२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ मध्ये शर्मा चौथो वरीयतामा थिए । न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाल शर्मा भन्दा वरिष्ठ न्यायाधीश हुन् ।
यो सिफारिसको विषयमा हामीले तीन जना पूर्वन्यायाधीशहरूको धारणा बुझ्ने प्रयास गरेका छौं ।
सर्वोच्चका पूर्वन्यायाधीश गौरी ढकाल परिषद्ले गरेको यस्तो निर्णयले जनतामा राम्रो सन्देश नजाने बताउँछिन् । उनी भन्छिन्, ‘न्याय सेवा भन्नु मात्र रहेछ, यो त अन्याय सेवा रहेछ भन्ने सन्देश जान्छ । यसले न्याय सम्पादनमा असर पर्छ ।’
अर्का पूर्वन्यायाधीश बलराम केसी सरकारले न्याय क्षेत्रमा हात हालेर गल्ती गरेको बताउँछन् । कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल हरेक हिसाबले योग्य र सक्षम भएको उनको धारणा छ ।
सर्वोच्चकै पूर्वन्यायाधीश गिरिशचन्द्र लाल भने यो निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । राजनीतिक हस्तक्षेप नहोस् भनेर यस्तो निर्णय आएको हुनसक्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘राजनीतिक संलग्नता नभएकाले ल्याइएको हुनसक्छ । विगतका निर्णय भन्दा भिन्न छ तर सार्है नराम्रो पनि भन्न मिल्दैन । धैरै राम्रो भयो पनि भन्दिनँ ।’
गौरी ढकाल (पूर्वन्यायाधीश, सर्वोच्च अदालत)
वरिष्ठता मिचेर सिफारिस गर्दा मान्छेहरूले न्यायाधीश हुन तीनपटक विचार गर्छ । म आफैँ भुक्तभोगी हुँ । उच्च अदालतमा भएका बेला म भन्दा सबै कनिष्ठले मुख्य न्यायाधीश बनाउँदा मलाई मात्र बनाइएन ।
त्यति बेला डिप्रेसनमै जाला जस्तो भएको थियो । यस्तो बेलामा कस्तो मानसिक अवस्था हुन्छ भन्ने म राम्ररी बुझ्दछु ।
पहिलो वरियतामा हुनु भएका सपना प्रधान मल्ललाई पनि त्यस्तै भएको हुनुपर्छ । हेर्दा व्यक्तिगत जस्तो लाने यस्तो उदाहरणले न्याय सेवा भन्नु मात्र रहेछ, यो त अन्याय सेवा रहेछ भन्ने सन्देश जान्छ । न्यायमूर्तिहरू अन्यायमा पर्दो रहेछ भन्दा जनतामा राम्रो सन्देश जाँदैन । यस्तो निर्णयले न्याय क्षेत्रप्रति वितृष्णा जगाउँछ ।
बलराम केसी (पूर्व न्यायाधीश, सर्वोच्च अदालत)
मैले यो सरकारको कामको समर्थन गर्दै आएको छु । तर यो निर्णयमा मेरो समर्थन छैन । सरकारले अहिले न्यायापालिकालाई चलाउनु हुँदैनथ्यो । नियुक्तिमा केही विवाद भए पनि सपना प्रधान मल्ल अन्तर्राष्ट्रिय एक्सपोजर भएको, विद्वान र राम्रो काम गरिरहेकी न्यायाधीश हुन् ।
यो निर्णय गर्दा संविधानको उल्लंघन भएको छैन । संवैधानिक हिसाबले ६ जना नै योग्य हुनुहुन्थ्यो । तर वरिष्ठलाई बाइपास गर्नुको धेरै कारणहरू खुलाउन सक्नुपर्दछ । न्यायपरिषद्ले पनि एक जनाको मात्र नाम पठाएको भए हुन्थ्यो । सरकारले न्याय क्षेत्रमा हात नहालेको भए हुन्थ्यो ।
गिरिशचन्द्र लाल (पूर्वन्यायाधीश, सर्वोच्च अदालत)
सामान्यतया वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश सिफारिस गरिन्छ । वरिष्ठताकै आधारमा गर्नुपर्छ भन्ने संवैधानिक बाध्यता भने छैन । अवस्था हेरेर परिषद्ले निर्णय गर्न सक्दछ । दलहरूले सिधै सर्वोच्चको न्यायाधीश बनाउन थाले । डा.मनोजकुमार शर्मा भन्दा वरिष्ठता क्रममा जोजो हुनुहुन्थ्यो उहाँहरू पनि त्यसरी नै आउनु भएको हो । मेरो भनाइको अर्थ उहाँहरू तीन जना अयोग्य हुनुहुन्थ्यो भन्ने होइन ।
संवैधानिक परिषद्ले उच्च अदालतबाट आउनु भएकालाई सिफारिस गरेको छ । मेरो विचारमा यो राजनीतिक हस्तक्षेप नहोस् भनेर गरेको हुनुपर्छ । राजनीतिक संलग्नता नभएकाले ल्याइएको हुनसक्छ । विगतका निर्णय भन्दा भिन्न छ । साह्रै नराम्रो पनि भन्न मिल्दैन । धैरै राम्रो भयो पनि भन्दिनँ ।
प्रतिक्रिया 4