पादनशीलतासँग जोड्नुपर्ने आवश्यकता औंल्याएको छ।
  • महासंघले श्रम कानुन सुधार, रोजगारदातासँग नयाँ सम्झौता र समावेशी श्रम बजार निर्माणका लागि सरकारसँग निरन्तर संवाद गर्ने जनाएको छ।

१५ वैशाख, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बदलिँदो विश्व परिवेश, प्रविधि विकास र नयाँ राजनीतिक–सामाजिक सन्दर्भ अनुसार ट्रेड युनियन आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेको छ ।

मे दिवस २०२६ पूर्वसन्ध्यामा घोषणापत्र सार्वजनिक गर्दै ट्रेड युनियन आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने जनाएको हो ।

नेपाली श्रम क्षेत्रलाई नयाँ ढंगले पुन: परिभाषित गर्नुपर्ने आवश्यकता रहेको जिफन्टको ठहर छ । बदलिँदो राष्ट्रिय तथा विश्व श्रम परिवेश ध्यानमा राख्दै महासंघले अबको श्रमिक आन्दोलन केवल तलब वृद्धि वा पारिश्रमिकका मुद्दामा सीमित नरहने स्पष्ट गरेको छ ।

महासंघले सार्वजनिक गरेको घोषणापत्रमा आजको श्रम संसारमा देखिएको प्रविधिगत विकास, बजार प्रतिस्पर्धा र रोजगार संरचना परिवर्तन केन्द्रमा राख्दै ‘गतिशील र सशक्त श्रमिक आन्दोलन’ आवश्यक रहेको उल्लेख गरिएको छ ।

घोषणापत्र अनुसार श्रमिकका मुद्दा अब पारम्परिक मागभन्दा माथि उठेर दक्षता विकास, डिजिटल रूपान्तरण र उत्पादनशीलतासँग प्रत्यक्ष जोडिनुपर्ने आवश्यकता देखिएको छ ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा आएको ठूलो परिवर्तनका कारण अब पुराना ढर्राबाट मात्रै श्रमिकका मुद्दा सम्बोधन हुन नसक्ने बताए । आगामी महाधिवेशनमा यिनै विषयलाई मुख्य एजेन्डा बनाएर दीर्घकालीन योजना निर्माण गरिने उनको भनाइ छ ।

महासचिव शर्माले कार्यथलो र प्रविधिमा आएको परिवर्तनले श्रमिकको सिप र क्षमता विकासमा नयाँ चुनौती थपेको बताए ‘अहिलेको बदलिएको सन्दर्भलाई हामीले नयाँ सामाजिक सम्झौताका रूपमा व्याख्या गरेका छौं,’ उनले भने, ‘प्रविधिमा आएको परिवर्तन अनुसार श्रमिकहरूको क्षमता अभिवृद्धि गर्ने र देशको अर्थतन्त्रको आवश्यकता अनुसार अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।’

जिफन्टले सरकारसँग पनि सहकार्य र संवादका लागि विभिन्न मुद्दा पहिचान गरेको छ । श्रम कानुनमा सामयिक सुधार, रोजगारदातासँगको नयाँ किसिमको सम्झौता र श्रमिकका विद्यमान समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिने शर्माले बताए ।

‘परिस्थिति बदलिसक्यो, हामी पुरानै ढर्रामा बस्यौं भने टिक्न सक्दैनौं,’ शर्माले भने, ‘त्यसैले श्रम कानुन र रोजगारदातासँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’

जिफन्टले यसपालिको महाधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नराखी, श्रमिक आन्दोलनको नयाँ दिशा र नीति तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा लिएको छ । महासंघले प्रविधिमैत्री कार्यथलो र सुरक्षित श्रम सम्बन्धका लागि ‘ब्रेक थ्रु’ गर्ने योजना समेत बनाएको हो ।

श्रमिकको सम्मान र अधिकार प्रविधिसँग जोड्दै ‘सिपको अभिवृद्धि र प्रविधिसँग प्रगति’ भन्ने मूल नारा अघि सारेको छ । यसले श्रमिकलाई केवल श्रम गर्ने व्यक्तिका रूपमा होइन, दक्ष, प्रविधिमैत्री र प्रतिस्पर्धी जनशक्तिका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ ।

घोषणापत्रमा सामाजिक सुरक्षा प्रणाली अझ प्रभावकारी र समावेशी बनाउनुपर्ने, वैदेशिक रोजगारीको विकल्प स्वरूप देशभित्रै नयाँ रोजगारी सिर्जना गर्नुपर्ने तथा राष्ट्रिय उद्योगको संरक्षण मार्फत आन्तरिक उत्पादन वृद्धि गर्नुपर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

यसका साथै श्रम बजारलाई समावेशी बनाउँदै महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।

महासंघले श्रम नीति समयानुकूल परिमार्जन गर्दै श्रमिकमैत्री वातावरण सिर्जना गर्न सरकार, निजी क्षेत्र र श्रमिक संगठनबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।

घोषणापत्रमा समावेशी समृद्धि अवधारणा केन्द्रमा राख्दै आर्थिक विकासमा श्रमिकको निर्णायक भूमिका सुनिश्चित गर्नुपर्ने धारणा प्रस्तुत गरिएको छ ।

अबको चुनौती केवल न्यूनतम पारिश्रमिक वृद्धि होइन, गुणस्तरीय रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र सामाजिक न्यायसहित आर्थिक विकास रहेको जिफन्टको ठहर छ ।

यसले श्रमिक आन्दोलनलाई नयाँ दिशा दिँदै दीर्घकालीन रूपान्तरणतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?