१८ वैशाख, बुटवल । गएरातिदेखि वर्षाले बुद्धजयन्तीको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी दर्शन गर्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरु प्रभावित भएका छन् । वर्षाले मायादेवी मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्यटकको संख्यामा कमी देखिएको छ ।
बुद्धजयन्तीको अवसरमा लुम्बिनी मायादेवी मन्दिर परिसरमा शुक्रबार २५७० औँ बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइँदैछ । लुम्विनी विकास कोषले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहानैदेखि कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी हुन संघीय संसद्का सभामुख डोलप्रसाद अर्याल सहित संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री गनेश पौडेल विहीबार नै आइपुगेका थिए । बिहान उनीहरू मायादेवी मन्दिर भित्र आयोजित विशेष पूजा र ध्यानमा सहभागी भएका छन् ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदुत गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

गौतमबुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण पनि वैशाख पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले विशेष दिनका रूपमा मनाउने गर्छन् ।
बुद्ध जयन्तीमा लुम्बिनीमा भिक्षु, भिक्षुणी, डोल्मासर लगायत श्रद्धालु भक्तजनहरु सहभागी भएका छन् ।
बौद्ध धर्मावलम्बीहरुले दान, ध्यान, प्रवचन लगायतका कार्य गरी बुद्ध जयन्ती मनाउने गर्छन् ।
तत्कालीन राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा जन्मेका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा निस्किएका थिए ।

प्रतिक्रिया 4