News Summary
Generated by OK AI. Editorially reviewed.- २०८३ साल वैशाख पूर्णिमाका दिन लुम्बिनीमा २५७० औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
- बुद्ध दर्शनले प्राणीप्रति करुणा, अहिंसा, मैत्री र सहअस्तित्वको सन्देश दिन्छ र पशु हत्या र बलिको विरोध गर्दछ।
- नेपालमा पशु अधिकार संरक्षणका लागि कानुनी व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण छ।
हरेक वर्ष वैशाख पूर्णिमाका दिन लुम्बिनीमा बुद्ध जयन्ती विशेष रूपमा मनाइन्छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने पवित्र स्थल लुम्बिनीमा २०८३ साल (सन् २०२६) मा २५७० औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ मनाउने तयारी भइरहेको छ । बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग एकैदिन परेको आजको विशेष दिन हो ।
यस अवसरले केवल धार्मिक आस्थालाई मात्र प्रवर्द्धन गर्दैन, बुद्धका गहिरा दार्शनिक सन्देशहरूलाई पनि स्मरण गराउँछ । विशेषगरी मानव मात्र होइन, सम्पूर्ण प्राणी जगत्को अधिकार र संरक्षणलाई पुनः स्मरण गर्ने अवसर पनि यसले प्रदान गर्दछ ।
बौद्ध दर्शनको मूलमा प्राणीप्रति गहिरो करुणा र अहिंसाको भावना निहित छ । बुद्धले प्राणीलाई केवल उपयोगको वस्तु होइन, संवेदनशील जीवका रूपमा व्याख्या गरेका छन् । यही दृष्टिकोणले आजको पशु अधिकार भन्ने आधुनिक अवधारणालाई हजारौँ वर्षअघि नै नैतिक आधार प्रदान गरिसकेको देखिन्छ ।
बौद्ध चिन्तनका चार प्रमुख आधार– अहिंसा (कुनै पनि प्राणीलाई हानि नगर्ने), मैत्री (सबैप्रति मित्रभाव), करुणा (अरूको दुःखप्रति संवेदनशीलता) र प्रतीत्यसमुत्पाद (सबै जीव एक–अर्कामा निर्भर छन्) ले सहअस्तित्वको गहिरो सन्देश दिन्छन् । बुद्धका अनुसार मानिस र जनावरबीच श्रेष्ठ–हीन सम्बन्ध होइन, सहअस्तित्वको सम्बन्ध रहनुपर्छ ।
पशु हत्या र बलिको सन्दर्भमा बुद्धको दृष्टिकोण अत्यन्त स्पष्ट र प्रगतिशील थियो । उनले वैदिक परम्परामा प्रचलित पशुबलिको विरोध गर्दै धार्मिक कर्मका नाममा हुने हिंसालाई अस्वीकार गरे । यसले धर्मको नाममा गरिने हिंसा पनि अस्वीकार्य हुन्छ भन्ने सन्देश दिन्छ ।
विनय पिटकमा भिक्षुहरूका लागि बनाइएका नियमहरू अझ कडा छन्– जानाजानी प्राणी हत्या गर्नु गम्भीर अपराध मानिन्छ, जीवित वनस्पति नष्ट गर्नु पनि दोषपूर्ण ठहरिन्छ । यसले के देखाउँछ भने बौद्ध धर्म केवल सैद्धान्तिक उपदेश होइन, व्यवहारमा लागू गरिने अनुशासित नैतिक प्रणाली हो ।
बौद्ध साहित्यका जातक कथाहरूले पनि प्राणीप्रतिको करुणा र त्यागको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छन् । रुरु जातकमा हरिणले मानिसलाई बचाउँछ, महाकपि जातकमा बाँदरका राजाले आफ्नो शरीरलाई पुल बनाएर अरूको रक्षा गर्छन्, शश जातकमा खरायोले आत्मबलिदान दिन्छ र व्याघ्री कथामा बोधिसत्वले आफ्नो शरीर दिएर भोकाएकी बाघिनीलाई बचाउँछन् । यी कथाहरूले जनावरहरू पनि करुणा र नैतिकताका पात्र हुन् भन्ने सन्देश दिन्छन् ।
मासु सेवनबारे बौद्ध दृष्टिकोण पनि सन्तुलित र नैतिक छ । जीवक सुत्तअनुसार तीन अवस्थामा मासु सेवन निषेध गरिएको छ– यदि प्राणी मारिएको देखिएको छ, सुनिएको छ वा शङ्का लागेको छ भने । यसलाई ‘त्रिविध शुद्धता’ भनिन्छ ।
प्रारम्भिक बौद्ध परम्पराले पूर्ण रूपमा मासु निषेध नगरे पनि प्रत्यक्ष वा अप्रत्यक्ष हिंसामा संलग्न हुन नहुने स्पष्ट सन्देश दिन्छ । तर महायान परम्परामा भने लङ्कावतार सूत्रअनुसार मासु सेवन पूर्ण रूपमा निषेध गरिएको छ, किनकि यसले करुणाको विकासमा बाधा पुर्याउँछ । यसले देखाउँछ कि बौद्ध धर्ममा नैतिकताको विकासक्रम समयसँगै अझ संवेदनशील र व्यापक हुँदै गएको छ ।
बुद्धले आजीविकासम्बन्धी पनि महत्त्वपूर्ण नैतिक मापदण्ड प्रस्तुत गरेका छन् । उनले प्राणी व्यापार, मासु व्यापार, हतियार, विष र मदिरा व्यापारलाई ‘गलत आजीविका’ का रूपमा व्याख्या गरे; किनकि यस्ता पेसाले हिंसा र पीडा बढाउँछन् । यसले आर्थिक गतिविधिमा पनि नैतिकताको आवश्यकता औँल्याउँछ ।
इतिहासमा सम्राट् अशोकले बौद्ध करुणालाई राज्य नीतिमा रूपान्तरण गर्ने प्रयास गरेका थिए । उनका शिलालेखहरूमा पशु हत्या घटाउने, मानिस र जनावर दुवैका लागि उपचार व्यवस्था गर्ने र केही प्राणीहरूको हत्या पूर्ण रूपमा निषेध गर्ने व्यवस्था उल्लेख भएको पाइन्छ । यसले राज्यस्तरमै प्राणी अधिकारको संरक्षण सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्छ ।
आधुनिक युगमा पशु अधिकारको अवधारणा पश्चिमी दर्शनमा पनि विकसित भएको छ । जेरेमी बेन्थमले ‘प्रश्न यो होइन कि उनीहरूले सोच्न सक्छन् कि सक्दैनन्, प्रश्न यो हो कि उनीहरूले पीडा महसुस गर्न सक्छन् कि सक्दैनन्’ भनेर नैतिकताको आधार पीडा अनुभूति हुने क्षमतामा राखे ।
पिटर सिङ्गरले पनि जनावर मुक्तिको अवधारणा अघि सारे । यी आधुनिक विचारहरू बौद्ध दर्शनसँग गहिरो रूपमा मिल्छन्, किनकि बुद्धले पनि ‘सबै प्राणी पीडाबाट बच्न चाहन्छन्’ भनेर करुणालाई केन्द्रमा राखेका थिए ।
नेपालको सन्दर्भमा पनि पशु अधिकार संरक्षणका लागि कानुनी व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिताले पशु क्रूरतालाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वन्यजन्तु हत्या र शोषणमा कडा सजायको व्यवस्था गरेको छ । यद्यपि कानुन भए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ ।
बौद्ध दर्शनले दिएको सन्देश आजको विश्वमा झनै सान्दर्भिक देखिन्छ । जहाँ मानव अधिकारकै संरक्षणमा चुनौती देखिएको छ, त्यहाँ प्राणी अधिकारको सवाल अझै ओझेलमा पर्ने खतरा छ । तर मानव अधिकार र पशु अधिकार वास्तवमा एकअर्काका पूरक हुन् । यी दुवैको आधार करुणा, न्याय र सहअस्तित्व हो ।
मानव अधिकारले मानिसलाई सम्मानपूर्वक बाँच्ने, स्वतन्त्र हुने र पीडाबाट मुक्त रहने अधिकार दिन्छ । त्यस्तै, पशु अधिकारले जनावरलाई अनावश्यक हिंसा, शोषण र पीडाबाट जोगाउने कुरा गर्छ । जब समाजले जनावरप्रति दयालु व्यवहार गर्छ, त्यो समाज मानिसप्रति पनि संवेदनशील हुने सम्भावना बढी हुन्छ । हिंसा जहाँ हुन्छ, चाहे त्यो मानिसमाथि होस् वा जनावरमाथि, त्यहाँ अन्याय र असुरक्षा बढ्ने जोखिम रहन्छ ।
यसर्थ, पशु अधिकारको सम्मान गर्नु भनेको केवल जनावरको रक्षा मात्र होइन, मानवताको स्तर उकास्नु पनि हो । बुद्ध दर्शनले यही सन्देश दिन्छ– ‘मासु खानु वा नखानुभन्दा ठुलो कुरा हो, कुनै पनि प्राणीलाई हानि नपुगोस् ।’
अन्ततः बुद्धको करुणामय दृष्टिकोणले हामीलाई एउटा स्पष्ट बाटो देखाउँछ– न्यायपूर्ण, दयालु र सहअस्तित्वमा आधारित समाज निर्माण गर्ने बाटो । बोल्न नसक्ने प्राणीहरूको आवाज बन्नु नै साँचो मानवता हो । बुद्ध जयन्तीको सन्दर्भमा यो सन्देश आत्मसात् गर्न सकियो भने मात्र यसको वास्तविक अर्थ पूरा हुनेछ ।
बुद्ध जयन्तीका अवसरमा हार्दिक शुभकामना ।
भवतु सब्ब मङ्गलम्, अप्प दीपो भवः !
प्रतिक्रिया 4