News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुरले मधेशमा चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाए।
- ठाकुरले प्राकृतिक स्रोतको अत्यधिक दोहनले वर्षायाममा कटान र डुबानको समस्या निम्त्याएको र राज्य निकायबाट उचित ध्यान नपुगेको बताए।
- उनले बजेट विनियोजन पारदर्शी नभएको र विकास योजनाहरू कागजमा मात्र सीमित नभई जनताले महशुस गर्नेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले मधेशमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोमबार आफ्नो धारणा राख्दै नेता ठाकुरले विकासका कुरा भए पनि व्यवहारमा भने प्रतिकूल अवस्था सिर्जना भइरहेको टिप्पणी गरे ।
नेता ठाकुरले चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनका कारण मधेशमा ठूलो संकट उत्पन्न भएको बताए ।
प्राकृतिक स्रोतको अत्यधिक दोहनले वर्षायाममा उत्तरतर्फ कटान र दक्षिणतर्फ डुबानको भयावह समस्या निम्त्याएको उनको भनाइ थियो।
महिनौँसम्म बस्तीहरू डुबानमा पर्दा पनि राज्यका निकायहरूबाट उचित ध्यान नपुगेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
सो क्रममा उनले वातावरणीय चेतनाको अभाव र भौतिक विनाशका कारण विगतमा स्थापित विद्यालयहरू समेत बन्द हुने अवस्थामा पुगेको बताए ।
बजेट विनियोजन र त्यसको खर्च हुने प्रक्रिया पारदर्शी नभएको भन्दै नेता ठाकुरले आलोचना गरे ।
उनले भने, ‘हामी चुरे विनाशको कुरा गरिरहेका छौँ, तर त्यहाँबाट ढुङ्गा, माटो र बालुवा निकाल्ने क्रम रोकिएको छैन । भावर क्षेत्रको स्थिति पनि उस्तै छ । बजेट जान्छ तर त्यसको प्रतिफल देखिँदैन । आधा बजेट कता हराउँछ, पत्तो हुँदैन । जसरी हामी पृथ्वी घुमिरहेको देख्दैनौँ, त्यसैगरी बजेट पनि शून्यमा हराइरहेको छ ।’
विगतका वर्षहरूमा बजेट विनियोजन भए पनि त्यसले लक्षित वर्ग र क्षेत्रलाई छुन नसकेको उल्लेख गर्दै उनले यसपटकको बजेट बालुवामा पानी हाले जस्तै शून्यमा नजाओस् भन्ने कामना गरे ।
विकास निर्माणका योजनाहरू कागजमा मात्र सीमित नभई जनताले महशुस गर्नेगरी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।
समितिको बैठकमा नेता ठाकुरले सरकारलाई मधेशको संवेदनशीलता बुझ्न र विकासका योजनाहरूलाई परिणाममुखी बनाउन ध्यानाकर्षण गराए ।
प्रतिक्रिया 4