News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिटीभर्सिटीले नयाँ मास्टर्स डिग्री 'मास्टर्स डिग्री इन सोसल इनोभेसन एन्ड इन्टरप्रेनरसिप' सुरु गरेको छ।
- यस डिग्रीले विद्यार्थीलाई आफूलाई चिन्न, समाज बुझ्न, व्यावहारिक सीप सिक्न र उद्यमशील सोच विकास गर्न उत्प्रेरित गर्छ।
- कोर्सले विद्यार्थीलाई समुदाय, वातावरण र विविधता अध्ययन गरी नयाँ उद्यमशील सोच विकास गर्ने अवसर दिनेछ।
मलाई आज यस कार्यक्रम (नयाँ मास्टर्स डिग्री (मास्टर्स डिग्री इन सोसल इनोभेसन एन्ड इन्टरप्रेनरसिप) को शुभारम्भमा यो उत्साह र अपेक्षा देख्दा आफूले करिब २५ वर्षअघि यस्तै उत्साह बोकेर मास्टर्स पढ्न भर्ना भएको कुराको सम्झना भइरहेछ । तर, त्यतिबेलाको हाम्रो पढाइको उद्देश्य परीक्षा पास गर्नु, सर्टिफिकेट लिनु र जागिर वा विदेशको तयारी गर्नुमै सीमित हुन्थ्यो । यतिखेर मैले यस डिग्रीको उद्देश्य र यसलाई पढ्नेरपढाउने शैली फरक पाएको छु ।
यस डिग्रीले विद्यार्थीलाई आफूलाई चिन्न सक्ने र समाजलाई बुझ्न सक्ने बनाउँछ। र, सँगै व्यावहारिक सीप सिक्न उत्प्रेरित गर्छ र उद्यमशील सोचको विकास गर्न मद्दत गर्छ । यो कोर्सका चार उद्देश्यहरू (आफूलाई चिनेको, समाजलाई बुझेको, सीप सिकेको र उद्यमशील सोच बोकेको) छन् ।
यी चार उद्देश्यहरू कवितात्मक छन्, तर यसको बारेमा गहिरिएर सोच्ने हो भने प्रश्नहरू जटिल छन् । वास्तवमा आफूलाई चिन्नु भनेको के होरु समाजलाई कसरी बुझ्नेहरु मानिसमा सीपको विकास कसरी हुन्छ ? अहिलेको एआई र रोबोटको जमानामा कुन सीप सिक्नु उपयुक्त हुन्छ ? र मान्छेमा उद्यमशील सोच कसरी पलाउँछ ? मलाई के लाग्छ भने, यी चार कुराहरू भिन्न देखिए पनि, एकअर्कासँग अन्तरसम्बन्धित कुराहरू हुन् ।
सामान्यता आफूलाई बुझ्नु भनेको आफ्नो व्यक्तित्व, रुचि, स्वभाव, मूल्य र मान्यता, कमजोरी र सबलताको बारेमा स्पष्ट हुनु हो। आफूभित्र रहेका राम्रो-नराम्रो, सुर-असुर, गुण-अवगुण, करुणा-क्रूरता, स्वार्थ-त्याग, भावना-विवेकका पत्रैपत्रहरू बुझ्नु हो। तर हरेक मानिसभित्र यस्ता परस्पर अन्तर्विरोधी लाग्ने गुणहरू कसरी एकैसाथ रहन सम्भव भयोरु त्यसको कारण के होला ?
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा जीववैज्ञानिक एडवर्ड ओ। विल्सनले ‘द मिनिङ अफ ह्युमन एक्जिस्टेन्स’ मा लेखेका छन्- हामीले आफूलाई बुझ्न हाम्रो इतिहास बुझ्नुपर्छस हाम्रो इतिहासको बारेमा थाहा पाउन हाम्रो प्रागैतिहासिक काललाई हेर्नुपर्छ र हाम्रो प्राग-इतिहास बुझ्न हाम्रो जीवविज्ञान केलाउनुपर्छ। अर्थात्, म के हुँ वा हामी को हौँ भनेर चिन्न म वा हामी कहाँबाट आयौँ भन्ने बुझ्नुपर्छ।
त्यसैले, हामीले आफूलाई बुझ्न हाम्रो परिवार, नातागोता, समाज र देशको इतिहास बुझ्नु जरुरी हुन्छ। देश र समाजको बारेमा थाहा पाउन हाम्रा मानव प्रजातिका सिकारी पुर्खाहरूको स्वभाव र सङ्घर्ष बुझ्न जरुरी हुन्छ र हाम्रा मानव पुर्खाहरूलाई बुझ्न एककोषीय जीव हुँदै अहिलेको मानव प्रजातिको उद्विकासको जीवविज्ञानलाई बुझ्नुपर्दछ। तब मात्रै हामीले हामीभित्र विनाशकारी राक्षस पनि रहेको र सँगै कल्याणकारी देवता पनि रहेको थाहा पाउन सक्छौँ। त्यसको तर्कसङ्गत कारण बुझ्न सक्छौँ र हामीले आफूलाई बुझ्ने सुरु गर्न सक्छौं।
प्रत्येक मानिसभित्र राक्षसी र देव गुण आउनमा मानिसको उद्विकासको क्रममा प्रकृति र संस्कृतिको बहुतह छनोटको हात रहेको विल्सनको दाबी छ। मान्छेले आफ्नो सन्तानको, आफूसँग भएको स्रोतको र प्रतिष्ठाको रक्षा गर्न समूहका सदस्यहरूसँग प्रतिस्पर्धा गर्ने क्रममा हामीमा स्वार्थीपनको उद्विकास भयो भने समूहमा बस्दा एकअर्कालाई विश्वास गर्ने, सहयोग गर्ने, आफूसँग भएको बाँडेर खाने गर्दा हामीमा दयाभावको उत्पत्ति र विकास भयो। जब मानव समूहमा बस्न थाल्यो, ऊ अन्य प्राइमेट्स दाजुभाइभन्दा कम आक्रामक स्वभावको हुन थाल्यो।

जसरी हिंस्रक ब्वाँसो कुकुर बनेपछि उसको हिंस्रक चरित्र बिस्तारै हराउँदै गएर आज्ञाकारी र शान्त बन्यो। कालान्तरमा सहकार्य गर्ने समूहहरू स्वार्थीहरूभन्दा जैविक रूपमा सफल हुँदै गए। र हामी चेतनायुक्त, करुणामयी, दयावान् र आफ्नो मात्रै होइन समग्र पृथ्वी र अन्य प्रजातिको अस्तित्वको बारेमा सोच्ने पृथ्वीको एकमात्र प्रजाति मानव जातिमा रूपान्तरण भयौँ।
मानिसभित्र यी दुवै गुण र स्वभाव भएकोले नै हामी सेवा गर्न खोज्छौँ तर सँगै आत्मसम्मान पनि रोज्छौँ। समुदायमा बस्छौँ तर हामीलाई व्यक्तिगत स्वतन्त्रता र पहिचान पनि चाहिन्छ। हामी आफूलाई फाइदा होस् भन्ने चाहन्छौँ, तर त्यसको वितरण न्यायपूर्ण पनि होस् भन्ने अपेक्षा राख्दछौँ। अक्सर हामीले गर्ने दीर्घकालीन र अल्पकालीन निर्णयहरू हामीभित्रकै यही दोधारेपनबाट निर्देशित हुन्छन्।
मानवीय स्वभावमा विद्यमान यो नैतिक दोधार, कुनै निर्णय गर्ने बेलाको सङ्कट मात्रै होइन, मानिसको सृजनशीलताको आधारभूत स्रोत पनि हो। नत्र कयौँ मिटर अग्लो रुखमा तलमाथि गर्ने लोखर्केले लिफ्ट बनाउँथ्यो। पानीमा पौडिरहने कछुवाले पानीजहाज निर्माण गर्थ्यो र अन्तरमहादेशीय यात्रा गर्ने चराले सुपरसोनिक जहाजको आविष्कार गर्थ्यो। आफू मात्रै बाँचे पुग्छ भन्ने स्वार्थी प्रजातिले सभ्यता निर्माण गर्न नसक्नुको पछाडि र पूर्ण रूपमा निःस्वार्थी प्रजाति ९जस्तैस् मौरी० ले पनि आविष्कार गर्न, प्रश्न उठाउन र सङ्घर्ष गर्ने आँट नगर्नुको पछाडि प्रकृति र संस्कृतिको घर्षणबाट आर्जित यही मिश्रित स्वभाव नै हो, जुन हामी मानव जातिमा प्रचुर मात्रामा छ।
त्यसकारण मानव सृजनशीलताको पछाडि सहकार्यको लागि विराट मैदान तयार पार्न तयार हुने र सँगै असन्तुष्टिको सगरमाथा पालेर बस्ने हाम्रो स्वभावको देन छ। असन्तुष्ट भएर नै हामीले अरूले गरेका कामलाई तोडमोड गर्छौँ। भएका वा अरूले बनाएका चिजबीजलाई टुक्रा-टुक्रा पारेर, अंश(अंश केलाएर हेर्छौँ। र, सहकार्य गर्ने भएर नै फेरि फरकफरक कुरालाई एकआपसमा जोड्छौँ। मानव सृजनशीलताको यस विधिलाई बेन्डिङ, ब्रेकिङ, ब्लेन्डिङ भनेर ‘द रनवे स्पेसिजस् हाउ ह्युमन क्रिएटिभिटी रिमेक्स द वर्ल्ड’ मा एन्थोनी ब्रान्ट र डेभिड इगलम्यानले संश्लेषण गरेका छन्।
अब म चौथो उद्देश्य उद्यमशील सोचतिर केन्द्रित हुन्छु। धेरैलाई लाग्छ, उद्यमशील सोच वा कुनै नयाँ आविष्कार एक जना विलक्षण प्रतिभा भएको मान्छेले ल्याउँछ वा कुनै ‘युरेका मोमेन्ट’ वा ‘लाइट बल्ब मोमेन्ट’ बाट आउँछ वा कतै ध्यान बसिरहँदा फ्याट्ट मस्तिष्कमा आउँछस किनभने हामीले धेरै यस्ता जन्मजात जिनियसहरूको बारेमा पढेका छौँ। न्युटनले स्याउको बोटबाट स्याउ झर्दै त्यसले टाउकोमा लागेपछि गुरुत्वाकर्षण पत्ता लगाएको किस्सा सुनेका छौँ। तर धेरै अध्ययनहरूले नयाँ आविष्कार वा उद्यम वा सिर्जना त्यसरी नहुने देखाएका छन्।
मैले अघि पनि भनेँ- सृजनशीलता बेन्डिङ, ब्रेकिङ र ब्लेन्डिङ जस्ता तीन प्रक्रियाबाट आउँछ। बेन्डिङ गर्नको लागि त्यहाँ कुनै स्थापित कुरा हुनुपर्छ। अर्थात्, पहिले एउटा स्थापित पानी पिउने कप भएपछि नै त्यसलाई छोटो बनाएर एस्प्रेसो पिउने, अग्लो बनाएर बियर पिउने वा ठुलो बनाएर क्याफे लाटे पिउने कपहरू बनाउन सकिन्छ। इन्ग्रेडियन्ट थपघट गरेर वा आकार बदलेर पिज्जा बनाउनुहोस् वा बुरिटो बनाउनुहोस् या पराठा बनाउनुहोस्, सबैको लागि रोटी चाहिन्छ। त्यसकारण पुराना कुराहरूलाई बेन्डिङ गरेर उद्यमशील हुन सकिन्छ।
अर्को भनेको ब्रेकिङ, अर्थात् पुराना कुराको स्वरूपलाई भत्काएर गरिने काम। जस्तैस् हामीकहाँ पाइने तितेपाती भन्ने वनस्पतिलाई टुक्रा-टुक्रा पारेर त्यसको रसायन निकाली मलेरियाको औषधि बनाउनु वा पिकासोले मान्छेको अनुहारलाई तोडमोड गरेर कलाकारितामा क्युबिजम भित्र्याएजस्तो काम। तर यी तीन तरिकामध्ये मलाई अझै रमाइलो लाग्ने भनेको ब्लेन्डिङ हो।
त्यो भनेको छुट्टाछुट्टै वस्तु वा कुरालाई मिलाउनु वा भिन्न विचारहरूको मिश्रण हो। त्यसको सबैभन्दा सफल र बुझिने उदाहरण तपाईं(हाम्रो हातहातमा हुने मोबाइल फोन हो। जसमा आवाजमा कुरा गर्ने फोनदेखि क्यामेरा, जिपिएस, म्युजिक प्लेयर, नोटबुक, पेमेन्ट प्रणालीदेखि सामाजिक सञ्जालसम्मलाई एकै ठाउँमा मिलाएर राखिएको छ।

फरकफरक विचार र ज्ञानलाई यसरी नै मिसाउँदै विकास गर्ने क्षमता भएकोले नै केही हजार वर्षअघि मात्रै आफ्नो आहाराको सिकार गर्नको लागि हातमा ढुङ्गा बोक्ने मान्छेले, केही हजार वर्षमै त्यही हातमा लाखौँ मान्छेको दिमाग र ज्ञानबाट उत्पादित मोबाइल र मेसिनगन बोक्न सक्ने भयो। त्यसकारण सिप सिक्न र त्यसमा निखारता ल्याउन सहकार्य, प्रतिस्पर्धा, निरन्तरता, क्रमभङ्गता, क्रिया-प्रतिक्रियासँगै वास्तविक संसारसँगको प्रत्यक्ष घुलमिल र व्यक्तिगत एकाग्रता जरुरी छ। यदि एकल मस्तिष्कले मात्रै सृजनशील हुन सकिन्थ्यो भने, मानिस गुफाबाट निस्केर चन्द्रमासम्म पुग्ने थिएन। यदि एउटै मस्तिष्क पर्याप्त हुन्थ्यो भने, हामीसँग न भाषा हुन्थ्यो, न त यो जटिल मानव सभ्यता नै।
स्टेभन जोन्सनले आफ्नो पुस्तक ‘ह्वेयर गुड आइडियाज कम फ्रम’ मा उद्यमशीलता वा आविष्कार फस्टाउनमा ‘लिक्विड नेटवर्क’को महत्त्वको बारेमा कुरा गरेका छन्। त्यो भनेको फरकफरक विचारहरूबिचमा छलफल हुने, अपरिचितहरूबिचमा आकस्मिक भेटघाट र घनिष्ठता हुने प्रक्रिया हो। त्यो चियापसल, क्याफे, चौतारी, सामुदायिक जमघट, विश्वविद्यालय र डिजिटल मञ्चहरू जे पनि हुन सक्छन्।
जसरी ढुङ्गेयुगका हाम्रा पुर्खाहरूले आगोको वरपर बसेर कथाहरू सुन्दै नयाँ कुराहरू आफ्ना पुर्खाहरूबाट सिके, अहिले हामीले उद्यमशीलता सिक्ने भनेको पनि यस्तै चलायमान नेटवर्क बनाउन सकिने ठाउँहरूबाट हो, जहाँ मानिसहरू भेला हुन्छन्, बहस-छलफल गर्छन् र असहमति राख्छन्। त्यसैसँग आफ्नो अनुभव र कल्पनाशीलतालाई जोड्छन् अनि नयाँ कुरा पत्ता लगाउँछन् र उद्यमशील बन्छन्। त्यसकारण उद्यमशीलताको सोच ल्याउन एउटा नायक मस्तिष्क होइन, थुप्रै मस्तिष्कहरूको अन्तर्घुलन वा विचारहरूको फ्युजन जरुरी छ।
त्यसकारण, यस कोर्समा जनकपुरदेखि चित्लाङ हुँदै मुस्ताङसम्म पुग्दा विद्यार्थीहरूले त्यहाँको भूगोल, पर्यावरण र समुदायलाई सूक्ष्म अवलोकन गर्नेछन्। फरकफरक मानिसका कथाहरू सुन्नेछन्। ती कथा, सङ्घर्ष र जीवनदर्शनलाई आफूले प्रयोग गरिरहेका, सुनेका र बुझेका प्रविधि र ज्ञानसँग जोड्ने प्रयास गर्नेछन्। ती कुराहरूलाई आफ्नो मात्रै होइन, सहपाठीहरू, साथीहरू, अभिभावक र शिक्षकहरू वा चियापसलमा भेटिने अपरिचितसँगको छलफलमा ल्याउनेछन् र सबैको सामूहिक ज्ञानको कसीमा त्यसलाई जाँच्नेछन्। के थाहा, अन्यत्रजस्तै यहाँ पनि प्रक्रियामा हिँड्दै गर्दा नयाँ उद्यमशील सोचको विकास पो हुन्छ कि ?
मलाई लाग्छ, यस कोर्सको उद्देश्य पनि समुदायमा भएका सामूहिक विवेक र ज्ञानबाट सिक्ने, हाम्रा नेपालका विविधतामा बाँचेका समुदाय र वातावरण अनि तिनीहरूबिचको सम्बन्धको जाँचपरख गर्ने, त्यसमा भएका सहकार्यका विद्यमान स्वरूपबाट उत्प्रेरित हुने र त्यहाँ नयाँ सम्भावनाको खोजी गर्ने कोसिस गर्ने हो। विविधता भनेको प्रभावशाली हुनु हो। जुन इकोसिस्टममा धेरै प्रजातिगत, संरचनागत विविधता हुन्छ, त्यो इकोसिस्टम बाहिरको खलबलबाट त्यति नै बढी सुरक्षित हुन्छ। जुन वैज्ञानिक प्रयोगशालामा जातीय, लैङ्गिक, उमेरगत विविधता हुन्छ, त्यो त्यति नै बढी उत्पादनशील हुन्छ। त्यसकारण हाम्रो मुलुकको प्राकृतिक, सामाजिक विविधता यहाँको शक्ति हो।
यतिखेर सारा संसार प्रविधितिर, मेसिनतिर, एल्गोरिदमतिर र सहरतिर फर्केको समयमा यो डिग्री कोर्सले विद्यार्थीहरूलाई समुदायतिर, प्रकृतितिर, मान्छेतिर र गाउँतिर फर्काउन खोजिरहेको छ। पढाइ कक्षाकोठाभित्र मात्र होइन, तराईका फाँटमा, पहाडका उकाली(ओरालीमा र हिमालका खर्क(चरनमा पनि हुन्छ भनेर नयाँ परीक्षण गर्न खोजिरहेको छ। मेरो अपेक्षा छ, यस कोर्सले विद्यार्थीलाई आफ्नो कुरा सुनाउन सक्षम बनाउँदै गर्दा अरूको कुरा सुन्ने धैर्यता पनि सिकाउनेछ।
नयाँ भविष्यको बारेमा विद्यार्थीले सोच्दै गर्दा इतिहासको जिम्मेवारी बोक्न पनि तयार पार्नेछ। विद्यार्थीहरूले उद्यमशीलतातिर पाइला चाल्दै गर्दा उनीहरूलाई मानवीय नैतिकता र हामी मानव जातिको हामीसँगै जैविक नाता भएका जीवजन्तु र प्रकृतिप्रतिको जिम्मेवारीको हेक्का राख्न सुझाउनेछ। र अन्त्यमा, विद्यार्थीहरूलाई संसारभर पखेटा फैलाउन तयार पार्दै गर्दा खुट्टा भने कम्तीमा नेपालमै राख्न उत्प्रेरित गर्नेछ। धन्यवाद।
(नेपाल कम्युनिटीभर्सिटीको नयाँ स्नातकोत्तर कार्यक्रम ‘मास्टर्स डिग्री इन सोसल इनोभेसन एन्ड इन्टरप्रेनरसिप’मा प्रस्तुत मन्तव्यको सम्पादित अंश )
प्रतिक्रिया 4