News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल नेपाली प्रोफेसनल नेटवर्कले स्ट्यान्फोर्ड विश्वविद्यालयमा नेपाली डायस्पोराबारे नीति संवाद तथा कार्यशाला सम्पन्न गरेको छ।
- डा. खगेन्द्रराज ढकालले डायस्पोराको व्यावसायिक क्षमता र नेतृत्व सिपलाई नेपालको विकास प्रक्रियामा परिचालन गर्ने नीति निर्माण आवश्यक भएको बताए।
- डा. ढकालले विश्वव्यापी नेपाली समुदायमा करिब २० प्रतिशत मात्र अर्थपूर्ण रूपमा संलग्न रहेको र ७० प्रतिशतले योगदान गर्न स्पष्ट मार्ग नभएको खुलाएका छन्।
७ जेठ, काठमाडौं । ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जीएनपीएन)ले अमेरिकाको प्रतिष्ठित स्ट्यान्फोर्ड विश्वविद्यालयमा नेपाली डायस्पोराबारे छलफल गरेको छ । नेपाल पोलिसी इन्स्टिच्युट, एनपीआईका संस्थापक तथा अध्यक्ष डा. खगेन्द्रराज ढकाललाई प्रमुख वक्ताका रूपमा आमन्त्रण गरी जीएनपीएनले डापस्पोरा नीति संवाद तथा कार्यशाला सम्पन्न गरेको हो ।
तीन घण्टासम्म चलेको कार्यक्रममा सान फ्रान्सिस्को बे एरिया तथा अन्य क्षेत्रबाट नेपाली मूलका पेशाकर्मी, प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता, उद्यमी, प्रविधिविज्ञ, विद्यार्थी, सञ्चारकर्मी, नेपाल कन्सुल कार्यालय प्रतिनिधि तथा नीति क्षेत्रमा चासो राख्ने सहभागीहरूको उपस्थिति थियो। कार्यक्रममा नेपालले रेमिटेन्स केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पेशागत सञ्जाल र प्रतिभालाई राष्ट्रिय विकाससँग कसरी संरचित रूपमा जोड्न सक्छ भन्ने विषयमा छलफल गरिएको थियो।
जीएनपीएनका अध्यक्ष निले श्रेष्ठले सन् २००६ मा स्थापना भएदेखि जीएनपीएनले यस्तो कार्यक्रमार्फत नेपालको विकास तथा नीति निर्माणमा योगदान गर्दै आएको बताएका थिए।
कार्यक्रममा डा. ढकालले डायस्पोराको ज्ञान, सिप र प्रतिभा परिचालन सम्बन्धमा आफ्नो धारणा राखेका थिए । उनले डायस्पोराको सद्भावना र भावनात्मक सम्बन्धलाई मात्र नभई उनीहरूको व्यावसायिक क्षमता, संस्थागत अनुभव, अनुसन्धान क्षमता, प्रविधि ज्ञान र नेतृत्व सिपलाई नेपालको विकास प्रक्रियामा व्यवस्थित रूपमा परिचालन गर्ने नीति र संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
‘नेपालसँग पहिले नै गहिरो रूपमा जोडिएको विश्वव्यापी नेपाली समुदाय छ। अबको चुनौती डायस्पोराले नेपाललाई माया गर्छ कि गर्दैन भन्ने होइन, नेपालले त्यो विश्वव्यापी सम्बन्धलाई दीर्घकालीन राष्ट्रिय क्षमतामा रूपान्तरण गर्न सक्ने विश्वसनीय र संरचित प्रणाली निर्माण गर्न सक्छ कि सक्दैन भन्ने हो,’ उनले भने ।
उनले विश्वव्यापी रूपमा जोडिएका नेपालीमा नेपालका लागि योगदान गर्ने तीव्र इच्छा रहेको भए पनि करिब २० प्रतिशत मात्र अर्थपूर्ण रूपमा संलग्न रहेको र झन्डै ७० प्रतिशतले योगदान गर्न चाहेको तर त्यसका लागि स्पष्ट मार्ग वा संयन्त्र नभएको बताए ।
प्रतिक्रिया 4