News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ।
- एनसीबीले इन्टरपोललाई थप कागजात पठाएपछि रेड नोटिस जारी गर्न प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।
- देउवा दम्पती विदेशमा छन् र अहिले हङकङमै रहेको स्रोतले बताएको छ।
२७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ ।
रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ‘केही दिनअघि थप कागजात माग गर्दै इमेल आएकाले सोही अनुसार थप कागजात पठाएका हौं’, प्रहरी स्रोतले भन्यो ।
गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर, इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए ।
अहिले भने १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन् ।
रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने छ ।
प्रतिक्रिया 4