१७ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा क्रमिक सुधार आउने जनाएको छ । तर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा भने आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना छ । तर यो वर्षा वैशाख हिजो अस्तिको जस्तो ठूलो नहुने मौसमविदहरुको भनाइ छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हिजो मंगलबार र बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको थियो । कतिपय स्थानमा भारी वर्षा समेत भएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको हंसपुरमा भएको छ । त्यहाँ १०४.६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी कास्कीको रिभानमा ८१ मिलिमिटर वर्षा मापन भएको छ ।
आज पनि केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज वैशाख १७ गते कोशी, मधेश प्रदेश लगायत हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
वैशाख १८ गते शुक्रबार दिउँसो: कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने सम्भावना छ । र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया 4