News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले म्याग्नेसियम ग्लाइसिनेटयुक्त कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा बिक्री–वितरणको अनुमति नदिएको प्रष्ट पारेको छ।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल भएका उत्पादन दर्ता नभएको र अनुमति नपाएको जनाएको छ।
- विभागले दर्ता नगरिएका उत्पादन बिक्री–वितरणमा पाइए कडा कारबाही गरिने र उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।
७ जेठ, काठमाडौं । सरकारले ‘म्याग्नेसियम ग्लाइसिनेट’युक्त कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा बिक्री–वितरणको अनुमति नदिएको प्रष्ट पारेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै हाल विभिन्न सामाजिक सञ्जालहरूमा म्याग्नेसियम ग्लाइसिनेट सम्बन्धी भ्रमपूर्ण विज्ञापन प्रकाशित भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागका अनुसार ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ र ‘आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२’ बमोजिम कुनै पनि फुड, हेल्थ, न्यूट्रिसनल, डाइट्री सप्लिमेन्ट, न्यूट्रास्यूटिकल वा प्रोबायोटिक उत्पादनहरू बिक्री–वितरण गर्नुअघि अनिवार्य रूपमा विभागमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ ।
तर, म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि उत्पादनलाई हालसम्म आहारपूरक खाद्य पदार्थको रूपमा दर्ता गरी बिक्री–वितरणका लागि अनुमति नदिएको विभागले जानकारी दिएको हो ।
‘यस विभागमा दर्ता नगरिएको म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल भएको कुनै पनि उत्पादनलाई आहारपूरक खाद्य पदार्थको नाममा बिक्री–वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारबाही गरिनेछ,’ सूचनामा उल्लेख छ ।
विभागले उपभोक्ताहरूलाई पनि यस्ता अनुमति नपाएका र प्रमाणित नभएका पूरक खाद्य पदार्थहरूको प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ ।
प्रतिक्रिया 4