News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणले सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यले सहायक कम्पनी 'नेपाल डिजिटल पूर्वाधार कम्पनी' सञ्चालनमा ल्याएको छ।
- कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई 'प्लग–एण्ड–प्ले' मोडलमा पूर्वाधार उपलब्ध गराउने र पूँजीगत खर्च घटाउने लक्ष्य राखेको छ।
- कम्पनीले तारको गुजुल्टो हटाउन, भूमिगत डक्ट र पोल साझा प्रयोग गरी शहरी सौन्दर्य र सुरक्षा सुधार्ने काम प्राथमिकताका साथ गर्ने प्राधिकरणले जनाएको छ।
१७ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले सहायक कम्पनी सञ्चालनमा ल्याएको हो ।
गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्यका साथ यो कम्पनीले आफ्नो कार्य आरम्भ गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
‘पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ शाक्यले भने ।
यस कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई ‘प्लग–एण्ड–प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउनेछ । यसो हुँदा सेवा प्रदायकहरूले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झट गर्नु नपर्ने शाक्यको भनाइ छ ।
प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकहरूको पूँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउनेछ । काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको तारको गुजुल्टो हटाउन कम्पनीले प्राथमिकताका साथ काम गर्ने पनि प्राधिकरणले जनाएको छ ।
‘भूमिगत पाइपको साझा प्रयोगले शहरी सौन्दर्य फर्काउनुका साथै विद्युत् र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्ने अपेक्षा हामीले गरेका छौँ’ शाक्यले भने ‘हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झट पनि योसँगै अन्त्य हुनेछ ।’
शाक्यले अब प्रतिस्पर्धा पूर्वाधारमा नभई सेवाको गुणस्तरमा हुनुपर्नेमा जोड दिए । सरकारले नेपालका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्याउने लक्ष्य राखेको बताए।
प्रतिक्रिया 4