News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर जुट मिल्सको मजदुर क्वार्टर खाली गर्ने सूचना जारी भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
- स्थानीय प्रशासन र मिल्स व्यवस्थापनले संरचना अतिक्रमण गर्नेहरूलाई हटाउन सहजीकरण गर्ने तयारी गरेको छ।
- मोरङका सहायक प्रमुख जिल्ला अधिकारीले बसोबास गर्नेहरूको विवरण संकलन भइरहेको र प्रक्रियागत रुपमा अघि बढ्ने बताए।
१८ वैशाख, विराटनगर । नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल्सका मजदुरका लागि बनाइएको ‘हटताली हाट’ प्रजातान्त्रिक आन्दोलनको विगुल फुक्ने चोक हो ।
गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी सहितका नेताले यही चोकमा रहेको बर-पिपलको फेदबाट प्रजातन्त्रका लागि जनतालाई सडकमा आउन उत्प्रेरित गरेका थिए ।
तर, आज इतिहासको साक्षी रहेको चौतारी वरिपरिका बासिन्दा आफ्नै भविष्यलाई लिएर त्रसित र उकुसमुकुस छन् । स्थानीय प्रशासनमार्फत मिल्सको मजदुर क्वार्टर खाली गर्ने सूचना जारी भएपछि स्थानीयमा छटपटी सुरु भएको हो ।
दैनिक मजदुरी गर्ने फिरोज शेख आज काममा नगई हटताली हाट आएका थिए । बिहीबार दिउँसो भेटिएका उनले बास उठ्ने चिन्ता रहेको बताए । ‘मेरो त जन्म नै यहीँ हो । बुबाले जुट मिल्समा काम गर्नुभएको थियो,’ उनले भने, ‘हटायो भने कहाँ जानू ?’

बिहीबार दिउँसो चौतारामा भेटिएकी जयरा खातुनको अनुहारमा पनि उस्तै चिन्ताले झल्किन्थ्यो । ६२ वर्षीय खातुन आफैंले पनि मिल्समा काम गरिन् । उनका श्रीमान्ले पनि काम गरे । बस्ती हटाउने सूचनाले उनी त्रासमा छिन् । कहाँ जाने भन्ने चिन्ता छ ।
बिहीबार दिउँसो चोकमा बालबालिकासहित महिला-पुरुष र वृद्धवृद्धा भेला भएका थिए । उनीहरूको एउटै गुनासो थियो, ‘हामीले भोट दिएर बनाएको सरकारले हाम्रै छानो उजाड बनाउँदैछ ।’
स्थानीय कमला मगर हाटताली हाटमा एक्लै बस्छिन् । जुट मिल्समा काम गर्ने श्रीमान् र एउटा छोराको मृत्यु भइसकेको छ । जेठा छोरा बेपत्ता छन् । पसल गरेर गुजारा चलाउँदै आएकी उनले डोजर चलाउनुअघि जहर (विष) दिन आग्रह गरिन् ।

‘बालेन सरकारले हामीलाई हटाउनुभन्दा अगाडि जहर दिनुपर्यो । हामी खाएर मर्न तयार छौं,’ उनले दुखेसो पोखिन्, ‘मेरा श्रीमान् यहीँ बिते, छाडेर कहाँ जानु ? हामी बेघर भएर बस्न सक्दैनौं ।’
विकासको आश गरेका नेताबाट बास खोस्ने प्रयास भएको उनको गुनासो छ । ‘युवा सरकार आउँछ, हामीले रोजगारी पाउँछौं भनेर नाति-नातिनाले भनेपछि बालेन सरकारलाई भोट दिएको हो,’ कमलाले भनिन्, ‘छोरा-नाति सम्झेर भोट दियौं । आज हाम्रै घर उजाड्न आउँदा के गर्ने, कहाँ जाने ?’
जुट मिल्स २०७० सालदेखि पूर्ण रूपमा बन्द छ । मिल्सले बन्द हुनुअघि मजदुरको बक्यौता भुक्तानी गरेको थियो । तर मजदुरले क्वार्टर छाडेनन् ।

स्थानीय बादल चन्द मजदुर क्वार्टर खाली गराउने भए बसोबास गर्नेहरूलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘हामीलाई बसोबास गर्ने अर्को ठाउँ दियो भने जान्छौ,’ उनले भने, ‘हामीलाई बस्ने र रोजगारीको ठाउँ दिने हो भने हट्छौं ।’
७० वर्षीय वृद्ध कृष्णबहादुर क्षेत्रीले पनि विकल्प बिना क्वार्टर छाड्ने पक्षमा आफू नरहेको बताए ।
विराटनगर जुट मिल्सका सुपरभाइजर मनोज खड्काका अनुसार हटताली हाटसहित मिलको मजदुर क्वार्टर क्षेत्रमा ४०० बढी परिवार बसिरहेका छन् ।
‘सरकारले सबै मजदुरको हिसाब फरफारक गरेपछि केहीले मजदुर क्वार्टर छाडे, केही बसिरहे । क्वार्टर क्षेत्रमा अरू मानिस आएर पनि बसे,’ उनले भने, ‘हाटताली हाट क्षेत्रमा केही वास्तविक सुकुमवासी छन्, केही चाहिँ भाडा लगाएर खानेहरू पनि छन् ।’
उनका अनुसार ६९ बिघा क्षेत्रमा फैलिएको विराटनगर जुट मिल्सको जग्गामध्ये उद्योग भएको क्षेत्रमा ४६ बिघा छ । हरिनगर भट्टा, हाटताली हाट, दक्षिण गेट र दरैयाबस्तीमा १४ बिघाभन्दा बढी जग्गा छ ।

उद्योग क्षेत्र बाहेकको जग्गामा सकुमवासी बसेका छन् । मिल्स संरचनामा ८० वटा साना-ठूला टहरा पनि छन् । वर्षौं पहिले मजदुरका लागि व्यापार गर्न दिइएको ती टहरामा बसेकाहरूले भाडा तिरेका छैनन् । भाडा तिर्न ताकेता गर्दा पनि अटेर गरिरहेको खड्काले बताए ।
सरकारले संरचना अतिक्रमण गरेर बसेकाहरूलाई हटाउन मिल्स व्यवस्थापनले सहजीकरण गर्ने उनले बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला जुट मिल्सको संरचनामा बसोबास गर्नेहरूको विवरण संकलन भइरहेको बताउँछन् । तत्काल बस्ती खाली नगर्ने बताउँदै उनले विवरण संकलनपछि प्रक्रियागत रुपमा अघि बढ्ने बताए ।
‘त्यहाँ बसोबास गर्नेहरू सुकुमवासी रहे/नरहेको विवरण माग गरेका छौं, ‘उनले भने, ‘बस्ती हटाउने हुँदा स्थानीय प्रशासन र मिल्स प्रशासनबाट प्रक्रिया अघि बढ्छ, हामीले सपोर्ट गर्छौं ।’
प्रतिक्रिया 4