+
+
Shares

तपाईं चढ्ने बस कहाँ आइपुग्यो ? यसरी हेर्नुस् लाइभ लोकेसन

प्राविधिक पाटो हेरिरहेको कम्पनी ट्राभल नेपालका अनुसार हालसम्म १४ सय बसमा जीपीएस जडान गरिएको छ । बसमा जडान गरिएको जीपीएसको डाटालाई डिजिटल बोर्डमा लाइभ देखाइन्छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख २७ गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिका वडा नम्बर ३ को पहलमा पुलचोक बसस्टपमा करिब डेढ लाख लगानीमा बसहरूको लाइभ लोकेसन देखाउने डिजिटल बोर्ड स्थापना गरिएको छ।
  • हाल १४ सय बसमा जीपीएस जडान गरिएको छ र ट्राभल नेपालको एपबाट पनि यात्रुले आफ्नो बसको वास्तविक समय ट्रयाक गर्न सक्नेछन्।
  • अन्य बसहरूमा जडान गर्ने काम जारी छ भने सार्वजनिक यातायातलाई सहज बनाउन थप प्रयास हुने वडाध्यक्ष महर्जनले बताए।

‘बस स्टेसनमै बसको लाइभ लोकेसन हेर्न मिल्ने ।’

‘कतिवटा बस आउँदै छ भन्ने सहजै देखिने ।’

यसअघि बस स्टेसनमा झिंझो मान्दै बस कुर्न बाध्य तपाईंहरूलाई यो कुरा विश्वास नलाग्न छ । तर, तीन महिना यता यदि ललितपुरको पुलचोकमा रहेको बसस्टप हुँदै यात्रा गर्नु हुन्छ भने तपाईंले पक्कै एउटा डिजिटल बोर्ड देख्नुभएको होला, जसमा माथि भनिएझैं बसहरूको लाइभ लोकेसन देखाइएको छ ।

साझा यातायात, नेपाल यातायात, रिद्धिसिद्धि यातायात, झरना यातायात, महानगर यातायात, दक्षिणकाली यातायात लगायतका करिब बसहरूको लाइभ लोकेसन सो स्मार्ट बोर्डमा हेर्न सकिन्छ । यसले तपाईंलाई आफूले चढ्नुपर्ने बस कतिबेला आइपुग्छ, कहाँ आइपुग्यो भन्ने सहजै थाहाहुन्छ ।

यो काम कसले गर्‍यो त ?

ललितपुर महानगरपालिकामा वडा नम्बर ३ को पहलमा यो काम भएको हो । वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार, करिब २०/२१ दिनको मिहेनत र करिब डेढ लाख लगानीमा यो काम सम्पन्न भएको हो ।

यसलाई अझ व्यवस्थित बनाउन थप बसहरूमा जीपीएस जडान गर्न लागिएको वडाध्यक्ष महर्जनले बताए ।

‘आफ्नो वडाभित्र पर्ने अन्य बस स्टपमा पनि यो व्यवस्था गरेर यात्रुलाई सहज बनाउन लागिपरेको छु,’ उनले भने, ‘ती बाटोमा हिंड्दा सधैं यात्रु बस कुरिरहने, तर अन्योलताले तनाव हुने देखेपछि यसको सामाधानबारे सोच्न थालेको थिएँ । त्यसबाट यो उपाय फुर्‍यो ।’

वडाध्यक्ष महर्जनका अनुसार उनको घर नजिकै पर्ने भएकाले उनी दिनहुँ त्यही बाटो हिँड्थे । बसस्टपमा बस आउँथे, सहचालक यात्रु बोलाउँथे, तर यात्रुहरू ‘आफ्नो बस हो या होइन’ भन्नेमा रनभुल्ल पर्थे । यसरी दुवैको समय खेर जाने गरेको थियो ।

‘मान्छेको सबैभन्दा ठूलो समस्या समय हो– कति कुर्ने, कहाँ जाने ?,’ वडाध्यक्ष महर्जनले भने, ‘यिनै कुराहरू देख्दा यसको डिजिटल समाधान खोज्न प्रेरित गर्‍यो। अझ म आफैँ साझा यातायातको सदस्य रहेकोले त्यसमा जीपीएस जोडेर काम गर्न सकिन्छ भन्ने थाहा थियो । साझाले पनि बसमा जीपीएस राख्ने योजना बनाइरहेको थियो ।’

यसको प्राविधिक पाटो हेरिरहेको कम्पनी ट्राभल नेपालका अनुसार हालसम्म १४ सय बसमा जीपीएस जडान गरिएको छ । बसमा जडान गरिएको जीपीएसको डाटालाई डिजिटल बोर्डमा लाइभ देखाइन्छ ।

‘अझै धेरै बसहरूमा यो जडान गर्नेछौ‌ं । यसबाट यात्रुले सहजै आफ्नो बस कहाँ आइपुग्यो र कता जाँदैछ भनेर थाहा पाउनुहुन्छ,’ ट्राभल नेपालका सिओओ प्रमोस अधिकारीले अनलाइनखबरसँग भने ।

उनका अनुसार, उक्त डिजिटल बोर्डमा बसहरूको जीपीएस डाटा रियल–टाइममा प्राप्त गरी बसको नम्बर र संस्थाअनुसारको ब्रान्ड रङ देखाइन्छ । साझाको हरियो र अन्य यातायातको आ–आफ्नै ब्रान्ड कलर । यसले यात्रुलाई आफ्नो बस चिन्ह अझै सहज बनाउँछ । अझ नजिकैको बोर्डमा हेर्दा बसको नम्बर सिधै देखिन्छ । यसबाट यात्रुले पर्खने या नपर्खने निर्णय गर्नसक्छन् ।

यदि यात्रु पुलचोक पुगेका छैनन् भने उनीहरूले ट्राभल नेपालको एपबाट पनि बस ट्रयाक गर्न सक्छन् । ‘त्यहाँ बोर्डमा जे देखाइएको छ, त्यसैगरी हाम्रो ट्राभल नेपालको एपमा पनि सबै लाइभ हुन्छ । बस स्टपमै जानुअघि हाम्रो एपमा चेक गरेर पनि निस्कन सक्नुहुन्छ,’ अधिकारीले भने ।

त्यस्तै, यही प्रणाली अब वडाको फोहोर संकलन गर्ने गाडीमा पनि सफलतापूर्वक प्रयोग भइरहेको वडाध्यक्ष महर्जनले बताए । जस्तो, त्यहाँ अब गाडी जावलाखेलबाट पुलचोकतर्फ फर्कंदा घरमा स्वत: अलर्ट जान्छ, जसले गर्दा स्थानीयले समयमै फोहोर निकाल्न भ्याउँछन् ।

‘अहिले चाहिँ हामी अन्य बसहरूलाई पनि यसमा जोड्न डाटामा काम गरिरहेका छौं । गाडी मालिकलाई आफ्नो गाडी कहाँ छ भन्ने थाहा हुँदैन, त्यसैले यो जोड्दा उहाँहरूलाई पनि फाइदा हुन्छ भनेर कन्भिन्स गराइरहेका छौँ,’ वडाध्यक्ष महर्जनले भने, ‘यो सुरुवात हो । हामीले सार्वजनिक यातायातलाई सहज बनाउन यस्ता कामहरू अझै धेरै गर्न बाँकी छ ।’

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?