+
+
Shares

प्रि-मनसुनमै राजमार्गमा सास्ती : दोहोरिँदै नियति

पूर्णरूपमा सडक निर्माण नभएसम्म बीपी राजमार्गको यात्रा अव्यस्थित नै हुनेछ । यो शृङ्खला आगामी वर्षायामभरि दोहोरिने निश्चित छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ वैशाख २० गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी राजमार्गमा वर्षा र बाढीले डाइभर्सन बारम्बार बगाउँदा यातायात अवरुद्ध भएको छ र पूर्ण सडक निर्माण नहुँदासम्म समस्या जारी रहने छ।
  • कान्तिलोकपथको भीमफेदी गाउँपालिका–८ भरेङडाँडामा गएको पहिरोले राजमार्ग अवरुद्ध भए पनि आज अपराह्नदेखि यातायात सेवा सञ्चालनमा आएको छ।
  • नेपालमा सडक मर्मतमा वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि वर्षात्को सामान्य प्रभावले सडक अवरुद्ध हुने समस्या निरन्तर देखिएको छ।

२० वैशाख, काठमाडौं । अघिल्लो साता परेको वर्षासँगै बीपी राजमार्ग बन्द भयो । १२ वैशाखका दिन रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएको थियो ।

आइतबार डाइभर्सन मर्मत गरी सवारी आवागमन सुरु गरियो । १३ वैशाखमा फेरि बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भयो । राजमार्गका चिउरीबास, नार्के र चारसय बेँसीमा सडक लामो समय अवरुद्ध भयो ।

यातायात विज्ञसमेत रहेका सिन्धुली-२ का सांसद तथा विकास समिति सभापति आशिष गजुरेल सहित टोलीले १६ वैशाखमा बीपी राजमार्गको स्थलगत भ्रमण गर्‍यो ।

गजुरेलका अनुसार अहिले बीपी राजमार्गको नेपालथोकदेखि भकुन्डेबेँसीसम्मको कुल ३० किलोमिटर खण्डमा कतै सडक चौडा र कतै निर्माण जारी छ । यो खण्ड निर्माण गर्न लागेको ठेक्का अवधि असार २०८४ सम्म छ ।

उनका अनुसार निर्माण गति उत्साहजनक र निराशाजनक दुवै छैन । अहिले खोलाबाटै डाइभर्सन बनाएर यातायात चलाइएको छ । निर्माण भइरहेको सडकबाट अबको एक महिनापछि सवारी गुडाउने तयारी छ ।

सोहीकारण अहिले यो राजमार्ग आसपास जब वर्षा हुन्छ, खोलामा बाढी आउनासाथ सवारी रोकिने अवस्था निरन्तर चलिरहने देखिएको छ । समितिले एक महिनाभित्र राजमार्गकै ट्र्याकबाट गाडी गुड्नलायक बनाउनुपर्‍यो भन्ने निर्देशन दिइएको उनले बताए ।

उनका अनुसार पूर्णरूपमा सडक निर्माण नभएसम्म बीपी राजमार्गको यात्रा अव्यस्थित नै हुनेछ । यो शृङ्खला आगामी वर्षायामभरि दोहोरिने निश्चित छ ।

हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका-८ भरेङडाँडामा गएराति गएको पहिरोले आज बिहानैदेखि राजमार्ग अवरुद्ध रह्यो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

आजै मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला नजिकै ढुंगा खस्दा यातायात प्रभावित भयो । सडक डिभिजन भरतपुरका अनुसार उक्त खण्डमा खसेका ढुंगा पन्छाएर केही समय भित्रै यातायात सुरु गरिएको थियो ।

यता, सूर्यविनायक-धुलिखेल सडकमा पानी पर्नासाथ हिलाम्य र सुक्नासाथ अत्यधिक धुलोले यात्रा कष्टकर बनाइरहेको छ । सोही नियति अहिले मुग्लिन-काठमाडौं सडक खण्डका विभिन्न क्षेत्रमा छ । अर्थात्, नेपालमा अहिले प्रि-मनसुनजन्य मौसमी गतिविधि चलिरहेका छन् ।

यही बेला मुख्य राजमार्गहरूमा यातायात कष्टकर बन्दा यात्रा असहज मात्र बनेको छैन, जोखिम पनि निम्त्याएको छ । गत बिहीबार रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा भएको सडक दुर्घटनाको स्थलगत प्रकृति हेर्दा पनि दुर्घटनामा कच्ची र हिलाम्य सडक अवस्थातर्फ संकेत गर्छ ।

उता, धेरै यात्रुले हरेक वर्ष सास्ती भोगिरहेको बुटवल-नारायणगढ सडक खण्डमा भने यस वर्ष समस्या समाधान हुने अपेक्षा छ । आयोजनाले यसै साता सार्वजनिक गरेको विवरण अनुसार दाउन्ने सडकको पूर्वी भोगमा एकतर्फी ढलान गर्ने काम सम्पन्न भएको छ ।

दाउन्ने क्षेत्रमा कुल १४ किलोमिटर सडक पर्छ । जहाँ एकझर झरीले समेत सडक चिप्लो हुने र यातायात प्रभावित हुने गर्छ । यो खण्डलाई असार भित्रै ढलान सक्ने लक्ष्य राखेर काम भइरहेको आयोजनाले जनाएको छ ।

कहाँ-कहाँ छ अवरोध ?

नेपाल प्रहरीले आइतबार बिहान १०:३० मा सार्वजनिक गरेको अपडेट अनुसार ५ राजमार्ग अवरुद्ध थियो । त्यसमध्ये कान्ति लोकपथमा आवागमन भइसकेको छ ।

प्रहरी विवरण अनुसार मध्यपहाडी राजमार्गको भोजपुर खण्डमा एकतर्फी यातायात चलिरहेको छ । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका कोदारीस्थित इकु पहिरोका कारण यातायात दुईतर्फी बन्द छ । बेनी-जोमसोम सडकको म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिका-३ जलजलेमा यातायात एकतर्फी खुला छ ।

उता, मध्यपहाडी राजमार्गको लमजुङस्थित मध्यनेपाल नगरपालिका-२० बिमिरेभञ्ज्याङमा समेत राजमार्ग दुईतर्फी बन्द रहेको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ ।

सडक मर्मतमा वार्षिक ६ अर्बमाथि खर्च, सास्ती उस्तै

नेपालमा सडक मर्मत सम्भारमा मात्र हरेक वर्ष ६ अर्ब रुपैयाँभन्दा माथिको बजेट खर्च हुने गर्छ । तर, सामान्य वर्षातमै सडक अवरुद्ध हुने शृङ्खला भने रोकिएको छैन ।

सडक बोर्ड नेपालको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा सडक मर्मत सम्भार खर्च ६ अर्ब ६८ करोड ८५ लाख बराबर छ । गत आव नियमिततर्फ ७ हजार ९ सय ३६ किलोमिटर सडक मर्मत गरिएको छ । पटके ३ हजार ९ सय २९, आवधिक ३ सय ६९, पुनर्स्थापना/पुनर्निर्माण ३९, विशेष ९०, आकस्मिक ८० र सडक सुरक्षामा ९५ किलोमिटर सडकको काम भएको छ ।

सडक बोर्डले आव २०८०/८१ मा सडक मर्मतमा मात्र ९ अर्ब २५ करोड खर्च गरेको तथ्यांक छ ।

एकातर्फ सडक मर्मत र नवनिर्माण गर्दा एकसाथ धेरै स्थानमा सडक भत्काउने र निर्माणको गति कम हुँदा सानो वर्षाले नै सडकमा सास्ती निम्त्याउने गरेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका एक पूर्वसचिवले बताए ।

अर्कातर्फ, सडकमा समस्या आउँदा मर्मतमा जागरुकता देखिए पनि जोखिमपूर्ण क्षेत्रमा बाह्रैमास अनुसन्धान र जोखिम न्यूनीकरणका काम नहुँदा सडकमा समस्या देखिने गरेको उनले बताए ।

‘अहिले सडक विभाग मार्फत टोली र उपकरण सबैजसो रणनीतिक सडकमा तत्काल पुग्ने र सडक आवागमन खुलाइहाल्न कर्मचारी खटिने गर्छन्,’ उनले भने, ‘तर, सम्भावित जोखिम न्यूनीकरणमा वर्षा अगाडि नै धेरै काम हुनुपर्ने थियो, त्यस्तो काम कम हुने गरेको छ ।’

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?