+
+
Shares

सरकारले भन्यो- प्रधानन्यायाधीश सिफारिसको आधार मुद्दा फर्स्योट दर

सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै इतिहासमै पहिलोपटक कार्यक्षमता र सूचकका आधारमा प्रधानन्यायाधीशको सिफारिस भएको दाबी गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले प्रधानन्यायाधीश सिफारिसमा मुद्दा फर्स्योट दरलाई मुख्य सूचक मान्दै वरिष्ठता मिचिएको प्रश्नको जवाफ दिएको छ।
  • सरकारले मन्त्रालयको सङ्ख्या अधिकतम १८ वटामा सीमित गर्ने तयारी गरिरहेको र मन्त्रालय गाभ्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
  • १५०० भन्दा बढी राजनीतिक नियुक्ति खारेज गरी अब विज्ञता र दक्षतामा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने योजना बनाएको छ।

२५ वैशाख, काठमाडौं । सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचिएको भन्ने प्रश्नको जवाफ दिँदै मुद्दा फर्स्योट दर लाई मुख्य सूचक मानेर सिफारिस गरिएको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै इतिहासमै पहिलोपटक कार्यक्षमता र सूचकका आधारमा प्रधानन्यायाधीशको सिफारिस भएको दाबी गरेका हुन्।

वरिष्ठता मिचेर गरिएको सिफारिसबारे सोधिएको जिज्ञासामा प्रवक्ता पोखरेलले भने, ‘६ जनामध्ये उहाँ नै सबैभन्दा उत्कृष्ट हो भन्न खोजेको होइन, तर हामीले मुद्दा फर्स्योटको सूचकलाई हेर्दा उहाँ सबैभन्दा अगाडि देखिनुभयो।’

पोखरेलले न्याय परिषद् र संवैधानिक परिषद्को संरचनामाथि पहिलेदेखि नै राजनीतीकरणको प्रश्न उठ्ने गरेको स्मरण गराउँदै, अहिलेको सिफारिसलाई शतप्रतिशत पूर्ण नभने पनि कार्यक्षमताका आधारमा गरिएको यो एउटा राम्रो सुरुवात भएको बताए।

मन्त्रालयको सङ्ख्या १८ मा सीमित गरिने

प्रवक्ता पोखरेलले सरकारले मन्त्रालयको सङ्ख्या घटाएर अधिकतम १८ वटामा सीमित गर्ने तयारी गरिरहेको पनि जानकारी दिए। अन्तरसम्बन्ध बढी भएका मन्त्रालयहरूलाई गाभ्ने प्रक्रिया चाँडै अघि बढ्ने उनको भनाइ छ।

‘हाम्रो वाचापत्रमै अधिकतम १८ वटा मन्त्रालय बनाउने भनेका छौँ, विभिन्न अध्ययनहरूका आधारमा सकेसम्म मन्त्रालय गाभेर सङ्ख्या कम बनाउने हाम्रो प्रयास रहन्छ,’ उनले स्पष्ट पारे।

राजनीतिक नियुक्तिमा खुला प्रतिस्पर्धा र विज्ञतालाई प्राथमिकता

खारेज भएका १५०० भन्दा बढी राजनीतिक नियुक्ति र अब हुने पदपूर्तिका सन्दर्भमा सरकारले दलीय भागबन्डा नभई विज्ञता र दक्षतालाई आधार बनाउने प्रस्ट पारेको छ।

प्रवक्ता पोखरेलले शिक्षा मन्त्रालयअन्तर्गत विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि ‘सर्च कमिटी’ (विज्ञ समूह) गठन गरिएको उदाहरण दिँदै भने, ‘हाम्रो मूल उद्देश्य सबै पदहरूलाई राजनीतिकरणबाट टाढा राख्नु हो। खुला प्रतिस्पर्धाका आधारमा विज्ञ समूहले सिफारिस गरेको नामबाट ‘सर्टलिस्ट’ गरी नियुक्ति गरिनेछ।’

अहिलेको सङ्क्रमणकालीन अवस्थामा मन्त्रीको अध्यक्षतामा समिति बनेको देखिए पनि नियुक्तिहरू विशुद्ध विज्ञता र दक्षताकै आधारमा हुने उनले दाबी गरे।

के भने प्रवक्ता पोखरेलले ?

हिजो मात्रै प्रधानन्यायाधीशको सिफारिस गर्नुभएको छ। तर त्यसमा वरिष्ठता मिचियो भनेर प्रश्न उठेको छ। के आधारमा उहाँलाई सिफारिस गर्नुभयो ? अर्को प्रश्न, मन्त्रालयको सङ्ख्या घटाउने भन्नुभएको थियो, त्यसको मापदण्ड के हो ?

नेपालको न्याय क्षेत्र सुधार्नुपर्छ। त्यसका लागि नीतिगत, कानुनी र संवैधानिक रूपमै धेरै कुरा सुधार गर्नुपर्छ भन्ने विषय पहिलादेखि उठ्दै आएको हो। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई एकअर्काबाट स्वतन्त्र राख्नुपर्छ। अहिले न्याय परिषद्‌मै हेर्ने हो भने पनि पाँचजना सदस्यमध्ये तीनजना राजनीतिक नियुक्तिकै जस्ता देखिन्छन्। त्यहाँबाट सिफारिस हुने न्यायाधीशहरू राजनीतिक पृष्ठभूमिका भइरहेका छन् भनेर कानुनविद्हरूले भन्दै आउनुभएको छ।

संवैधानिक परिषद्को सन्दर्भमा पनि पहिल्यैदेखि टीकाटिप्पणी हुँदै आएको छ। तर यसपटक सम्भवतः पहिलोपटक प्रधानन्यायाधीशको सिफारिस ‘मुद्दा फर्स्योट’ को दरलाई एउटा मुख्य सूचक मानेर गरिएको छ। यो नै एकदम ‘पर्फेक्ट’ पद्धति हो भन्न खोजेको होइन, तर अहिलेसम्मको इतिहास हेर्दा कार्यक्षमता र सूचकका आधारमा सिफारिस भएको यो पहिलोपटक हो। यसलाई अझै सुधार गर्दै राम्रो प्रक्रिया बनाउँदै लानुपर्छ।

मन्त्रालयको सङ्ख्याको कुरा गर्दा, विभिन्न अध्ययनहरूका आधारमा सकेसम्म मन्त्रालय गाभेर सङ्ख्या कम बनाउने हाम्रो प्रयास रहन्छ। हाम्रो वाचापत्रमै अधिकतम १८ वटा मन्त्रालय बनाउने भनेका छौँ। जुन-जुन मन्त्रालयको अन्तरसम्बन्ध बढी छ, ती मन्त्रालय गाभ्ने प्रक्रिया चाँडै अघि बढ्छ।

प्रधानन्यायाधीशको सवालमा, ६ जनामध्ये उहाँ (सिफारिस भएका व्यक्ति) नै उत्कृष्ट हुनुहुन्छ भन्ने सरकारलाई लागेको हो ?

यो अलि ‘सब्जेक्टिभ’ कुरा हो। अरू कसैलाई अर्कै व्यक्ति उत्कृष्ट लाग्न सक्छ। ६ जनामध्ये कुनै न कुनै क्षेत्रमा सबैको आ-आफ्नो दक्षता होला। उहाँ नै सबैभन्दा उत्कृष्ट हो भन्न खोजेको होइन, तर हामीले मुद्दा फर्स्योटको सूचकलाई हेर्दा उहाँ सबैभन्दा अगाडि देखिनुभयो। मैले अघि भनेजस्तै यो सिस्टमलाई अझै राम्रो बनाउँदै लैजानुपर्छ। तर अहिलेसम्मको अवस्थामा कार्यक्षमताको सूचकका आधारमा सिफारिस भएको यो पहिलोपटक हो।

१५०० भन्दा बढी राजनीतिक नियुक्ति खारेज भइसकेका छन्। ती पदहरूमा अब नियुक्ति कसरी र कहिले गर्नुहुन्छ ?

सबै मन्त्रालयले आ-आफ्नो किसिमले यसको काम अगाडि बढाइरहेका छन्। शिक्षा मन्त्रालयअन्तर्गत विभिन्न विश्वविद्यालयका उपकुलपति पदहरू रिक्त छन्। शिक्षामन्त्रीको हैसियतले मेरो अध्यक्षतामा सहकुलपतिको समिति गठन भए तापनि हामीले ‘सर्च कमिटी’ का रूपमा एउटा विज्ञ समूह गठन गरेका छौँ।

हाम्रो मूल उद्देश्य सबै पदहरूलाई राजनीतिकरणबाट टाढा राख्नु हो। त्यसैले शिक्षाको हकमा विज्ञ समूह बनाएर, खुला प्रतिस्पर्धाका आधारमा उहाँहरूले सिफारिस गरेको नामबाट ‘सर्टलिस्ट’ गरी कुलपतिज्यूसमक्ष सिफारिस गर्नेछौँ। अहिलेको सङ्क्रमणकालीन अवस्थामा कतिपय ठाउँमा मन्त्रीको अध्यक्षतामा समिति बनेको देखिए पनि नियुक्तिहरू विज्ञता र दक्षताकै आधारमा हुन्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?