+
+
Shares
अनुभूति :

फिल्म होइन, आन्दोलन हो लालीबजार

‘लालीबजार’ एउटा प्रश्न हो, एउटा प्रतिरोध हो, एउटा चेतना हो। र, शायद यही कारणले यो फिल्म वास्तवमै एउटा आन्दोलन र विद्रोह हो।

राजेश विद्रोही राजेश विद्रोही
२०८३ जेठ ७ गते ९:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'लालीबजार' ले समाजका दबाइएका यथार्थहरूलाई उजागर गर्दै प्रश्न र असहजता सिर्जना गरेको छ।
  • 'लालीबजार' मा युवापुस्ताको बेचैनी र प्रतिरोधको कथा प्रस्तुत गरिएको छ।
  • फिल्मले केवल मनोरञ्जन नभई सामाजिक हस्तक्षेप र चेतनाको माग गरेको छ।

हलबाट बाहिर निस्कँदा झिसमिसे साँझ परिसकेको थियो। सडकमा गाडीहरूको चर्को आवाज थियो। मानिसहरू आफ्नै हतार र दिनचर्यामा व्यस्त थिए। शहर सामान्य गतिमै चलिरहेको देखिन्थ्यो। तर मेरो मनभित्र भने केही असामान्य भाव चलिरहेको थियो। ‘लालीबजार’ सकिएको थियो, तर फिल्मका दृश्य, संवाद र पात्रहरू अझै पनि चेतनाभित्र जीवित थिए। केही अनुहार, केही मौनता, केही नबोलिएका पीडाहरू मनमा लगातार घुमिरहेका थिए।

म सामान्यतया धेरै फिल्म हेर्ने मानिस होइन। तर ‘लालीबजार’ वरिपरि उठेको बहस, यसको विषयवस्तु र सामाजिक सन्दर्भले यसलाई हेर्न बाध्य बनायो। फिल्म हेर्दै जाँदा महसुस भयो— यो केवल मनोरञ्जनका लागि निर्माण गरिएको दृश्यात्मक कथा होइन, यो समाजमा दबाइएका यथार्थहरूको दस्तावेज पनि हो।

धेरै फिल्म हलमै छुटेर जान्छन्। केही क्षण रमाइला लाग्छन्, केही दृश्य बिर्सिइन्छन्। तर ‘लालीबजार’ त्यस्तो फिल्म रहेन। यो फिल्म सकिएपछि पनि दर्शकभित्र बाँकी रहन्छ। यसले मनमा प्रश्न जन्माउँछ, असहजता पैदा गर्छ र समाजको गहिरो सीमान्त तहबारे सोच्न बाध्य बनाउँछ। यही कारणले ‘लालीबजार’ लाई केवल फिल्मको रूपमा बुझ्न पर्याप्त हुँदैन, यो एउटा सामाजिक हस्तक्षेप हो।

फिल्मको बीचमा मधुवालाले ‘नथिया’ माथि प्रश्न उठाउँछे। त्यो दृश्यसँगै हल केही क्षण मौन हुन्छ। त्यो मौनता सामान्य थिएन। त्यहाँ उपस्थित प्रत्येक दर्शक आफ्नै ढङ्गले समाजलाई सम्झिरहेको थियो। मलाई लाग्यो, फिल्मको सबैभन्दा ठूलो शक्ति त्यही प्रश्नमा छ।

यदि कुनै समाजमा यस्तो संरचना थियो भने त्यो एउटा पात्रको निजी कथा मात्र होइन, त्यो एउटा युगको कथा हो; जो सकियो तर अझै जीवित छ। यस्तो समाजको कथा, जहाँ गरिबी, अभाव, अशिक्षा, चेतनाको कमी र सामाजिक विभेदले मानिसलाई आफ्नै इच्छा विपरीत जीवन बाँच्न बाध्य बनाउँछ।

समाजका प्रभावशाली वर्गहरूले प्रायः आफ्ना विगतका कमजोरी लुकाउन खोज्छन्। सत्यलाई अस्वीकार गरेर असत्यको आवरण ओढाउने प्रयास गर्छन्। तर प्रश्न उठ्छ- यदि ‘लालीबजार’ असत्य हो भने त्यसभित्रको यथार्थ किन यति परिचित लाग्छ ?

कुनै पनि कृतिको आलोचना हुन सक्छ। विरोध गर्ने अधिकार लोकतान्त्रिक समाजको स्वाभाविक पक्ष हो। तर विरोध केवल भावनात्मक प्रतिक्रियामा सीमित हुनुहुँदैन। यदि फिल्म गलत छ भने त्यसभित्रको तथ्य र दृष्टिकोणमाथि तार्किक बहस हुनुपर्छ। केवल प्रतिष्ठा जोगाउने नाममा प्रश्न दबाउने प्रयास गर्नु स्वस्थ सामाजिक अभ्यास होइन। किनकि प्रश्नहरू दबाएर समाज कहिल्यै स्वस्थ बन्दैन। मौनताले घाउ निको पार्दैन, केवल लुकाउँछ।

फिल्म हेर्दै गर्दा बारम्बार आफ्नै गाउँका केही अनुहारहरूको सम्झना आयो। ती महिला, ती परिवारहरू, जसको जीवनबारे समाजले कहिल्यै खुलेर कुरा गरेन तर शोषणयुक्त लाभ लिइरह्यो। समाजले उनीहरूलाई देख्थ्यो तर बुझ्दैनथ्यो उनीहरूको पीडा; सुन्थ्यो तर स्वीकार गर्दैनथ्यो उनीहरूका घाउ। यही अस्वीकार गरिएका जीवनहरूको प्रतिनिधित्व ‘लालीबजार’ ले गरेको देखिन्छ।

महत्त्वपूर्ण कुरा के हो भने फिल्मले कुनै समुदायलाई सम्पूर्ण रूपमा परिभाषित गर्ने दाबी गर्दैन। यसले एउटा यथार्थतर्फ सङ्केत गर्छ, एउटा संरचनामाथि प्रश्न उठाउँछ। हिजो र आजको सामाजिक अन्तर र परिवर्तनको कुरा गर्छ। तर हाम्रो समाजको समस्या के छ भने हामी कुनै एउटा पात्रलाई पूरै समुदायको प्रतिनिधि बनाएर हेर्न थाल्छौं। त्यसपछि बहस यथार्थबाट हटेर भावनात्मक प्रतिरक्षामा सीमित हुन्छ। यसमा सापेक्षित बुझाइ राख्नुपर्छ, निरपेक्ष होइन।

वास्तवमा एउटा पात्र सम्पूर्ण समुदाय होइन। एउटा महिलाको बाध्यता सम्पूर्ण महिलाको नियति होइन। एउटा व्यक्तिको पीडा सम्पूर्ण समाजको स्थायी चरित्र पनि होइन। तर यस्ता पात्रहरू समाजभित्र रहेका संरचनागत समस्याका सङ्केत भने अवश्य हुन्। व्यक्ति र समुदाय बीचको यही भिन्नता नबुझ्दा विभेद जन्मिन्छ।

‘लालीबजार’ ले अर्को महत्त्वपूर्ण प्रश्न युवापुस्ताको बेचैनीमार्फत उठाउँछ। फिल्मका युवाहरू केवल पृष्ठभूमिका पात्र होइनन्, उनीहरू आक्रोशित छन्। बेरोजगारी, अभाव, अन्याय र राजनीतिक बेथितिले उनीहरूलाई भित्रैदेखि जलाइरहेको छ। उनीहरू मौन छैनन्, प्रश्न गरिरहेका छन्। यही कारणले फिल्म व्यक्तिगत पीडाको कथा मात्र भएर सीमित रहँदैन, यो प्रतिरोधको कथा बन्छ।

हामीबाट हराउँदै गएको सबैभन्दा ठूलो गुण शायद धैर्य हो- अर्काको कथा सुन्ने धैर्य। ‘लालीबजार’ ले यही धैर्यको माग गर्छ र परिवर्तन हुने चेतनाको।

आन्दोलन सधैं सडकमा मात्र हुँदैन। आन्दोलन कहिलेकाहीं साहित्यमा हुन्छ, कवितामा हुन्छ, गीतमा हुन्छ र फिल्ममा पनि हुन्छ। जब कुनै कलाले समाजका दबाइएका प्रश्नहरूलाई सार्वजनिक बहसको विषय बनाउँछ, त्यो कला आन्दोलनमा रूपान्तरित हुन्छ। ‘लालीबजार’ त्यही अर्थमा आन्दोलन र विद्रोह हो।

यसका संवादहरू वाक्य मात्र होइनन्, ती समाजमाथि गरिएका प्रश्न हुन्। गीतहरू केवल सङ्गीत होइनन्, ती दबिएका भावनाका प्रतिध्वनि हुन्। यसले दर्शकलाई सहज बनाउँदैन, बरु असहज बनाउँछ। र, कहिलेकाहीं असहजता नै चेतनाको सुरुआत हुन्छ।

आजको समाजमा हामी अत्यन्त छिटो निष्कर्ष निकाल्ने बानीमा अभ्यस्त भइसकेका छौं। एउटा क्लिप हेरेर निर्णय गर्छौं, एउटा संवाद सुनेर सम्पूर्ण कृति अस्वीकार गर्छौं; विरोध र अपव्याख्या गर्छौं। तर मानिसको जीवन ट्रेलर जस्तो हुँदैन। प्रत्येक पात्रको पछाडि एउटा इतिहास हुन्छ, बाध्यता हुन्छ, पीडा हुन्छ। जसलाई युग, पुस्ता र परिवर्तनसँगै लैजानुपर्छ। यथार्थ र इतिहास मार्नुहुँदैन, किनभने त्यो पाठशाला हो।

हामीबाट हराउँदै गएको सबैभन्दा ठूलो गुण शायद धैर्य हो- अर्काको कथा सुन्ने धैर्य। ‘लालीबजार’ ले यही धैर्यको माग गर्छ र परिवर्तन हुने चेतनाको। यसले दर्शकलाई हेर्न मात्र होइन, सोच्न बाध्य बनाउँछ। कला सधैं सहज हुँदैन। यदि कला केवल मनोरञ्जनका लागि मात्रै हुन्थ्यो भने समाजले आफ्ना घाउ कहिल्यै देख्ने थिएन।

कहिलेकाहीं कलाले हामीलाई असहज बनाउँछ, किनकि त्यसले हामीले लुकाएर राखेका यथार्थलाई उजागर गर्छ। यदि कुनै संरचनाले महिलालाई वस्तु बनायो भने, यदि कुनै व्यवस्थाले गरिबलाई मौन बनायो भने, यदि कुनै समाजले एउटा समुदायलाई साधनको रूपमा कैद गर्‍यो भने- त्यसबारे बोलिनुपर्छ, लेखिनुपर्छ। किनकि सत्यलाई लुकाएर न्यायपूर्ण समाज निर्माण गर्न सकिंदैन।

फिल्म सकिएको धेरै समयपछि पनि मेरो मनमा एउटै कुरा घुमिरह्यो र मैले निष्कर्ष निकालें- ‘लालीबजार’ अन्ततः एउटी आमाको कथा हो। तर त्यो एउटी आमाको कथा मात्र होइन, त्यो हाम्रो समाजको दुर्दशाको कथा हो। हाम्रो मौनताको कथा हो। हाम्रो असहज सत्यहरूको कथा हो। त्यसैले ‘लालीबजार’ लाई केवल मनोरञ्जनका रूपमा बुझ्न सकिंदैन। यो एउटा प्रश्न हो, एउटा प्रतिरोध हो, एउटा चेतना हो। र, शायद यही कारणले ‘लालीबजार’ वास्तवमै एउटा आन्दोलन र विद्रोह हो।

लेखक
राजेश विद्रोही

राजेश विद्रोही लेखक तथा अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?