News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमबाट पूर्वतिर सरिरहेको मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणालीको सूचना जारी गरेको छ।
- सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
- मंगलबारसम्म कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
२१ वैशाख, काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमश: पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ ।
विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्व सरिरहेको हुनाले ती क्षेत्रहरू र आसपासको क्षेत्रहरूमा थप वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’
विपद्विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार भारतको पन्जाब, हरियाणा, हिमान्चल, उत्तराखण्ड हुँदै सुदूरपश्चिमको लगभग सबै भागमा मेघगर्जनसहित पानी पार्ने बादल प्रवेश गरेको छ । त्यसले सुदूरपश्चिम र आसपासका क्षेत्रमा पानी पारिरहेको छ । सो प्रणालीको प्रभाव लुम्बिनी प्रदेशका जिल्लाहरुमा सरिरहेको छ । जसका कारण आज दिनभरजसो बादल लाग्ने र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर बादल लाग्नुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यो साताभर देशका विभिन्न भागमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको ढकालले बताए ।
बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ ।
पहाडी र हिमाली भेगमा पनि यो साताभर वर्षा वा हिमपातको सम्भावना छ ।
प्रतिक्रिया 4