News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चन्द्रप्रसाद ढकालबाट अञ्जन श्रेष्ठलाई हस्तान्तरण भएको छ।
- श्रेष्ठले आगामी तीन वर्ष निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनः परिभाषित गर्ने र नीति निर्माणमा निजी क्षेत्रको आवाज सुनिने प्रतिबद्धता जनाएका छन्।
- ढकालको कार्यकालमा निजी क्षेत्रलाई विकास साझेदारका रूपमा स्थापित गर्न लगानीमैत्री वातावरण निर्माण र आर्थिक सुधार सुझाव आयोग गठन गरिएको थियो।
२३ वैशाख, काठमाडौं । देशभरिका ५ लाखभन्दा बढी उद्योगी–व्यवसायी कुनै न कुनै रूपमा जोडिएको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हस्तान्तरण भएको छ ।
अर्थतन्त्रका लागि उतारचढावले अस्थिर र कठिन बनाएको समयमा पनि सफल नेतृत्व गर्दै चन्द्रप्रसाद ढकालले महासंघबाट आफ्नो भारी अञ्जन श्रेष्ठको काँधमा बिसाएका छन् ।
ढकालले छाड्दै गर्दा अर्थतन्त्रमा निराशाभन्दा अपेक्षा अधिक र चुनौतीभन्दा अवसर अधिक भएको साइत जुरेको छ । व्यवसायीले लामो समयदेखि उठाइरहेको नीतिगत अस्थिरताको जड राजनीतिक अस्थिरता थियो । जनताले २१ फागुन २०८२ को निर्वाचनबाट मुलुकमा दुई तिहाइ नजिकको शक्तिशाली सरकार बनाउन पुग्ने जनमत सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्तामा पुर्याएका छन् ।
सोही सन्दर्भमा स्वयं श्रेष्ठकै शब्दमा ‘अबको तीन वर्ष शक्तिशाली सरकारसँग साझेदार र सहयात्रा गर्नु निजी क्षेत्रको नेतृत्वको मुख्य उद्देश्य रहने छ’ ।
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले ८२ प्रतिशत योगदान गरिरहेको अनुमान छ । रोजगारीमा ८६ प्रतिशत योगदान छ । उद्यमी–व्यवसायीको हित रक्षा, मनोबल वृद्धि र अर्थतन्त्र विस्तारमा नयाँ नेतृत्वले काम गर्ने श्रेष्ठले बताए ।
महासंघको ६०औं वार्षिक साधारणसभाका अवसरमा भावी नेतृत्वका रूपमा श्रेष्ठले अर्थतन्त्रका अवसर र चुनौती चिरफारको प्रयत्न गरेका थिए । सोही जगमा आफ्नो कार्यकाललाई गति दिने जिम्मेवारी श्रेष्ठको काँधमा आएको छ ।

नेपालको व्यावसायिक क्षेत्रका अनुभवी नेता श्रेष्ठले महासंघमा मात्र दुई दशकको यात्रा पूरा गरी सर्वोच्च पदमा पुगेका हुन् । महासंघमा उनी कार्यसमिति सदस्यबाट अध्यक्षसम्मको यात्राका दौरान राज्यको नीति–निर्माण र व्यावसायिक वातावरण निर्माणमा निरन्तर सक्रिय रहे ।
व्यवसायिक घराना लक्ष्मी ग्रुपमार्फत उनले बहुआयामीक क्षेत्रमा लगानी विस्तार गरेका छन् । जसका माध्यमबाट रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउन उनले भूमिका खेलेका छन् ।
अञ्जन अनुकुल टिम
महासंघमा यस पटक दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । नतिजा अनुसार अञ्जनले समर्थन गरेको प्यानलतर्फ उद्योगी–व्यवसायीको झुकाव देखाएको छ ।
जिल्ला/नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । दुवै अञ्जनले समर्थन गरेको प्यानलका उम्मेदवार हुन् । एसोसिएट उपाध्यक्षमा अञ्जनले समर्थन गरेको समूहबाटै प्रबलजंग पाण्डे विजयी भए ।
एसोसिएट महिला सदस्यमा पाण्डेकै समूहबाट दुई उम्मेदवार जुना माथेमा र अभिज्ञा मल्ल विजयी भए । एसोसिएटमा निर्वाचित १७ कार्यकारिणी सदस्यमध्ये बहुमत सदस्य सोही प्यानलबाट विजयी भएका छन् ।
वस्तुगतमा भने हेमराज ढकाल समूहबाट उम्मेदवार बनेका नरेशलाल श्रेष्ठ विजयी भए । प्रतिस्पर्धामा प्यानलसहित उत्रिए पनि अञ्जनका लागि यस पटक तुलनात्मक सहज टिम बनेको छ ।
अञ्जनका ५ प्राथमिकता
अञ्जनले आगामी तीन वर्षे कार्यकालमा गर्ने कामका प्राथमिकता साधारणसभाकै अवसरमा सार्वजनिक गरिसकेका छन् । उनका अनुसार पहिलो काम निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुन: परिभाषित गर्नु हुनेछ ।
सरकाले निजी क्षेत्रलाई साक्षी नभई सहयात्राकर्ता मान्ने वातावरण आफूले बनाउने अञ्जनको घोषणा छ । नीति निर्माण, बजेट निर्माण, ऐनकानुन निर्माण र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिने र प्रतिविम्बित हुने प्रणाली विकास गर्ने उनको प्रतिबद्धता छ ।
निजी क्षेत्रप्रतिको धारणामा परिवर्तन ल्याउने उद्घोष समेत श्रेष्ठले गरेका छन् । ‘उद्यमी भनेको शोषक होइन, सम्पत्तिको निर्माता हो, व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो’ भन्ने सत्य समाजमा स्थापित गर्न महासंघले अभियान नै चलाउने अञ्जनले घोषणा गरेका छन् ।

श्रेष्ठले निजी सम्पत्ति, व्यावसायिक हक र लगानी सुरक्षा सुनिश्चित गर्न पैरवी गर्ने घोषणा समेत गरेका छन् । व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्ति, अग्रिम धरौटी सुविधा अभाव र विवाद समाधानको ढिलो प्रक्रियाजस्ता समस्या समाधानमा पहल गर्ने उनको प्रतिबद्धता छ । नेपालमा निजी लगानी बढाउन ठोस पहल घोषणा समेत उनले आफ्नो प्राथमिकतामा समेटेका छन् ।
देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पूँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने र विदेशी लगानी सहज बनाउने नीतिगत वातावरण बनाउने घोषणा उनको छ ।
यसबाहेक जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत र क्षेत्रगत संघका कामलाई अझ प्रभावकारी बनाउने समेत उनको योजना छ । यसबीच महासंघकै आग्रहमा सरकारले मन्त्रिपरिषद्बाट पारित निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन कार्यक्रम कार्यान्वयन, १ सय खर्बको अर्थतन्त्र, दोहोरो अंकको आर्थिक वृद्धि र वार्षिक २ लाखलाई रोजगारी दिने गरी मार्गचित्र बनाउने घोषणा समेत श्रेष्ठले आफ्नो योजनामा समेटेका छन् ।
कस्तो रह्यो ढकाल कार्यकाल ?
आजबाट चन्द्रप्रसाद ढकालको तीन वर्षे कार्यकाल पूरा भएको छ । महासंघको नेतृत्व ढकालले सम्हाल्दै गर्दा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश अर्थतन्त्रका लागि अनुकूल थिएन । जुन स्वयं ढकाल स्वीकार्छन् ।
‘महासंघ अध्यक्षमा मेरो यात्रा कठिन र जटिल आर्थिक परिवेशमा सुरु भएको थियो,’ ढकाल भन्छन् ।

यस अवधिमा सहकार्य, नीतिगत सुधार र संस्थागत रूपान्तरण मार्फत निजी क्षेत्रलाई ‘दबाब समूह’ बाट ‘विकास साझेदार’ का रूपमा स्थापित गर्न आफूले प्रयास गरेको ढकालको भनाइ छ ।
लगानीमैत्री वातावरण निर्माण, आन्तरिक तथा वाह्य लगानी प्रवर्द्धन र निजी क्षेत्रको मनोबल उकास्न निरन्तर पहल गरिएको उनले बताएका छन् । यस अवधिमा आर्थिक बहस संस्थागत बनाउने काम महासंघले गरेको थियो ।
आर्थिक सुधार सुझाव आयोग मार्फत कानुनी सुधारको आधार तयार पारिएको थियो । बृहत स्वदेशी पूँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना उनको कार्यकालका मुख्य उपलब्धि हुन् ।
प्रतिक्रिया 4