News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व बैंक र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घका अनुसार पछिल्ला दुई दशकमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १ अर्बबाट ५ अर्ब पुगेको छ।
- विश्व स्वास्थ्य सङ्गठनले पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यलाई एक्काइसौं शताब्दीको निर्णायक चुनौती भनेको छ।
- अमेरिकी प्राध्यापक काल न्युपोर्टका अनुसार प्रविधिको अव्यवस्थित र असचेत प्रयोगले मानिसको ध्यान र समय नियन्त्रण गर्ने क्षमता गुम्दै गएको छ।
प्रविधि मानव सभ्यताको सबैभन्दा ठूलो उपलब्धि हो। यसले उत्पादन, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याएको छ। विश्व बैङ्क र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घका अनुसार पछिल्ला दुई दशकमा विश्वमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १ अर्बभन्दा कमबाट ५ अर्बभन्दा बढी पुगेको छ, जसले सूचनाको पहुँचलाई सर्वव्यापी बनाएको छ।
डिजिटल विश्लेषक साइमन केम्पका अनुसार हाल सामाजिक सञ्जाल प्रयोगकर्ता करिब ५.६ अर्बभन्दा बढी पुगेका छन्। यसैकारण भिडियो कल, रियल–टाइम मेसेजिङ र डिजिटल प्लेटफर्महरूले मानिस बीचको सम्पर्कलाई क्षणभरमै सम्भव बनाएका छन्।
उत्पादन क्षेत्रहरू जस्तै: औद्योगिक स्वचालन, रोबोटिक्स र डेटा–आधारित उत्पादन प्रणालीले दक्षता बढाएको छ। म्याकिन्से ग्लोबल इन्स्टिच्युटको अध्ययन अनुसार डिजिटल प्रविधिको प्रयोगले उत्पादनशीलता २० देखि ३० प्रतिशतसम्म वृद्धि गरेको छ। प्रविधिको प्रयोगले समय र स्रोतको बचत मात्र होइन, लागत घटाउने र गुणस्तर सुधार गर्ने क्षमता पनि दिएको छ। बैङ्किङ प्रणाली डिजिटल भुक्तानी, मोबाइल बैङ्किङ र अनलाइन लेनदेनमा रूपान्तरण भएको छ।
शिक्षा क्षेत्रमा अनलाइन लर्निङ प्लेटफर्म, भर्चुअल कक्षा र खुला शैक्षिक स्रोतहरूले ज्ञानको पहुँचलाई भौगोलिक सीमाभन्दा बाहिर पुर्याएका छन्। स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन, डिजिटल डायग्नोस्टिक्स र एआई–आधारित उपचार प्रणालीले उपचारलाई छिटो र प्रभावकारी बनाएको छ।
मानव जीवन बाहिरी रूपमा सुविधासम्पन्न देखिन्छ। तर सुविधा बढेसँगै जीवन सरल हुनुपर्नेमा वास्तविकता उल्टो छ। प्रविधिले समय बचत गरिदिएको छ तर ध्यान र ज्ञानलाई निरन्तर खण्डित गरिरहेको छ। मानिससँग सूचना अत्यधिक छ तर बुझाइ गहिरो छैन। क्षणभरमा नै सम्बन्धहरू विस्तार भएका छन् तर आत्मीयता र विश्वास घट्दै छ। यही विरोधाभासलाई विचारकहरूले ‘सुविधाभित्र लुकेको सङ्कट’ का रूपमा व्याख्या गरेका छन्। प्रविधिको विकासले मानव जीवनलाई सहज बनाउने उद्देश्य राखे पनि यसको तीव्र र अनियन्त्रित विस्तारले नै आजको सङ्कट जन्माएको हो।
यथार्थ हो— मानिस मानसिक रूपमा बढी विचलित, सामाजिक रूपमा बढी एक्लो र बौद्धिक रूपमा बढी सतही हुँदै गएको छ। चेतना, सामाजिक सम्बन्ध र वास्तविकता बुझ्ने क्षमतामा क्रमशः ह्रास आउन थालेको छ। जीवन बाहिरबाट व्यवस्थित देखिन्छ, भित्रबाट उति नै अस्थिर, विखण्डित र अनिश्चित बन्दै गएको छ। यही कारण आधुनिक युग प्रगतिको मात्र नभई मानव जीवनको सङ्कटको युग बन्न पुग्दैछ; जहाँ सङ्कट भौतिक होइन, चेतना, अर्थ र नियन्त्रणको हो।
अमेरिकी प्राध्यापक काल न्युपोर्टका अनुसार प्रविधि समस्या होइन, बरु यसको अव्यवस्थित र असचेत प्रयोग हो। आज मानव जीवन प्रविधिलाई उपकरणका रूपमा प्रयोग गर्नेभन्दा पनि त्यसको प्रभावमा बाँचेको छ। सामाजिक सञ्जाल, नोटिफिकेसन र निरन्तर सूचना प्रवाहले जीवनलाई मानसिक निर्भरतामा बाँधेको छ। यसले गर्दा मानिसले आफ्नो ध्यान, समय र ऊर्जा आफैंले नियन्त्रण गर्न सक्ने क्षमता गुमाउँदै गएको छ।
पहिले ज्ञान दीर्घकालीन ध्यान, अध्ययन र आत्मचिन्तनको प्रक्रियाबाट निर्माण हुन्थ्यो। पुस्तक पढ्दा मानिस लामो समय एउटै विचारसँग बस्न बाध्य हुन्थ्यो, जसले विचारलाई गहिरो रूपमा बुझ्ने अवसर दिन्थ्यो। तर अहिलेको डिजिटल वातावरणमा पढाइ निरन्तर विच्छेदको बीचमा हुन्छ; एक लिङ्कबाट अर्को लिङ्क, एक नोटिफिकेसनबाट अर्को सूचनातर्फ ध्यान सर्दै जान्छ।
ज्ञानको स्वरूपलाई “गहिरो संरचना” बाट “सतही स्क्यानिङ” मा रूपान्तरण गरेको छ। मानिसले धेरै जानकारी देख्छ तर थोरै बुझ्छ; धेरै कुरा थाहा हुन्छ तर थोरै सम्झन्छ। सूचना छिटो प्राप्त हुन्छ तर त्यसलाई विश्लेषण, संयोजन र दीर्घकालीन ज्ञानमा रूपान्तरण गर्ने क्षमता कमजोर हुँदै गएको छ।
माइक्रोसफ्ट क्यानडाले प्रकाशित गरेको एक अध्ययन अनुसार मानिसको औसत ध्यान अवधि (अटेन्सन स्पान) करिब ८ सेकेन्ड जति मात्र रहेको छ। सामाजिक सञ्जालमा प्रसारित छोटा भिडियो र निरन्तर सूचना प्रवाहले मानिसलाई “दीर्घ ध्यान” बाट “क्षणिक ध्यान” तर्फ धकेलेको छ। यसको परिणामस्वरूप गहिरो अध्ययन, आलोचनात्मक सोच र धैर्य घट्दै गएको छ।
यस सन्दर्भमा निकोलस कारले आफ्नो पुस्तक ‘द स्यालोलज’ मा उल्लेख गरेको तर्क निकै सान्दर्भिक छ। उनका अनुसार निरन्तर सूचना प्रवाहले मानव मस्तिष्कको कार्यप्रणालीलाई नै परिवर्तन गरिरहेको छ। डिजिटल माध्यममा पढ्ने, स्क्रोल गर्ने र छिटोछिटो जानकारी ग्रहण गर्ने बानीले हाम्रो ध्यानलाई खण्डित बनाउँछ र गहिरो चिन्तनको क्षमतालाई कमजोर पार्छ। क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानहरूले पनि लगातार सूचना प्रवाहले गहिरो एकाग्रता (डिप फोकस) क्षमतालाई कमजोर बनाउने पुष्टि गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब १ अर्ब मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। यो तथ्य केवल स्वास्थ्य सम्बन्धी आँकडा मात्र होइन, आधुनिक सभ्यताको गहिरो सङ्कटको सङ्केत पनि हो। विशेषगरी डिजिटल प्रविधिको अत्यधिक प्रयोग, सहरीकरण र अनिश्चित जीवनशैलीले मानिसको मानसिक सन्तुलनमा निरन्तर दबाब सिर्जना गरिरहेको छ।
सामाजिक सञ्जालमा देखिने कृत्रिम सफलता र जीवनशैलीले धेरै व्यक्तिमा आत्मअसन्तुष्टि, चिन्ता र तनाव बढाइरहेको छ। यसैकारण विश्व स्वास्थ्य सङ्गठनले पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यलाई एक्काइसौं शताब्दीको निर्णायक चुनौती भनेको छ।
विश्व स्वास्थ्य सङ्गठन युरोपअन्तर्गत गरिएको एचबीएससी अध्ययनअनुसार बालबालिकामा सामाजिक सञ्जालको अस्वस्थ वा नियन्त्रणहीन प्रयोगको दर करिब ७ प्रतिशतबाट बढेर ११ प्रतिशत पुगेको छ। हार्वर्ड लगायतका विभिन्न अनुसन्धानले सामाजिक सञ्जालको प्रयोग र एक्लोपन बीच गहिरो सम्बन्ध देखाएका छन्।
अनुसन्धानहरूले सामाजिक सञ्जालको प्रयोगले किशोरकिशोरी र युवा वर्गलाई जोडिएको जस्तो देखाए पनि धेरै प्रयोगको अवस्थामा यसले एक्लोपन बढाउने निचोड प्रस्तुत गरेका छन् । यही कारण पछिल्ला दुई दशकमा किशोरकिशोरीहरूमा एन्जाइटी र डिप्रेसनको दर उल्लेखनीय रूपमा बढेको देखिन्छ, जुन केवल जैविक वा व्यक्तिगत कारणले मात्र होइन, सामाजिक-प्राविधिक वातावरणसँग गहिरो रूपमा जोडिएको छ।
अर्कोतर्फ सामाजिक सञ्जालले सम्बन्धलाई गुणात्मक होइन, परिमाणात्मक बनाइदिएको छ। सामाजिक सञ्जालमा हजारौं साथी वा फलोअर भए पनि त्यही अनुपातमा आत्मीयता, विश्वास र भावनात्मक नजिकपन घटेको छ। सञ्जालले सम्बन्धको दायरा विस्तार गरेको छ तर गहिराइ घटाएको छ।
फ्रान्सेली समाजशास्त्री जिन बोड्रिलार्डले भनेझैं आधुनिक समाज ‘हाइपररियालिटी’ (निर्मित वास्तविकता) मा प्रवेश गरिरहेको छ; जहाँ वास्तविक अनुभवभन्दा डिजिटल प्रतिनिधित्व बढी प्रभावशाली हुन्छ। मानिसले जीवन बाँच्नुभन्दा त्यसलाई देखाउन बढी महत्त्व दिन थाल्छ।
मुख्य कारण, डिजिटल सम्बन्धहरू अक्सर प्रदर्शनमा आधारित हुन्छन्; जहाँ मानिसले आफ्नो वास्तविक अवस्थाभन्दा पनि आफ्नो कृत्रिम छवि प्रस्तुत गर्छ। लाइक, कमेन्ट र सेयरहरू सामाजिक स्वीकृतिको सूचकका रूपमा देखिएका छन्; यसैले आफ्नो वास्तविक अनुभवभन्दा पनि अरूलाई प्रभावित पार्ने सामग्री प्रस्तुत गर्न प्रेरित छन्।
जसका कारण सम्बन्धहरू यथार्थभन्दा धारणामा आधारित हुँदै छन्, स्वाभाविकभन्दा रणनीतिक बन्दै छन्। जब सम्बन्धको आधार वास्तविक अनुभव होइन, तर डिजिटल प्रस्तुति हुन्छ; तब त्यसमा गहिराइ, स्थायित्व र विश्वसनीयता अत्यन्तै कमजोर हुन्छ।
सञ्जालहरूमा फैलिएको सूचना ज्ञान बन्नुभन्दा पहिले नै उपभोग्य सामग्री बनेको छ। प्लेटफर्महरूका लागि सूचना ज्ञान होइन, ध्यान आकर्षित गर्ने वस्तु हो। जसले ध्यान जित्छ, त्यसले मूल्य जित्छ। ध्यान जित्ने सबैभन्दा प्रभावकारी माध्यम प्रायः तथ्य होइन, भावना हो। आक्रोश, डर, उत्साह, कुण्ठा वा विवादजस्ता तीव्र भावनाले मानिसलाई तुरुन्त प्रतिक्रिया दिन प्रेरित गर्छ। यही कारण आक्रोशपूर्ण पोस्टहरू छिटो फैलिन्छन्, विवादास्पद सामग्री बढी साझा हुन्छन्।
सामाजिक सञ्जालका अल्गोरिदमहरूको मुख्य लक्ष्य गुणस्तर होइन, संलग्नता हो। अर्थात् कुन सामग्री सही छ भन्नेभन्दा पनि कुन सामग्रीले बढी क्लिक, लाइक, सेयर र कमेन्ट ल्याउँछ भन्ने कुरा प्राथमिक हो। जसका कारण भावनात्मक सामग्रीले बढी स्थान पाउँछ; चरम आक्रोश, कुण्ठा र प्रतिक्रियाहरू बढी ट्रेन्डिङ हुन्छन्। फलस्वरूप सत्य र तथ्य कमजोर बन्न पुग्छ। यो केवल प्रयोगकर्ताको छनोट होइन, प्रणालीगत डिजाइनको परिणाम हो।
प्रविधिले गोपनीयता र स्वतन्त्रतामाथि पनि प्रश्न उठाएको छ। डेटा सङ्कलन र अल्गोरिदमहरूले मानिसको व्यवहार मात्र होइन, उसको सोचाइलाई समेत प्रभावित गरेका छन्। यसले व्यक्तिलाई स्वतन्त्र निर्णयकर्ताभन्दा पनि निर्देशित उपभोक्ता बनाएको छ।
अन्त्यमा, समस्या प्रविधि आफैंमा होइन, बरु त्यसलाई प्रयोग गर्ने तरिका र त्यसलाई निर्देशित गर्ने सामाजिक-आर्थिक संरचनामा लुकेको छ । प्रविधि मानव सुविधाका लागि विकास गरिएको उपकरण हो, जसले समय बचत, सूचनाको पहुँचलाई सहज र जीवनलाई अधिक प्रभावकारी बनाउँछ । जब चेतना सचेत, सन्तुलित र उद्देश्यपूर्ण रहन्छ, तब त्यही प्रविधि ज्ञान, सिर्जना र अर्थपूर्ण जीवन निर्माण गर्ने शक्तिशाली साधन बन्न सक्छ । त्यसैले आजको युगको गहिरो सत्य यही हो- प्रविधि होइन, मानव चेतनाको दिशा नै भविष्य निर्धारण गर्ने मुख्य शक्ति हो ।
तर जब यसको प्रयोग असन्तुलित, अनियन्त्रित र केवल उपभोगमुखी बन्छ, तब यही सुविधा नै मानव सङ्कटका रूपमा रूपान्तरण हुन थाल्छ।
प्रतिक्रिया 4