News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीले २१ फागुनको निर्वाचनपछि पार्टी एकता गरेका छन्।
- सहमति अनुसार, सुदन किराती वरिष्ठ नेता हुनेछन् र उनीसँग आउनेहरूमध्ये १५ जना केन्द्रीय सदस्य रहनेछन्।
- सुदन किरातीको पार्टी प्रवेशले श्रम संस्कृतिलाई देशव्यापी फैलाउन सहयोग पुग्ने र उनी कोशी प्रदेशको भावी मुख्यमन्त्री मानिन्छ।
२५ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीले गत २१ फागुनको निर्वाचनमा भएको सहकार्यलाई एकतामा बदलेका छन् ।
पूर्वमन्त्री किरातीलाई श्रम संस्कृति पार्टीमा भित्र्याउन अध्यक्ष साम्पाङले सात बुँदे सहमति गरेका छन् । सहमति अनुसार, श्रम संस्कृति पार्टीमा सुदन किराती वरिष्ठ नेता रहनेछन् भने उनीसँग आउनेहरूमध्ये एक उपाध्यक्ष र एक सचिव गरी १५ जना केन्द्रीय सदस्य हुनेछन् । ती नामहरू टुंगो लाग्न बाँकी छ ।
तर एकता सहमति भने सार्वजनिक गरिएको छ । राजधानीस्थित होटल हार्दिकमा शुक्रबार एक कार्यक्रम राखेर पूर्वमन्त्री किरातीलाई साम्पाङले स्वागत गरे । किरातीलाई स्वागत गर्दै साम्पाङले यो एकतालाई दुधकोशी र तमोर मिलेपछिको सप्तकोशी नदीको संज्ञा दिए ।
‘खुवालुङमा दुधकोशी र तमोर भेट हुन्छ, त्यसभन्दा मुनि एउटै नदी हुन्छ । छुट्याउन सकिन्न,’ साम्पाङले भने, ‘हाम्रो एकता त्यस्तै हो ।’ हर्कले जस्तै सुदनले पनि धेरै विमर्श र छलफल पछि एकताको निर्णयमा पुगेकाले शंका नगर्न आग्रह गरे ।

माओवादी पृष्ठभूमिका नेता किरातीले यो एकताको औचित्यबारे लामै सम्बोधन गरे । विशेषगरी कम्युनिष्ट आदर्शबाट आएका व्यक्तिले ‘हर्कवाद’ स्वीकार्ने अवस्थाबारे प्रष्टोक्ति दिएका थिए । उनको निचोड थियो– हर्कवाद स्थापित गर्ने प्रयत्न हुन्छ ।
श्रम संस्कृति पार्टी स्थापना गर्दासम्मका हर्क साम्पाङको अभियान, अडान र कामको प्रशंसा गरेका किरातीले राष्ट्रिय राजनीतिमा अहिले यो पार्टीको अडानले पनि एकतामा आउन प्रेरित गरेको उनको तर्क थियो ।
मुलत: जनताको दबावका कारण नै एकता सम्भव भएको किरातीको प्रष्टोक्ति थियो । ‘जनताको आदेशलाई हामीले पालना गरेका छौं,’ उनले भनेका छन् ।
नेताहरूका अनुसार गत निर्वाचनमा सहकार्य भएपछि एकताको दबाब दुवै नेतालाई थियो । ‘श्रम संस्कृति पार्टी बनाउन सहयोग गर्नेहरूमध्ये धेरैको चाहना सुदन किरातीलाई ल्याउनुपर्छ भन्ने थियो । सामाजिक सञ्जालमा लेखेर, भेटेर पनि एकता गर्नुपर्छ भनिरहनुभएको थियो,’ श्रम संस्कृति पार्टीका एक नेता भन्छन् ।
शुभेच्छुकहरूको चाहना बुझेका हर्क आफैंले पनि सुदनलाई भित्र्याउन पहल बढाएका थिए । तर एकताले अन्तिम रुप लिन सकिरहेको थिएन । त्यसैबीच सुदन किरातीले कुलमान घिसिङसँग भेटेको तस्वीर सार्वजनिक भयो । कुलमानसहित सिके राउत, रेशम चौधरी लगायतसँग एकता वा सहकार्यको छलफल चलेको पनि सूचना आयो ।

यसपछि साम्पाङ दबाबमा परेको प्रष्ट बुझ्न सकिन्थ्यो । उनले स्टाटस लेखेरै सुदन किरातीसँग कुरा मिलिसकेको भनेर समर्थकहरूलाई आश्वस्त पारेका थिए ।
एकता गर्नैपर्ने दबाब भने गत निर्वाचनमा सुदन किरातीले श्रम संस्कृतिका उम्मेदवारहरूलाई सहयोग गरेका कारणले सिर्जना भएको बुझ्न सकिन्छ । पूर्वमन्त्री किरातीले भोजपुर, खोटाङ र सुनसरीमा श्रम संस्कृतिलाई समर्थन गरेका थिए । संयोग, यी तीन जिल्लामै श्रम संस्कृतिले जित्यो ।
‘मेरो जितमा सुदन किरातीको ठूलो भूमिका छ । उहाँको समर्थनले माहोल आयो,’ भोजपुरबाट प्रतिनिधि सभा सदस्य जितेका धु्रवराज राई भन्छन् ।
भोजपुरबाट तीनपटक चुनाव जितिसकेका र माओवादीभित्र प्रभाव राख्ने नेता भएकाले पनि किरातीको प्रभाव स्वभाविक थियो । यही तथ्य बुझेकाले पनि श्रम संस्कृतिका समर्थकहरूले सुदनलाई पार्टीमा ल्याउन दबाब बढाएका थिए ।
पूर्वमाओवादीलाई बाटो खुल्यो
सुदन किरातीलाई पार्टीमा स्वागत गर्दै हर्क साम्पाङले देश बनाउने संकल्प थप बलियो बनेको तर्क गरेका छन् । किरातीले पनि प्रतिपक्षी शक्ति बलियो बन्ने अभियानकै रुपमा यो एकतालाई लिनुपर्ने विश्लेषण सुनाए । ‘साँचो अर्थमा हामी प्रतिपक्षी शक्तिका रुपमा थप बलियो हुँदै गयौं,’ उनले भनेका छन् ।
वरिष्ठ पत्रकार टीकाराम राई भने यो एकताबाट मूल दुई निष्कर्ष निकाल्न सकिने विश्लेषण गर्छन् । ‘बालेन सरकारलाई टक्कर दिन हर्क साम्पाङ थप बलिया भए,’ उनी भन्छन्, ‘र, आगामी प्रदेश र स्थानीय निर्वाचनमा यो एकताको अर्थ देखिन सक्छ ।’
सिट संख्या थोरै भएपनि चर्को विपक्षी देखिएका हर्कलाई किरातीको व्यक्तित्वले साथ दिने राईको बुझाइ छ ।

‘सुदन किराती राष्ट्रिय राजनीतिमा स्थापित नाम हो । उनले भनेको कुरालाई मान्छेले सुन्छन् । त्यसअर्थमा प्रतिपक्षीमा श्रम संस्कृति थप बलियो भयो,’ पत्रकार राई भन्छन् । सुदन पनि कोशी प्रदेशकै भएकाले स्थानीय र प्रदेश सभा निर्वाचनमा थप बलियो हुनु स्वभाविक देखिन्छ ।
श्रम संस्कृति पार्टीका नेता ध्रुवराज राई भने सुदन किरातीसँग आउने नेताहरूलाई थप बलियो पक्ष मान्छन् । ‘उहाँसँग आउने मान्छेहरू राजनीतिक रुपले प्रशिक्षित हुनुहुन्छ, हाम्रा श्रमदातासँग उहाँहरू मिसिंदा थप बलियो हुन्छौं,’ उनी भन्छन् ।
माओवादीभित्रै पनि प्रभावशाली नेता भएकाले सुदन किरातीको प्रवेशले श्रम संस्कृतिलाई देशव्यापी फैलाउन पनि थप सहयोग पुग्ने नेताहरूको विश्वास देखिन्छ । ‘श्रम संस्कृतिको प्रभाव पूर्वमा धेरै छ । तर सुदन किरातीसँग देशभरको सञ्जालसँग सम्पर्क र सम्बन्ध छ । यो पक्षले श्रम संस्कृति पार्टीलाई फाइदा पुग्छ,’ किराती निकट एक नेता भन्छन्, ‘पूर्वमाओवादी पृष्ठभूमिका मानिसहरूलाई आउन सजिलो पनि भयो ।’
यो एकताको अर्को ओपन सेक्रेट तथ्य हो– सुदन किराती कोशीमा भावी मुख्यमन्त्री ।
यद्यपि शुक्रबारको एकता सभामा यसबारे नेताहरूले कुनै शब्द उच्चारण गरेनन् । तर सुदन किराती मुख्यमन्त्रीको उम्मेदवार हुनेगरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेको तथ्य अनुमोदन बराबर भइसकेको नेताहरू स्वीकार्छन् । ‘अहिले भन्नु हतार हुन्छ, तर मुख्यमन्त्री बन्ने कुराले अनुमोदन पाइसक्यो भन्दा हुन्छ,’ एक नेताले भने ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

प्रतिक्रिया 4