News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाहले बुद्ध जयन्तीमा साँचो क्रान्ति ज्ञानबाट सुरु हुने अभिव्यक्ति दिएका थिए।
- जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन्।
- सरकारले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्ती डोजर चलाएर भत्काएको र उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको विषयमा बहस भइरहेको छ।
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा दिएको अभिव्यक्तिको प्रतिउत्तर दिँदै जेनजी अभियन्ता रक्षा बमले साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन्।
बिहीबार प्रधानमन्त्री शाहले शान्तिको सन्देश जारी गर्दै साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो भनेका थिए । प्रधानमन्त्रीको उक्त भनाइलाई उद्धृत गर्दै अभियन्ता बमले लेखेकी छन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो।’
स्पष्ट र दीर्घकालीन व्यवस्थापनको योजनाबिना नै सरकारले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको र उनीहरूलाई होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनाए भन्दै रक्षाको यो भनाइ आएको हो।
एकातिर सरकारको नेतृत्वले ज्ञान र शान्तिको दार्शनिक उपदेश दिने, तर अर्कोतिर व्यवहारमा गरिब तथा सीमान्तकृत नागरिकको बासस्थान भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरको कष्टकर अवस्थामा अलपत्र पार्ने कार्यमा विरोधाभास रहेको आलोचकहरूको ठम्याइ छ।
राज्यको कदममा मानवीयता र करुणा नदेखिएको भन्दै बमले प्रधानमन्त्रीको ज्ञानको भाष्यमाथि करुणाको वैचारिक प्रहार गरेकी हुन्।
सुकुम्बासी बस्ती हटाउने सरकारको पछिल्लो कदमलाई लिएर चौतर्फी बहस भइरहेको छ। नागरिक समाज र युवा अभियन्ताहरूले सुकुम्बासीलाई उचित विकल्प र सुरक्षित आवासको ग्यारेन्टी गरेर मात्रै बस्ती खाली गराउन सरकारलाई दबाब दिँदै आएका छन्।
प्रतिक्रिया 4