+
+
Shares

७२ वर्षीया पम्फाको चित्कार- सरकार ! म कता जाऊँ ?

वरिपरिका छिमेकी कुम्लो कसेर हिँड्न थाले । तर पम्फा एक्लै यही टहरामा छिन्, उद्धारको प्रतीक्षामा ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोठाटार सुकुमवासी बस्तीमा प्रहरी प्रशासनले बिहानै माइकिङ गरी बस्ती खाली गर्न आदेश दिएको छ।
  • ७२ वर्षीया फम्फा दमाईले १३ वर्षदेखि बसोबास गरेको टहरा खाली गर्नुपर्ने भएपछि चिन्ता व्यक्त गरेकी छिन्।
  • फम्फाले आफ्नो जीवन संघर्ष र परिवारको अवस्था सुनाउँदै उद्धारको प्रतीक्षा गरिरहेकी छिन्।

१८ वैशाख, काठमाडौं । प्रहरी प्रशासनले बिहानै माइकिङ गर्‍यो, ‘बस्ती खाली गर्नू ।’

गोठाटार (लव डाँडा) सुकुमवासी बस्तीकी ७२ वर्षीया फम्फा दमाई अन्योलमा परिन् । ‘काम कम सुन्छु । खाली गर्नु भनेको छ रे,’ उनलाई छिमेकीले खबर सुनाए ।

ओल्लो-पल्लो घर खाली गर्न थाले । कोही जस्ताको छानो झिक्न थाले । कोही डेरा खोज्न निस्किए । कोही पोका पन्तुरा कस्न थाले । उनको टहरा भने नाम मात्रको छ । दायाँबायाँ जस्ताको पाताले घेरेको मात्र छ ।

‘हिजोको पानीले लुगाफाटो भिज्यो,’ उनले भनिन् । पम्फाले लुगा ढोका अगाडि सुकाउन राखेकी छिन् । राम्रोसँग ओत लाग्ने ठाउँ पनि छैन । असरल्ल सामानहरू छन् । उनले १३ वर्ष यही टहरामा जीवन बिताएकी छिन् ।
‘अरू कोठा खोज्न गए रे । म कतै गएको छैन । जान्न पनि । कोठा भाडा तिर्न पैसा छैन,’ उनले दुखेसो पोखिन् ।

पम्फाले लुगा सिएर चुल्हो बाल्ने गरेकी छिन् । ‘लुगा सिउने मेसिन छ । अहिले पनि काम गरिरहेको छु । काम नगरे कसले खान दिन्छ ?,’ उनी थाकेकी छैनिन् । तर टहरा खाली गर्ने भने पनि उनी कहाँ जाने, के गर्ने भन्ने चिन्तामा छैनन् ।

‘कतै जान्न । टहरा पनि भत्काउदिनँ । प्रहरीले हटाउन आयो भने लैजाऊ भन्छु । जहाँ लान्छन्, त्यहीँ जान्छु,’ उनीसँग अर्को विकल्प छैन ।

गत २१ फागुनमा भएको प्रतिनिधिसमा चुनावमा उनले रास्वपालाई भोट दिएकी रहिछिन् । ‘घण्टीलाई भोट दिएको हुँ । अहिले यसैले यस्तो गर्‍यो,’ मतदाता परिचयपत्र देखाउँदै उनले गुनासो गरिन् ।

पम्फाका १६ जना सन्तान जन्मिएका थिए । तर यतिबेला उनी एक्ली भएकी छिन् । ‘१४ वटा बितिगए । एउटा छोरी र एउटा छोरो छ । छोरी भोलि आउँछु भनेकी छिन्,’ उनले सुनाइन् । छोरा भने फोहोरमैला व्यवस्थापनमा काम गर्छन् । २०५८ सालमा श्रीमान्‌को मृत्यु भएपछि उनी एक्लो भएकी हुन् ।

२०५८ सालमा पम्फाका श्रीमान् बिरामी परे । भक्तपुरको ठिमीमा जन्मिएकी उनी विवाह गरेर गोठाटार आएकी हुन् । दुई-तीन आना जग्गा पनि थियो उनको ।

‘श्रीमान्‌लाई क्यान्सर भएको थियो । उहाँको उपचार गर्दा र छोराछोरी हुर्काउँदा त्यो जग्गा सकियो । ऋण लागेपछि जग्गा बेचेर सुकुमवासी बस्तीमा आइपुगेको हुँ,’ उनले भनिन्, ‘अब यहाँबाट फेरि कहाँ जानू ?’

वरिपरिका छिमेकी कुम्लो कसेर हिँड्न थाले । तर पम्फा एक्लै यही टहरामा छिन्, उद्धारको प्रतीक्षामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?