१६ वैशाख, मनाङ । मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । बुधबारबाट यार्सागुम्बा संकलन सुरु भएको हो ।
औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा हुने यार्सागुम्बा संकलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । उनका अनुसार यहाँका धेरै खर्कमा यार्सागुम्बा पाइने भए पनि संकलन भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा संकलन थालिएको छ ।
‘यार्सा पाइने नजिकको खर्कबाट संकलन सुरु भएको छ । पहिलाको भन्दा उत्पादनमा ह्रास आउदै गएको संकलनकर्ताले भनिरहेका छन्,’ उनले भने,‘यो समस्याको रूपमा विकास भएको देखिँदै गएको छ ।’
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण व्यवस्थापन निर्देशिका २०५६ हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटीको सङ्कलन अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो कार्यक्षेत्रभित्र सङ्कलन पुर्जी दिने गरेको छ ।
जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रभित्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलन अनुमति दिने र जिल्ला बाहिरका नेपाली नागरिकलाई यार्सागुम्बा सङ्कलन सम्बन्धित संरक्षण व्यवस्थापन समितिमा निर्भर रहने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।
कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्दछन् । नार्पाभूमिका खर्कमा जिल्लाभित्रका नागरिकलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइन्छ भने बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिने प्रावधान छैन ।
‘भौगोलिक रूपमा नै विकट भएकाले सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमिका खर्कमा यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छैन,’ उनले भने, ‘अन्य स्थानीय तहका खर्क खाङ्सार, हुलाकी ओडार र पिसाङलगायतका जिल्लाका सबै खर्कमा यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।’ स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ । यार्सागुम्बा सङ्कलनका निम्ति नाम्ग्या खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइने प्रावधान निर्धारण गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । –रासस
प्रतिक्रिया 4