+
+
Shares

प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की

‘यति योग्यताले भरिएको महिला (सपना प्रधान मल्ल), यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा ?’ कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीश सिफारिसमा चौथो वरीयतामा रहेका डा. मनोज शर्मालाई नियुक्ति गलत भएको बताइन्।
  • कार्कीले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम भएको र महिला प्रधानन्यायाधीश रोक्नु सरकारले गरेको गल्ती भएको उल्लेख गरिन्।
  • उनले न्यायाधीशको नियुक्ति योग्यता अनुसार हुनुपर्ने र सपना प्रधान मल्लले महिला सम्बन्धी कानूनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्।

२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले बिहीबार गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति जनाएकी छिन् ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै रोष प्रकट गरिन् ।

संवैधानिक र अरू सबै प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश समेत रहेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको उनको तर्क छ ।

‘यति योग्यताले भरिएको महिला, यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा ?’ कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’

योग्यताले भरिएको एक सक्षम महिलालाई रोक्ने काम सरकारबाट भएको भन्दै यसको परिणाम पनि वर्तमान सरकारले नै भोग्नुपर्ने उनको भनाइ थियो ।

‘राज्यको तीनवटा संस्था हुन्छन् । सबै संस्थाको आफ्नो एउटा प्रतिष्ठा हुन्छ, गर्व हुन्छ  । प्रहरीमा कसरी नियुक्ति हुन्छ ? अगाडि अगाडि छानिंदै आउँछ नि ! एउटा सिपाही पनि प्रमोसन पाउँदै पाउँदै माथि पनि आएको हुन्छ’ उनले भनिन्, ‘न्यायाधीशको पनि त्यस्तै प्रमोसन हुँदै हुँदै आएको हुन्छ ।  सर्वोच्चमा नियुक्ति भए पनि त्यहाँ पनि त योग्यता अनुसार हुन्छ । अलिकति योग्यता नभएको भए त बीचमा ड्रप गर्न सकिन्छ नि !’

उनले आफू प्रधानन्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधानन्यायाधीश भनेर रिपोर्ट आएको प्रसंग उल्लेख गर्दै त्यसप्रति अहिलेको सरकारले सोच्दै नसोची निर्णय लिएको बताइन् ।

‘अहिले जुन सपनाजी हुनुहुन्छ, उहाँ कुनै अयोग्य मान्छे होइन । उहाँले जीवनभर वकालत गर्नुभएको हो। उहाँले आईएनजीओ र एनजीओ बीच पनि वकालत गर्नुभएको छ । कानून बनाउनलाई मद्दत गर्नुभएको हो’, उनले भनिन् ।

देशमा महिला सम्बन्धी कानून ल्याउनका लागि सपना प्रधान मल्ल जस्ता पात्रहरूको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

(सुशीला कार्कीसँगको विस्तृत अन्तर्वार्ता केहीबेरमा अनलाइनखबरमा प्रकाशित हुनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?